नासाले सुरू गर्‍यो तीन गाडीमा १३ यात्रुसहितको र्‍याली

काठमाडौं । बागमती भ्रमण वर्ष २०२४ को अवसरमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमको लागि प्रमोसनल र्‍याली प्रारम्भ भएको छ । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको आयोजनामा शुरु भएको उक्त र्‍यालीको व्यवस्थापन नासा फाउन्डेसनले गरेको हो ।

र्‍यालीका सहभागीहरुले बागमती प्रदेशका विभिन्न जिल्लामा भएका पर्यटकीय गन्तव्य तथा धार्मिक स्थलहरुको अध्ययन गर्ने र यो क्षेत्रमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजममार्फत गर्न सकिने आवश्यक कार्यको वारेमा विवरण संकलन गर्नेछन् ।

सोमबार ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरबाट प्रारम्भ भएको र्‍यालीमा तीन वटा गाडी र १३ जना विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको छ । नासा फाउन्डेसनका अध्यक्ष कृष्णसिंह बस्नेत र नासा नेपालका अध्यक्ष दशरथ रिसालले र्यालीमा सहभागीहरुलाई विदाई गरेका थिए ।

सो अवसरमा अध्यक्षद्वयले सहभागीहरुले पर्यटकीय क्षेत्रको वारेमा राम्रो अध्ययन गर्ने र यसबाट बागमती प्रदेशमा ड्राइभ टुरिजम, टु ह्विल टुरिङ र स्पोर्ट्स टुरिजमलाई प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गर्दै कार्य सफलताको शुभकामना प्रदान गरे ।

सहभागीहरु पहिलो दिन नगरकोट, दोलालघाट, सुकुटेवीच, मुढे हुँदै कालिन्चोक नजिक कुरी बजार पुगेका छन् । आगामी दिनमा उनीहरु दोलखा भिमसेन, सिन्धुलीगढी, मकवानपुर गढी, सौराहा, त्रिशुली नदी र्याफ्टिङ, नुवाकोट दरवार, मैलुङ झरना, देवीघाट, मार्खु आदि स्थानमा पुग्ने छन् र ललितपुरको गोदावरीमा आएर र्याली समापन हुनेछ ।

सहभागीहरुले संकलन गरेको प्रचार प्रसार सामाग्री, भिडियो आदि सामग्री तथा ड्राफ्ट मन्त्रालयमा प्रस्तुतिकरण गरिने र प्राप्त सुझावहरु समेटी अन्तिम प्रतिवेदन तयार गरिने छ । यसबाट बागमती प्रदेशका पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रचार प्रसार गरिने, ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत प्रदेशको दिगो पर्यटनका लागि आधारशिला तयार पार्ने र बागमती प्रदेशका ठूला शहरबाट ड्राइभ टुरिजम र टु ह्विल टुरिङ मार्फत ड्राइभ टुरिजमका गन्तव्यहरुलाई सार्वजनिक गर्ने कार्यमा सहयोग पुग्ने छ ।


Back_to_top