काठमाडौं । हुन्डाईले गत सोमबार (मे २१) मा आफ्नो बहुप्रतिक्षित कम्प्याट एसयूभी भेन्यू भारतीय बजारमा बिक्री सुरु गरेको छ । भेन्यू सार्वजनिक कार्यक्रममा नेपालबाट १३ जनाको टिम दिल्ली पुगेको थियो ।
एरोसिटीमा रहेको हायात होटल (नयाँ नाम अन्दाज) मा विशेष कार्यक्रम गरेर सार्वजनिक गरिएको भेन्यूले सबैलाई आर्कषण गर्न सफल भएको थियो । विशेषत कम्प्याक्ट एसयूभी सेग्मेन्टमा हुन्डाईको पहिलो इन्ट्री र थुप्रै सेग्मेन्ट फर्स्ट फिचरका कारण यसको चर्चा हुनु स्वभाविक हो ।
तीनवटा इन्जिन अप्सन १.२ कप्पा पेट्रोल, १.० लिटर ३ सिलिन्टर टर्बोचार्ज्ड पेट्रोल र १.४ लिटर, फोर सिलिन्डर डिजेल इन्जिन अप्सनले भेन्यूमा ग्राहकले छनोट पाउने छन् ।
नेपालको लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल्सले पनि नाडा अटो शो २०१९ भन्दा केही अघि भेन्यूलाई बजारमा उतार्ने तयारी सुरु गरिसकेको छ ।
‘नाडा अटो शो भदौ १० गतेबाट हुँदैछ, त्यो भन्दा केही दिन अघि नेपालमा सार्वजनिक गर्ने तयारी गर्दैछौँ’ कम्पनीका कार्यकारी निर्देशक निराकार श्रेष्ठले भने ।
अहिले यो सेग्मेन्टमा करिब २५०० देखि ३००० यूनिटसम्म कार बिक्री हुँदै आएकाले स्वभाबिकरुपमा नेपाल चाँडो ल्याउने प्रयासमा लक्ष्मी इन्टरकन्टिनेन्टल्स रहेको बुझन कठिन छैन ।
मारुती सुजुकी भिटारा ब्रेजा, फोर्ड इकोस्पोर्ट र टाटा नेक्सन यो सेग्मेन्टका मुख्य प्रतिस्पर्धी मोडल हुन् । यी तीन वटै मोडलको बिक्री अहिले अत्याधिक रहेको छ यस्तोमा यही सेग्मेन्टमा आउने भेन्यूले कस्तो बजार हिस्सा पाउने छ त्यो भने हेर्न बाँकी नै रहने छ ।
संसारभर पछिल्लो दिनमा कार उत्पादकले टर्बोचार्ज्ड इन्जिनमा गाडी ल्याउन सुरु गरेका छन् । उसोत नेपाली बजारमा यसअघि टर्बोचार्ज्ड इन्जिन यूक्त गाडी नआएको होइन तर, सफल हुन भने सकेन । यसैबीच हुन्डाईको टर्बो चार्ज्ड पेट्रोल इन्जिन युक्त भेन्यू नेपाल आउन लागेको हो ।

इन्जिन
१.० लिटर ३ सिलिन्टर टर्बो चार्ज्ड पेट्रोल इन्जिनले ११८ बीएचपी पावर र १७२ एनएम टर्क दिन्छ । ६ स्पीड म्यानुअल र सेगमेन्टमै युनिक ७ स्पीड डूअल क्लच अटोमेटिक ट्रान्समिसनमा उपलब्ध यस इन्जिनले सर्वाधिक पावर जेनेरेट गर्छ । यसको पावर १.४ लिटर डिजेल इन्जिनभन्दा पनि निकै बढी रहेको छ ।
सन्स्पेन्सन
अमेरिकी र यूरोपियन बजारमा ल्याएको भेन्यूको तुलनामा करिब १५० एमएम छोटो भारतीय स्पेकको लम्बाई ३९९५ एमएम, १७७० एमएम चौडाई र १५५० एमएम उचाई रहेको छ । ह्वीलबेस भने २५०० एमएम रहेको छ ।
एक्सटेरियर
झट्ट हेर्दा सान्ताफे जस्तो लाग्ने डार्क क्रोम फ्रन्ट ग्रिल र कोनाको जस्तै स्पिट हेडल्याम्पले एसयूभीलाई निकै आर्कषक बनाएको छ । प्रोजेक्टर हेडल्याम्प, इलेक्ट्रीकल्ली फोल्डिङ ओपरेटेड ओभीआरएम, प्रोजेक्टर फग ल्याम्प, स्मार्ट इलेक्ट्रोनिक सनरुफ, ट्वीन हेडल्याम्पले यसको बाहिरी बनोट निकै आकर्षक बनाएको छ । एलइडी टेललाइट, डाइमन्ड–कट अलोय ह्वीलले भेन्यूलाई स्पोर्टी देखाएको छ ।
इन्टेरियर
यसको इन्टेरियर फिचर लोड रहेको छ । डबल टोन सिट अपहोलस्ट्रि, मेटल फिनिस इन्साइड डोर ह्यान्डल, वायरलेस फोन चार्जर, एयर प्युरिफायर, ड्राइभर रियर भ्यू मोनिटर, कुलिंग ग्लोबबक्स, फ्रन्ट सेन्टर आर्मरेष्ट फिचरले भेन्यूलाई उत्कृष्ट बनाएको छ ।

