अझै अटोमोबाइल विलासी कि आवस्यकता भन्ने बहस गर्नु पर्ला र ?

प्रसंग १

केही समय अघि नेपालमा चल्तीको एउटा गाडी ब्राण्डको शोरुममा गएको थिए । गाडी किन्न होइन, अरु नै कामले । शोरुममा कम्पनीका मार्केटिङ म्यानेजर भेट भए, जोसँग पहिल्यै देखी सामान्य चिनापर्ची पनि थियो । 

कुरै कुरामा आफुलाई कुन गाडी किन्दा उपयुक्त होला भनेर सोधें । उनले कुनै एक मोडलको नाम लिदैं ‘चढ्न लायक गाडी’ भनेको यो वा यो भन्दा माथीको मोडल मात्र हो भने । उनले जिकीर गरेको ‘चढ्न लायक’ गाडीको मुल्य ३० लाख भन्दा माथी थियो । 

उनले किन ३० लाख भन्दा काम मुल्य पर्ने गाडीलाई चढ्न लायक मानेनन् ? जबकी नेपालमा १५ लाख हाराहारीको मूल्यदेखि नै सहरबजारमा चढ्नका लागि ठिक्कका पारिवारिक गाडी पाइन्छन् ।

उनी सामान्य आर्थिक पृष्ठभूमी भएको परिवारका हुन् । र, मझौलो तहको जागिर गर्छन् ।

प्रसंग २

कोटेश्वरको ट्राफिक जाम काठमाण्डौं कै चर्चित जाम हो । केही दिन अघि त्यही जाममा म चढेको मोटरसाइकल पर्दा सँगैको अर्को मोटरसाइकलमा आँखा पर्यो । मोटरसाइकलको ट्याङ्कीमा ४–५ बर्षकी बालिका थिइन् । त्यसपछि चालक (उनका बाबु), दुई जुम्ल्याहा बहिनी (२ बर्ष हाराहारीका) अनी पछाडि आमा थिइन् । एउटा सानो मोटरसाइकलमा ३ जना स–साना बालबालिका सहित तिनका आमाबाबु ! पुरै ५ जनाको परिवार ।

राज्य संयन्त्रका बिभिन्न निकायहरुको प्रमुख ध्यान नै बिलासी गाडी किनेर चढ्ने प्रबृत्ति छ ।

उनीहरुको मोटरसाइकल अगाडि पानीको जार बोक्ने गाडी थियो । केही अगाडि गाडी सार्दा कालो मुस्लो धुवाँ फ्याँक्दै थियो । बातावरण कालो धुवाँले कुइरीमण्डल भयो । मैले लगाएको माक्सलाई छेडेर डिजेल जलेको गन्ध ह्वास्सै मेरो नाक र मुखबाट छिर्यो । मैले श्वास रोकें । ती बालबालिकाको नाक मुख छोप्ने माक्स थिएन । तिनले आफू जन्मेको समाजका अघिल्लो पुस्ताका मानिसहरुको  अक्षमताको उपहार स्वरुप कालो धुवाँ आफ्ना कलिला नाक र मुखबाट भित्र ताने । काठमाण्डौंको आकाशमा सदाबहार उडिरहने घातक धुलोको त कुरा गर्नै परेन ।

त्यत्तिकैमा हरियो बत्ति बल्यो । सबै अगाडि बढे । त्यत्तिकैमा कतै पछाडिबाट एउटा झल्लाले आफ्नो मोटरसाइकलको ‘कान’ बेस्सरी बटारेर ती केटाकेटीको सातो खायो । अनी लेन अनुशासनलाई ‘उपहास’ गर्दै त्यो परिवारको मोटरसाइकललाई आभरटेक गर्यो, ‘स्नेक स्टाइलमा’ । त्यो परिवार झण्डै त्यो झल्लाको टुरटुरेमा ठोक्कीएर सडकमा पछारिएको !

