फुलचार्जमा ४०५ किलोमिटर गुड्ने ह्याचव्याक कार, ६ महिना भित्र नेपाल आउने

काठमाडौं । चिनियाँ इलेक्ट्रीक भेहिकल तथा व्याट्री उत्पादक कम्पनी विवाइडीले नयाँ इलेक्ट्रीक प्रिमियम ह्याचव्याक कार डल्फिन (इए वान) चीनमा विक्री सुरु गरेको छ । विवाइडीको नयाँ ३.० इ-प्लाटफर्ममा निर्माण भएको ‘एक्स ड्रीम कन्सेप्ट’मा तयार भएको यो कारमा विवाइडीको व्लेड व्याट्री दिइएको छ ।

गत अप्रिलको सांघाई अटो शोमा पहिलो पटक कन्सेप्ट डिजाइन देखाएको यो कार कम्पनीले यति छोटो समयमा नै विक्री सुरु गरेको हो ।

विवाइडीको मोर्डन डिजाइन अप्रोचमा आधारित यो नयाँ कार निकै आकर्षक देखिएको छ । यसको लम्बाई ४०७० एमएम, चौडाई १७७० एमएम, उचाई १५७० एमएम तथा ह्वीलवेस २७०० एमएम रहेको छ ।

दुई भिन्न व्याट्री अप्सन यो कारको अर्को विशेषता हो । ३०.७ किलोवाट आवरको सानो र ४४.९ किलोवाट आवरको ठूलो व्लेड व्याट्री प्याक यसमा प्रयोग गरिएको छ । सानो साइजको व्याट्रीले फुल चार्जमा ३०१ र ठूलो साइजको व्याट्रीले ४०५ किलोमिटर रेञ्ज प्रदान गर्ने कम्पनीले दावी गरेको छ ।

याे लेफ्टह्याण्ड ड्राइभकाे तस्विर हाे ।

यस कारमा कम्पनीले ७० किलोवाटको मोटर दिएको छ । जसले ९४ हर्सपावर तथा १८० एनएम टर्क उत्पादन गर्छ । यो कारलाई जम्मा ७.८ सेकेन्डमा १०० किलोमिटरको स्पीडमा दौडाउन सकिन्छ । कारको टप स्पीड क्षमता भने १५० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा रहेको व्याट्रीलाई फास्ट चार्जरबाट चार्ज गर्दा जम्मा ३० मिनेटमै ८० प्रतिसतसम्म चार्ज गर्न सकिन्छ ।

चिनियाँ बजारमा यो कारको मूल्य १५ देखि १९ हजार डलर निर्धारण भएको छ । विवाइडीको यो कार नेपाली बजारमा पनि आउने मोडल हो । विवाइडीको आधिकारीक वितरक साइमेक्स इन्कका अनुसार यो कार नेपाली बजारमा अबको ६ महिना भित्र उपलब्ध हुनेछ ।


Back_to_top