त्यस्तै डीसीटी सन्स्पेन्सन क्लस्टर, टेकोमिटर, आइसी लाइट एडजस्टमेन्ट, हाइट एडजस्टेवल सिट, फ्रन्ट सिट एडजस्टेबल हेडरेष्ट जस्ता विशेषता भेन्यूमा पाउन सकिन्छ ।
स्मार्टफोन कनेक्टिभिटी अन्तर्गत एप्पल कारप्ले, एन्ड्रोइड अटो, भ्वाइस रेकोनाइजेसन सिस्टम, फ्रन्ट रियर स्पीकर, फ्रन्ट ट्वीटर, स्टेयरिंग ह्वीलजस्ता फिचर उपलब्ध रहेको छ ।

रियर एसी भेन्ट, फ्रन्ट र रियरमा पावर विन्डो, इलेक्ट्रीकल्ली एडजस्टेबल आउटसाइडर मिरर, क्रुज कन्ट्रोल, टिल्ट स्टेयरिंगको विशेषता दिइएको छ । सेन्टर कन्सोलमा लगाईएको ८ इन्च टचस्क्रिन सहितको उत्कृष्ट ड्यासबोर्डले गाडीको प्रिमियमनेशलाई देखाउँछ । कारको क्याविन निक्कै आरामदायी बनाइएको छ । क्याबिनमा पनि पर्याप्त स्पेस रहेको छ भने बुट स्पेस पनि ठूलो रहेको छ ।
सेफ्टी फिचर
यसको इन्ट्री लेवल भेरियन्टमा दुईवटा एयरव्याग दिइएको छ भने टप भेरियन्टमा ड्राइभर तथा प्यासेन्जरको सुरक्षाको लागि ६ वटासम्म एयरब्याग दिइएको छ । रियर पार्किङ सेन्सर, हाइ स्ट्रक्चरल सेफ्टी बडी, कर्निङ ल्याम्प, अटो हेडल्याम्प, स्पीड सेन्सिङ अटो डोर लक र इम्प्याक्ट सेन्सिङ अटो डोर लक, आइएसओफिक्स चाइल्ड सिट लगायतका विशेषता समेटिएको छ । भेन्यूमा भएको मुख्य कुरा ब्लू लिंक कनेक्टिभिटी हो । यसमा सुरक्षासहितका ३३ वटा विशेषता रहेका छन् ।

त्यसैगरी भेन्यूमा ६०ः४० स्प्लिट रियर सिट, २ युएसबी चार्जर पोर्ट, रियर पार्सल ट्रे, लुगेज ल्याम्प, फ्रन्ट सेन्टर आर्मेस्ट, मल्टी फक्शन स्टेयरिंग, स्मार्ट कि विथ स्टार्ट स्टप बटन लगायतका विशेषता दिइएको छ ।
मूल्य
१.० लिटर टर्बो इन्जिनयुक्त भेन्यूको मूल्य करिब ४० लाखदेखि ४५ लाखसम्म पर्ने अनुमान गर्न सकिन्छ । यद्यपी १.२ लिटर इन्जिनयुक्त इन्ट्री भेरियन्टको मूल्य करिब ३५ लाख रुपैयाँ हुने अनुमान रहेको छ ।

