नेपालमा चुनावकै दिन बीवाइडीले सार्वजनिक गर्दै ४ नयाँ प्रविधि

काठमाडौं । आगामी फागुन २१ गते नेपालमा आम निर्वाचन चलिरहँदा चीनमा बीवाइडीले विशेष घोषणा गर्ने भएको छ । कम्पनीले मार्च ५ तारिखमा न्यू इनर्जी भेहिकल सिस्टमलाई बलियो बनाउने ४ नयाँ प्रविधि सार्वजनिक गर्ने भएको हो ।

विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले फागुन २१ गते ब्याट्री टेक्नोलोजीमा ‘ब्लेड २.०’ सार्वजनिक गर्दैछ । जसलाई कम्पनीले सेकेण्ड जेनेरेशन ब्लेड ब्याट्री भनेको छ । यसमा इनर्जी डेनसिटी पनि वृद्धि हुने जनाइएको छ । यसको इनर्जी डेनसिटी १९०-२१० वाटआवर/केजी हुने बताइन्छ ।

बीवाइडीको नयाँ ब्लेड २.० ब्याट्रीले ८ सी डिस्चार्ज र ३ सी चार्जिङ सपोर्ट गर्नेछ । यसको ३ हजार साइकल चार्जबाट १२ लाख किलोमिटर सहजै यात्रा गर्न सकिने रिपोर्टहरूले दाबी गरेका छन् ।

अर्को बीवाइडीले १.५ मेगावाट क्षमताका ४ हजार चार्जिङ स्टेशन सन् २०२६ भित्रै चीनमा निर्माण पूरा गर्ने घोषणा पनि उक्त दिन गर्ने भएको छ । यसअघि १००० किलोवाट क्षमताको चार्जर निर्माण गरेर सफलतापूर्वक संचालनमा ल्याएको कम्पनीले तीव्र गतिमा चार्ज गर्न मिल्ने नयाँ चार्जर संचालनमा ल्याउन लागेको हो ।

त्यसैगरी, ब्याट्री इलेक्ट्रीसँगै हाइब्रिड टेक्नोलोजीमा पनि अब्बल मानिएको बीवाइडीले पाँचौं जेनेरेशन डीएम-आइ प्लगइन हाइब्रिड टेक्नोलोजी पनि सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । यसको ठ्याक्कै आधिकारिक पुष्टि भने बीवाइडीले गरिसकेको छैन ।

कम्पनीको नयाँ हाइब्रिड टेक्नोलोजीले २.९ लिटर पेट्रोलबाट १०० किलोमिटर गाडी गुडाउन सकिनेछ । उक्त टोक्नोलोजी भएको कारमा फुल ट्याङ्की इन्धन र फुलचार्ज ब्याट्रीबाट २ हजार किलोमिटर यात्रा गर्न सकिने जनाइएको छ ।

चिनियाँ कार निर्माताले अर्को आफ्नो ‘गडस् आइ’ सिस्टममा अपग्रेड गर्ने भएको छ । कम्पनीले फागुन २१ गते नै ‘गडस् आइ’ ५.० टेक्नोलोजी सार्वजनिक गर्ने बताइएको छ ।

कम्पनीले सार्वजनिक गर्ने यी ४ कुराले बीवाइडी प्रतिको जनविश्वास थप बलियो हुने र टेक्नोलोजीका हिसाबले पनि ठूलो फड्को मार्न अनुमान गर्न सकिन्छ ।


Back_to_top