काठमाडौं । महंगो मूल्य र आकर्षक फिचर प्रिमियम मोटरसाइकलको मुख्य विशेषता हो । सँगै पावर र पर्फर्मेन्सलाई पनि प्रिमियमसँग जोडेर हेर्ने गरिन्छ ।
अहिले बजारमा ठिकटाक मूल्यमा पाइने प्रिमियम मोटरसाइकल यही उत्पादन हुन थालेसँगै मूल्य पनि केही राम्रो पाउन थालिएको छ । मूल्य कम भएसँगै युवाहरुको आकर्षण यस्ता मोटरसाइकलमा हुनु स्वाभाविक नै हो ।
प्रिमियम मोटरसाइकल खोज्ने ग्राहकले ६ लाखभन्दा कम मूल्यमा नै आफ्नो रोजाइ अनुसार उत्कृष्ट मोडल छान्न सक्ने अवस्था छ । पछिल्लो समय केटीएम, बजाज, रोयल इनफिल्ड, ट्रायम्फ जस्ता ब्रान्डका मोटरसाइकलहरु कम मूल्यमा नै किन्न पाइन्छ ।
मूल्यका हिसावले ६ लाख रुपैयाँभन्दा कममा किन्न पाइने नेपालकै उत्पादन र यहाँ एसेम्बल भएका मोडलका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
यात्री पी-१
बजारमा उपलब्ध ६ लाखभन्दा कम मूल्यमा पाइने मोटरसाइकल मध्ये नेपालमै डिजाइन र उत्पादन भएको इलेक्ट्रीक मोटरसाइकल यात्री पी-१ हो । यात्री डिजाइन स्टुडियोले निर्माण गरेको नेपालकै पहिलो मोटरसाइकल यात्री पी-१ को मूल्य ५ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

सेमी अर्वान एड्भेन्चर डिजाइनमा तयार भएको यात्री पी-१ झट्ट हेर्दा स्क्रायम्बल जस्तो डिजाइनमा देखिन्छ । यो मोटरसाइकलको अहिले पर्याप्त मात्रामा उत्पादन नभएपनि कम्पनीले यसको उत्पादन वृद्धि गर्ने तयारी थालेको छ । ६ लाख मूल्यभन्दा कम मूल्यमा उत्कृष्ट मोडल खोज्नेका लागि पी-१ एक विकल्प हुन सक्छ ।
यात्री पी-१ मोटरसाइकलमा १४ किलोवाट पीक क्षमताको मोटर रहेको छ । यो मोटरले १९ हर्ष पावरका साथै ४८० एनएम टर्क जेनेरेट गर्छ । यसको टप स्पीड १०० किलोमिटर रहेको छ, भने यसमा प्रयोग भएको ३ किलोवाट आवर क्षमताको ब्याट्रीले ११० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
डोमिनार २५०
डोमिनार २५० प्रिमियम टूरर मोटरसाइकल खोज्नेको रोजाइमा पर्नसक्ने मोटरसाइकल हो । बजाज मोटरसाइकलको नेपालमा लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ५ लाख ५९ हजार ९०० रुपैयाँ बिक्री गर्दै आएको डोमिनार २५० प्रिमियम फिचर भएको मोटरसाइकल हो ।
डोमिनार-२५० मा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।

यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएसडी फर्क, जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।
केटीएम ड्यूक-२००
नेपालमा पावरफुल नेकेड स्ट्रीट फाइटर मोटरसाइकल खोज्ने ग्राहकले प्रिमियम मोटरसाइकल केटीएम ड्यूक-२०० छनोट गर्न सक्नेछन् । केटीएम मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले ५ लाख ६४ हजार ९०० रुपैयाँ तोकेर केटीएम ड्यूक-२०० बिक्री गर्दै आएको छ ।

केटीएम ड्यूक-२०० मा १९९.५ सीसी सिंगल सिलिन्डर, एफआई, लिक्विड कुल्ड इन्जिन रहेको छ । यो इन्जिनले १०००० आरपीएममा २५ पीएस पावर तथा ८००० आरपीएममा १९.३ एनएमको टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीडको गियरबक्स जडान गरिएको छ । त्यस्तै यसमा ड्यूल च्यानल एबीएस रहेको छ ।
रोयल इनफिल्ड क्लासीक-३५० सिग्नल
पछिल्लो समय नेपालमा निकै चर्चामा रहेको मोटरसाइकल रोयल इनफिल्ड क्लासीक-३५० प्रिमियम मोटरसाइकल खोज्नेको सूचीमा अग्रपङतिमा आउने मोटरसाइकल हो । नेपालमै एसेम्बल भएको कारण कम मूल्यमा बिक्री भइरहेको क्लासीक-३५० को बिभिन्न भेरियन्ट बजारमा उपलब्ध छ ।
कम्पनीले हालै मात्र नेपाली बजारमा सार्वजनिक भएको क्लासीक-३५० को सिंग्नल एडिशनको मूल्य ५ लाख ५५ हजार ९०० रुपैयाँ रहेको छ ।

क्लासीक-३५० मोटरसाइकलमा नयाँ एर्गोनोमिक्स, ग्रिप्स, रोटरी स्वीच, इन्फो स्वीच र ओभल मास्टर सिलिन्डर लगायत फिचरहरू उपलब्ध छन् । कम्पनीले नयाँ क्लासिक ३५० ‘जे’ प्लेटफर्ममा निर्माण गरेको हो ।
यो मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिण्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

