हुन्डाईले फेब्रुअरीमा बेच्यो अहिलेसम्मकै धेरै कार

काठमाडौं । हुन्डाई इन्डियाले सवारी साधन बिक्रीमा नयाँ रेकर्ड बनाएको छ ।

कम्पनीले सन् २०२६ को फेब्रुअरीमा कुल ६६ हजार १३४ युनिट सवारी बेचेको हो । जुन एक महिनामा बेचेको हालसम्मकै धेरै हो ।

कम्पनीले गत वर्षको फेब्रुअरीको तुलनामा यस वर्ष १२.६१ प्रतिशतले बिक्री बढाउन सफल भएको हो । हुन्डाईले गत वर्ष फेब्रुअरीम कुल ५८ हजार ७२७ युनिट सवारी बिक्री गरेको थियो ।

कोरियन कार निर्माताले फेब्रुअरीमा भारतको घरेलु बजार र निर्यात दुवै बढाउन सफल भएको हो । फेब्रुअरीमा हुन्डाईको घरेलु बिक्री ९.८१ प्रतिशतले बढेर ५२ हजार ४०७ युनिट पुगेको छ । कम्पनीले गत वर्षको तुलनामा यस वर्ष घरेलु बजारमा ४ हजार ६८० युनिट कार बेचेको थियो ।

त्यस्तै, हुन्डाईले भारतबाट निर्यात पनि २४.७९ प्रतिशतले बढाउन सफल भएको हो । कम्पनीले फेब्रुअरीमा १३ हजार ७२७ युनिट कार निर्यात गरेको छ । अघिल्लो वर्ष फेब्रुअरीमा भने ११ हजार युनिट मात्रै निर्यात गरेको थियो । कम्पनीको निर्यात अघिल्लो वर्षको भन्दा २ हजार ७२७ युनिट धेरै भएको हो ।

हुन्डाईको कुल बिक्रीमा कुन मोडलको कति भन्ने तथ्यांक भने आइसकेको छैन । तर, यसमा नयाँ जेनेरेशन भेन्यू र क्रेटाको हिस्सा बलियो रहेको अनुमान गर्न सकिन्छ ।


Back_to_top