प्रसंग १ मा उल्लेख गरिएका सज्जनका लागि गाडी बिलासिता, सामाजिक प्रतिष्ठा, आफ्नो वृत्ति विकासको बिम्ब हो । 

प्रसंग २ का परिवारका लागि गाडी आफ्ना स–साना केटाकेटीको कलिलो फोक्सो धुवाँ धुलोबाट जोगाउने र सडकमा खुल्ला साँढे जस्तो हुँइकने बिवेक हिन झल्लाहरु बाट जोगिने मुक्ति यन्त्र ।

सार्वजनिक सवारी चुस्त हुन्थ्यो भने त्यो परिवार त्यति जोखिम मोलेर भटभटेमा सवार हुँदैंनथ्यो होला । अथवा आर्थिक रुपमा केही सहज अवस्था हुन्थ्यो भने आफ्नो गच्छे अनुसार कुनै पारिवारिक गाडी किन्थ्यो होला ।

गाडी बिलासिता हो की आवश्यकता ?

निकै चल्तीको प्रश्न हो यो । तर, माथी उल्लेख गरिए झैं जवाफ भने एउटै छैन । हैसियत, पृष्ठभूमी, रुचि र प्रथमिकताका आधारमा जवाफ फरक फरक हुन्छ ।

अनी समग्र समाजको चेतना र बिकासको अवस्थाले पनि यो प्रश्नका उत्तरमा फरकपन ल्याउँछ । 

कुनै समय चाइनिज ‘हिरो’ साइकल चलाएर हिँड्ने मानिस नेपाली समाजकै हिरो हुन्थ्यो । पछि १०० सीसीको ‘आर एक्स’ मोटरसाइकल चढ्नेहरु सामाजिक नायकको रुपमा उदाए । 

बैंकहरुले अटो लोन दिन शुरु गरेको शुरुवाति बर्षहरुमा मारुती–८०० वा हुन्डाई स्यान्ट्रो चढ्नेले समाजको ध्यान खिँचे ।

नेपाली राज्य सत्ता चाँही के सोच्छ त ?

सर्सती हेर्दा नेपाली राज्य सत्ताले कारलाई बिलासी मानेको देखिन्छ । १००० सीसीसम्मको गाडीलाई नै २ सय ४० प्रतिशत राजश्व तोकेको छ सरकारले । भारतमा निकै सस्तो मै पाइने सामान्य कारहरु नै यहाँका मध्यम बर्गका लागि समेत किन्न हम्मे हम्मे पर्ने अवस्था छ ।

निजी सवारीलाई निरुत्साहित गर्दै सार्वजनिक सवारी, साइकल वा हिँड्नलाई नै सरकारले प्रोत्साहन गरेको तर्क पनि गर्न सकिएला । तर, अहिले बन्दै गरेका नयाँ बाटाहरुमा समेत साइकल लेन बनाउने जाँगर देखाइएको छैन । बाटाघाटामा रुख, बोटबिरुवा रोपेर मानिसहरुलाई हिँड्न प्रोत्साहन गरिएको छैन । र, सार्वजनिक सवारीको सुधार र गुणस्तर बृद्धिमा पनि कुनै ध्यान छैन ।

अनी अर्को कुरा । राज्य संयन्त्रका बिभिन्न निकायहरुको प्रमुख ध्यान नै बिलासी गाडी किनेर चढ्ने प्रबृत्ति छ । पुराना राम्रा गाडीको मर्मत सम्भार गरेर चढ्नु भन्दा पनि नयाँ किन्न जोड दिएको हामीले देखे सुनेकै हो । स्थानिय निकायका पदाधिकारीहरुको त झन् प्रमुख काम नै गाडी किन्ने भएकै हो ।

आफुले जति पनि गाडी किनेर चढ्ने र सार्वजनिक यातायात माथि उल्लेखित अन्य सेवा–सुबिधाहरु प्रति कुनै ध्यान नदिई सबै कारलाई बिलासी बस्तुको एउटै डालोमा हाल्दा कतै माथी प्रसंग २ मा उल्लेखित परिवार र ती साना बालबालिका प्रति अन्याय त भएको छैन ?


Back_to_top