काठमाडौं । हुन्डाईले अहिले सेन्ट्रो, ग्राण्ड आई १०, ग्राण्ड आई १० नियोस, अउरा, आई २०, आई २० एक्टीभ, भर्ना, भेन्यू, क्रेटा, टुसान, सान्ताफे, आयोनिक र कोना मोडलको बिक्री गर्दै आएको छ । आयोनिक र कोना इलेक्ट्रीक मोडल हुन् भने अन्य कम्बस्चन इन्जिनयुक्त गाडी हुन् ।
हुन्डाईले नेपाल प्रवेशसँगै आएको पहिलाे कार सेन्ट्रो हो भने, कुनै समय टुसान नेपालमा सर्वाधिक सफल एसयूभी थियो । तर, अहिले समय फेरिएको छ । टुसानको बिक्री क्रेटामा सरेको छ भने, सेन्ट्रोको तुलनामा ग्राण्ड आई १० र आई २० को बिक्री बलियो रहेको छ । केहि वर्ष बन्द भएर पुनः उत्पादन सुरु भएको सेन्ट्रोको विक्री पनि ठिकठाक रहेको देखिन्छ ।

विगत ११ वर्षदेखि हुन्डाईको आधिकारीक वितरकको रुपमा लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाईका कार नेपालमा बिक्री गर्दै आएको छ । कम्पनीको बलियो सेल्स, सर्भिस र स्पेयरपार्टस नेटवर्कको कारण हरेक वर्ष कम्पनीले ग्रोथ समाउन पाएको छ । यस्तोमा अहिले हुन्डाईले सर्वाधिक बिक्री गर्ने ५ मोडल यस प्रकार रहेका छन् ।
१. ग्राण्ड आई १०ः हुन्डाई ग्राण्ड आई १० कम्पनीको नेपालमा सर्वाधिक सफल ह्याचव्याक कार हो । पुरानो आई १० लाई विस्थापित गरेर हुन्डाईले यसलाई सन् २०१३ मा नेपाली बजारमा ल्याएको थियो । त्यसपछि २०१७ मा फेसलिफ्ट मोडल ल्याएको कम्पनीले दशैंअघि मात्रै ग्राण्ड आई १० नियोस नेपाली बजारमा ल्याएको छ ।
कम्पनीले नेपालमा पुरानो आई १० करिब ६ हजार ५०० यूनिट बिक्री गरेको छ भने ग्राण्ड आई १० अहिलेसम्म ६ हजार यूनिटभन्दा बढी बिक्री गरेको छ । समग्रमा नेपालमा हुन्डाईको आई १० सिरिज सर्वाधिक सफल मोडल हो । अहिले ग्राण्ड आई किन्न चाहने ग्राहकले ३० लाख ५६ हजारदेखि ३३ लाख ९६ हजार रुपैयाँसम्म तिरेर किन्न सक्ने छन् ।
२. क्रेटाः सन् २०१६ बाट नेपालमा बिक्री सुरु भएको हुन्डाई क्रेटा ६ हजार यूनिटभन्दा बढी बिक्री भइसकेको छ । हुन्डाईले क्रेटा २०१६ मा नेपाली बजारमा बिक्री सुरु गरेको हो भने २०१८ मा त्यसको फेसलिफ्ट मोडल ल्याएको थियो । दशैंअघि मात्रै क्रेटाको नयाँ जेनेरेशन मोडल नेपालमा बिक्री सुरु भएको छ ।
आकर्षक डिजाइन, प्रिमियम फिचर र हुन्डाईको लिगेसीले क्रेटा सफल भएको कम्पनीको बुझाई छ । यो सेग्मेन्टमा अन्य प्रतिस्पर्धी नहुनु छोटो समयमा धेरै क्रेटा बिक्री हुनुको मुख्य कारण हो । नेपाल आएदेखि नै वार्षिक औषत १५०० यूनिट क्रेटा बिक्री हुँदै आएको छ । अहिले नयाँ जेनेरेशन क्रेटा किन्न चाहने ग्राहकले ५२ लाख ९६ हजारदेखि ६५ लाख ९६ हजारसम्म तिर्नु पर्ने छ । कम्पनीले बिक्री गर्दै आएको पुरानो मोडलको मूल्य भने ४३ लाख ९६ हजारबाट सुरु हुन्छ ।
३. आई २०ः हुन्डाईले सिरिजमा उत्पादन गर्दै आएको अर्को मोडल हो आई २० । नेपालमा आई २० को पहिलो सिरिज निकै सफल भएको थियो । त्यसपछि कम्पनीले आई २० लाई प्रिमियम ह्याचव्याक र क्रसओभर मोडलमा उत्पादन सुरु गरेको हो ।
पछिल्लो दिनमा क्रसओभर डिजाइनमा बनेको आई २० एक्टीभ नेपालमा खुबै बिक्री भयो भने ग्रान्ड आई १० को मूल्यमा परिवर्तनपछि आई २० इलाइटको बिक्री पनि बढ्न सुरु भएको हो । नेपालमा अहिलेसम्म आई २० सिरिजको बिक्री ४ हजार यूनिटभन्दा बढी भइसकेको छ । अहिले आई २० को मूल्य ३३ लाख ५६ हजारदेखि ३७ लाख ९६ हजारसम्म रहेको छ ।
४. सेन्ट्रोः नेपालमा हुन्डाईको पर्यावाची नाम बन्न पुगेको सेन्ट्रो पुरानो जेनेरेशनमा निकै सफल मोडल हो । सन् २०१४ सम्म धेरै मध्यम वर्गिय परिवारको रोजाईमा पर्ने सेन्ट्रो नेपालमा ४ हजार ५०० यूनिट हाराहारीमा बिक्री भएको थियो ।
हुन्डाईले सन् २०१८ मा सेन्ट्रोको नयाँ जेनेरेशन मोडल बजारमा ल्याएको थियो । यो मोडलको बिक्री अहिलेपनि राम्रो रहेको कम्पनीको भनाई छ । यद्यपी पुरानो मोडलको तुलनामा यसको बिक्री भने केहि कम रहेको छ । अहिले सेन्ट्रो किन्न चाहने ग्राहकले २३ लाख ९६ हजारदेखि ३१ लाख ५६ हजार रुपैयाँसम्म रहेको छ ।
५. हुन्डाई भेन्यूः सब फोर मिटर एसयूभी सेग्मेन्टमा आएको भेन्यू नेपालमा अर्को सफल मोडल बन्न सफल भएको छ । २०७६ साल भदौबाट नेपालमा बिक्री सुरु भएको भेन्यूले एक वर्षमा १ हजार यूनिट बिक्री आँकडा भेट्न सफल भएको छ ।
हुन्डाईको पछिल्लो ग्लोवल मोडलको रुपमा आएको भेन्यू क्रेटाभन्दा सानो र कम मूल्यको एसयूभी हो । यो सेग्मेन्टमा टाटा नेक्सन, मारुती सुजुकी ब्रेजा, महिन्द्रा एक्सयूभी ३००, फोर्ड इकोस्पोर्ट जस्ता मोडलसँग प्रतिस्पर्धा गरिरहेको भेन्यूले पाएको बिक्री तथ्यांकलाई निकै राम्रो मान्न सकिन्छ । भेन्यूको अहिले सुरुवाती मूल्य ३६ लाख २६ हजारदेखि ५७ लाख ३६ हजार रुपैयाँसम्म रहेको छ ।


