हुन्डाई र कियाका चर्चित साना कार इलेक्ट्रीकमा आउने

काठमाडौं । हुन्डाई मोटर्स र कियाले आफ्ना चल्तीका दुई साना ह्याचव्याक कारलाई सन् २०२५ भित्रै इलेक्ट्रीक भर्सनमा पनि ल्याउने रिपोर्टहरु सार्वजनिक भएका छन् । कम्पनीले आफ्नो चल्तीका ह्याचव्याक ग्राण्ड आई १० र पिकान्टोलाई इलेक्ट्रीक भर्सनमा पनि ल्याउने अटोमोटीभ न्यूज यूरोपले दावी गरेको छ ।

अहिले हुन्डाई र कियाका यी दुई ह्याचव्याक कार विश्वका अधिकांश बजारमा विक्री हुँदै आएका छन् । विशेषत यूरोपमा सन् २०२६ देखि कुल कार विक्रीको ५० प्रतिशतभन्दा बढी इलेक्ट्रीक कार विक्री हुने प्रक्षेपणसँगै हुन्डाई मोटर ग्रुपले यी दुबै कारलाई इलेक्ट्रीकमा ल्याउने तयारी गरेको रिपोर्टमा उल्लेख छ ।

सन् २०१९ देखि नै यी दुबै साना कार इलेक्ट्रीकमा आउने जनाइए पनि अहिलेसम्म कम्पनीले कुनै आधिकारीक धारणा सार्वजनिक गरेको छैन । हुन्डाई मोटर्स ग्रुपले यी दुबै मोडलको चौथो जेनेरेशन मोडल सन् २०२५ भित्रै ल्याउने तयारी गरिरहेका छन् । चौथो जेनेरेशन मोडलमा भने इलेक्ट्रीक भर्सन पनि थप हुने अनुमान गरिएको छ ।

हुन्डाई मोटर्स यूकेका प्रबन्ध निर्देशक एस्ले एन्ड्रयुले सन् २०२५बाट यूरोपीयन बजारमा आउने १०० प्रतिशत कार विद्युतीय हुने जनाएका छन् । यसले पनि विद्युतीय भर्सनमा आई १० आउने अपेक्षा गरिएको छ । यो दशकमा बजारमा निकै सफलता पाएका आई २० र वायोन पनि विद्युतीय बन्ने प्रबन्ध निर्देशक एन्ड्रयुको भनाईबाट मिडियाले अनुमान लगाएका हुन् ।


Back_to_top