काठमाडौं । हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो ईभी लाइनअपको सबैभन्दा ठूलो मोडल नेपाल ल्याउने भएको छ । कम्पनीले ‘आयोनिक नाइन’ एसयूभी नेपाल ल्याउने तयारी थालेको हो ।
अन्तर्राष्ट्रिय बजारमा सन् २०२५ को अन्तिम क्वाटरमा सार्वजनिक भएको आयोनिक नाइन एक फुल साइज एसयूभी हो । नेपाली बजारमा रियर ह्वील मोटरमा उपलब्ध हुने आयोनिक नाइनमा १६० किलोवाटको मोटर छ ।

अन्तर्राष्ट्रिय बजारमा अल ह्वील ड्राइभमा पनि उपलब्ध आयोनिक नाइनमा ३१४ किलोवाटको इलेक्ट्रीक मोटर उपलब्ध छ । ठूलो मोटर भएको गाडीमा धेरै कर लाग्ने भएको कारण नेपालमा रियर ह्वील ड्राइभमा मात्रै आयोनिक नाइन उपलब्ध हुनेछ ।
हुन्डाईले आयोनिक नाइनमा ११०.३ किलोवाट आवर क्षमताको एनसीएम ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गरेर ६२० किलोमिटर चलाउन सकिने कम्पनीको दाबी छ । यो रेन्ज डब्लूएलटीपीमा आधारित हो ।

हुन्डाईको ईजीएमपी आर्किटेक्चरमा आधारित आयोनिक नाइनलाई कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको हो । यसले ३५० किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । यति ठूलो चार्जरले चार्ज गर्न पाएको खण्डमा १० देखि ८० प्रतिशत चार्ज गर्न केबल २४ मिनेट लाग्नेछ ।
करिब २ हजार ५०० केजी तौल रहेको आयोनिक नाइनको अगाडि र पछाडि नै ५०ः५० प्रतिशत तौल बाँडिएको छ । त्यसैले यसलाई जस्तोसुकै बाटोमा पनि सहजै चलाउन सकिने कम्पनीको दाबी छ ।

निकै लग्जरी फिचरले भरिपूर्ण आयोनिक नाइनमा १८९९ एमएम अग्लो हेडरुम र २०५० एमएम लामो लेगरुम दिइएको छ । एड्जस्ट गर्न मिल्ने सेन्टर कन्सोल प्रयोग भएको एसयूभी अन्तर्राष्ट्रिय बजारमा ६ र ७ सिट क्षमतामा उपलब्ध छ । नेपाली बजारमा कति सिट क्षमतामा आउँछ, त्यो जानकारी प्राप्त भएको छैन ।

प्रिमियम ड्यासबोर्ड, लेदर सिट, ६२० लिटरको बुट स्पेश, पानारोमिक शनरुफ, १२ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, १२ इन्चकै इन्ट्रुमेन्ट क्लष्टर, एम्बियन्ट लाइट, छतमा दिइएको एसी भेन्ट, १०० वाटको टाइप सी पोर्ट, बोसको ८ मुख्य स्पीकर र १४ वटा अप्सनल स्पीकर सहित आयोनिक नाइन लग्जरी एसयूभीको रूपमा नेपाली बजारमा प्रवेश गर्नेछ ।

सुरक्षाको लागि यसमा १० वटा एयरब्याग, एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) लगायतका फिचर छन् । ५०६० एमएम लामो, १९८० एमएम चौडा र १७९० एमएम अग्लो आयोनिक नाइनमा ३१३० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

हुन्डाईले आयोनिक नाइनमा १९, २० र २१ इन्चको फरक फरक ह्वील साइज दिइएको छ । सम्पूर्ण लाइट एलईडी रहेको एसयूभी फ्यूचरस्टिक डिजाइनको कारण पनि चर्चामा रहेको छ ।
सम्भवतः आगामी अटो शोसम्ममा यसको आधिकारिक बिक्री नेपालमा सुरू हुनेछ ।


