चीनको भन्दा धेरै ग्राउन्ड क्लियरेन्समा आउँदै नेटा भी, मूल्य ३८ लाख रुपैयाँ

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले ल्याउन लागेको नेटा भी इलेक्ट्रीक एसयूभीको ग्राउन्ड क्लियरेन्स चीनमा भन्दा अग्लो भएर आउने भएको छ ।

‘होजन अटो न्यू इनर्जी भेहिकल कम्पनी’ले उत्पादन गरेको नेटा भीको चिनियाँ बजारमा विक्री हुने मोडलमा १४६ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । तर, नेपाल आउने स्पेकमा १६० एमएम ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीले जनाएको छ ।

पूर्ण इलेक्ट्रीक आर्किटेक्चरमा तयार भएको कारण यसमा रहेको १६० एमएमको उत्कृष्ट हुने कम्पनीको दावी छ ।

‘नेपाली बाटो सुहाँउदो ग्राउन्ड क्लियरेन्स सहित हामी नेटा भी नेपाल ल्याउँदै छौं । अर्को हप्ताबाट यसको टेष्ट ड्राइभ सुरु गर्ने योजना बनाइएको छ’, सिजी मोटरका सेल्स एण्ड अप्रेसन डाइरेक्टर दिपक थापाले भने ।

टाटाको नेक्सन इभीसँग प्रतिस्पर्धा गर्न आउन लागेको नेटा भीको मूल्य ३८ लाख रुपैयाँ कायम गरेको कम्पनीले जनाएको छ ।

नेटा भी एसयूभीको लम्वाई ४०७० एमएम चौडाई १६९० एमएम र उचाई १५४० एमएमको रहेको छ । यसमा २४२० एमएमको ह्वीलवेस रहेको छ ।

फिचर लोडेड नेटा भीमा आधुनिक विशेषत पाउन सकिन्छ । भर्टिकल इन्फोटेन्मेन्ट सिस्टम, स्पीनर रहेको गोलो सेपको साँचो, दुबै साइड फ्ल्याट रहेको स्टेरिङ ह्वील रहेको छ । यसको स्टेरिङ ह्वील स्पोर्टस कारबाट प्रेरित रहेको देखिन्छ ।

कम्पनीले अहिले नेपाल ल्याइरहेको नेटा भी स्टायडर्ड भेरियन्ट हो । यसमा ३१.१८ किलोवाट आवरको ब्याट्री र ४० किलोवाटको मोटर रहेको छ । यसले फुल चार्जमा ३०१ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा ६.६ किलोवाटको हाम चार्जर गाडीसँग आउने छ । घरमै चार्ज गर्दा पनि करिब ५ घन्टा ३० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।


Back_to_top