काठमाडौं । टीभएसको इलेक्ट्रीक आइक्यूव स्कुटरमा च्यासिस भाँचिने समस्या रहेको जानकारी बाहिर आएसँगै कम्पनीले आफ्नो उत्पादन ग्राहकसँग फिर्ता मगाएर परीक्षण सुरु गरेको थियो । आइक्यूबका धनी मोहित बडायाले एक भिडियो सार्वजनिक गर्दै यसमा रहेको समस्या बाहिर ल्याएका थिए ।
उक्त भिडियो सामाजिक संजालमा भारइल भएपछि कम्पनीले आइक्यूव रिकल गर्ने निर्णय गरेको थियो । कम्पनीले २०२३ जुलाई १० देखि २०२३ सेप्टेम्बर ९ सम्म उत्पादन भएका स्कुटर रिकल गरेको जनाएको छ ।
त्यही समयमा नेपाल आएका उत्पादनमा समस्या छन् वा छैनन् । या, नेपालनै त्यति बेलाको उत्पादन आएको छैन कि भन्ने विषय हामीले कम्पनीका सीईओ अखिल गुप्तालाई राखेका थियौं ।
अहिलेसम्म नेपालमा रहेका स्कुटरमा समस्या देखियो भनेर कुनै पनि घटना बाहिर नआएको बताउँदै सीईओ गुप्ताले भने, ‘टीभीएस एक प्रतिष्ठित ब्राण्ड हो । नेपालमा रहेका स्कुटरमा समस्या भए नभएको कम्पनीले जानकारी दिएको छैन । यदि उक्त समयमा नेपाल आएका स्कुटरमा समस्या आएको भए कम्पनीले हामीलाई आधिकारिक जानकारी दिन्थ्यो ।’
२०२३ जुलाई १० देखि २०२३ सेप्टेम्बर ९ सम्म उत्पादन भएका स्कुटर नेपाल आएको गुप्ताले बताए । भन्सार विभागको तथ्यांक अनुसार पनि सो अवधिका १६० यूनिट टीभीएस आइक्यूव आयात गरेको देखिन्छ ।
कम्पनीले गत अक्टोवर र नोभेम्वर महिनामा ८०/८० यूनिट आयात गरेको थियो । भारतबाट मोटरसाइकल तथा स्कुटर आयात गर्न धेरै समय नलाग्ने भएका कारण रिकल गरिएको समय अवधिको १ महिना पश्चात् नेपाल भित्रिएको आइक्यूबमा उक्त समस्या हुन सक्ने अनुमान गर्न सकिन्छ ।
भारतमा कम्पनीले रिकल गरेका स्कुटहरु निःशुल्क बनाइदिने बताएको छ । नेपाल आएको स्कुटरमा कुनैपनि समस्या आएको छैन र यदि यस्तो समस्या देखिए कम्पनीले बिना शुल्क नै बनाइदिने सीईओ गुप्ताले मेरोअटोसँग बताए ।
केही दिन अघि टीभीएस मोटर्सले भारतीय बजारमा बिक्री भएका ४५ हजार यूनिट आइक्यूब इलेक्ट्रीक स्कुटर रिकल गरेको थियो ।
यस्तो छ आइक्यूव
टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आइक्यूवमा ४.६ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
टीभीएस आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड पाउन सकिन्छ ।

