चीनमा लगानी थप्दै हुन्डाई

काठमाडौं । विश्वकै ठूलो कार बजारमा घट्दो बिक्रीलाई रोक्न हुन्डाईले लगानी थप गर्ने भएको छ । कोरियन कार निर्माता हुन्डाई मोटर्स र चिनियाँ साझेदार बीएआईसी मोटरले गत बुधबार १.१ बिलियन डलर लगानी थप्ने घोषणा गरेका हुन् ।

हुन्डाई मोटर्सको चीनमा निरन्तर बिक्री घटिरहेको छ । हुन्डाई मोटर्सले गत वर्ष चीनमा २ लाख ४९ हजार भेहिकल मात्र बिक्री गरेको थियो । हुन्डाई र बीएआईसीको पार्टनर कम्पनीको नाम अहिलेकै ‘बेइजीङ हुन्डाई’नै हुनेछ । बेइजीङ हुन्डाईले यसअघि आफ्नो ४ मध्य २ वटा चिनियाँ प्लान्ट बन्द गरेको थियो ।

बीएआईसीका अनुसार अब यो भेन्चरले चिनियाँ बजारको लागि आवश्यक नयाँ मोडलहरु उत्पादन गर्नेछ । यो वर्षको ९ महिनामा बेइजीङ हुन्डाईले १ लाख ३६ हजार ४६० वटा गाडी बिक्री गरेको छ । चीनबाट ३४ हजार १७९ वटा भेहिकल निर्यात गरेको छ । हुन्डाईले बिक्री गर्ने अधिकांश कारहरु कम्बस्चन इन्जिन भएका मोडल हुन् ।

चिनियाँ बजारमा आधाभन्दा बढि प्योर इलेक्ट्रीक र प्लगइन हाइब्रिड भेहिकल बिक्री हुन थालेको छ । यस्तोमा अब भने हुन्डाई पनि यो ‘न्यू इनर्जी टेक्नोलोजी’मा आधारित मोडल निर्माणमा केन्द्रित हुनेछ ।


Back_to_top