मासिक २ हजार यूनिट विक्री हुँदै उत्पादन बन्द, सेन्ट्रोको सट्टा नयाँ मोडल आउने

काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले भारतमा उत्पादन गर्दै आएको इन्ट्री लेभल मोडल सेन्ट्रोको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले सेन्ट्रोको सथानमा नयाँ मोडल ल्याउनेगरी सेन्ट्रोको उत्पादन बन्द गर्न लागेको हो ।

सन् २०१५ मा बन्द भएर २०१८ बाट पुन नयाँ डिजाइन सहित आएको सेन्ट्रो अहिले पनि भारतमा मासिक २ हजार यूनिट भन्दा धेरै विक्री हुँदै आएको थियो । नेपालमा पनि वार्षिक ५ सय यूनिट हाराहारी विक्री हुँदै आएको सेन्ट्रो अब भने उत्पादन नहुने भएको छ ।

बढ्दो एसयूभी क्रेजलाई ध्यानमा राख्दै हुन्डाईले सेन्ट्रोको प्लेटफर्ममा नयाँ क्यास्पर माइक्रो एसयूभी उत्पादन गर्न लागेको रिपोर्टहरु बाहिर आएको छ । कम्पनीले क्यास्परलाई कोरियन बजारमा भने सन् २०२१ को मध्यदेखि नै विक्री वितरण गर्दै आएको छ ।

‘बजारमा साना ह्याचव्याकको तुलनामा माइक्रो एसयूभीको क्रेज बढ्दै गएको छ । त्यहि बजार मागलाई सम्बोधन गर्न नयाँ मोडलको तयारी गरिरहेका छौं’, हुन्डाई इन्डियाका सेल्स एण्ड मार्केटिङ निर्देशक तरुण गर्गले कारदेखोसँग भनेका छन् ।

निकै सफल मोडल सेन्ट्रोमा १.१ लिटर क्षमताको इन्जिन दिइएको छ । अहिले विभिन्न ४ भेरियन्टमा सेन्ट्रो नेपाली बजारमा पनि उपलब्ध रहेको छ । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले सुरुवाती भेरियन्टको मूल्य २५ लाख ९६ हजार रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

केही महिना भित्रै सुरक्षा फिचरमा थप गर्दै ६ वटासम्म एयरब्याग प्रयोग गर्नु पर्ने भएको कारण सेन्ट्रोमा यी फिचर थप गर्नुभन्दा नयाँ मोडल ल्याउन उपयुक्त देखेर कम्पनीले यसको उत्पादन बन्द गर्न लागेको भारतीय मिडिया अटोकार इन्डियाले उल्लेख गरेको छ ।


Back_to_top