काठमाडौं । महिन्द्राले नाइमा मोबिलिटी एक्स्पोमा सार्वजनिक गरेको ‘XEV 9S’ एसयूभी धेरैले मन पराएका छन् । कम्पनीले ठूलो साइजको एसयूभीलाई सुरूवाती मूल्य ६० लाख रुपैयाँ तोकेर बिक्री सुरू गरेको कारण धेरैको ध्यान यसले खिचेको हो ।
नेपालमा बिक्री हुँदै आएको ठूलो ७ सिट क्षमताको इलेक्ट्रीक एसयूभीमा यो सबैभन्दा कम मूल्यको मोडलको रूपमा चिनिन थालेको छ । त्यसमाथि भारतीय एसयूभी एक्सपर्ट भनेर चिनिने महिन्द्राको उत्पादन भएकाले धेरैले यसलाई किन्ने योजना बनाएको बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोमा बुकिङ गर्ने धेरैले ठूलो साइज, राम्रो रेन्ज, नेपाली बाटोलाई सुहाउँदो एसयूभी भएको कारण बुकिङ गरेको बताएका थिए ।
भारतीय उत्पादक महिन्द्राले नयाँ इलेक्ट्रीक प्लेटफर्ममा तयार गरेको XEV 9S लाई ठूलो ब्याट्री, शक्तिशाली मोटर, लामो रेन्ज र आधुनिक फिचरले भरिपूर्ण एसयूभी मानिन्छ । त्यसमा सुरूवाती मूल्य नै ६० लाख भएपछि ग्राहक आकर्षित भएका हुन् ।

कम्पनीले दुई ब्याट्री अप्सन र ३ भेरियन्टमा XEV 9S लाई बजारमा ल्याएको छ । जसमा ५९ किलोवाट आवरको ब्याट्री भएको प्याक वान भेरियन्टको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।
बाँकी दुई भेरियन्टमा ७९ किलोवाट आवरको विशाल साइजको ब्याट्री छ । त्यसमा प्याक टु भेरियन्टको मूल्य ८६ लाख ५० हजार र प्याक थ्री भेरियन्टको मूल्य ८९ लाख रुपैयाँ तोकिएको छ ।
मोटर पनि पावरफुल
विशाल साइजको ब्याट्रीमा उपलब्ध XEV 9S को सुरूआती भेरियन्ट प्याक वानमा ५९ किलोवाट आवर क्षमताको ब्याट्रीसँग १७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको पीकटर्क ३८० एनएम छ ।

ठूलो ब्याट्री र उच्च पर्फमेन्स चाहने ग्राहकका लागि ७९ किलोवाट आवर ब्याट्री भएको भेरियन्टमा २१० किलोवाट क्षमताको मोटरले पावर दिन्छ । प्याक टु र प्याक थ्री दुवैमा एउटै साइजको मोटर छ । XEV 9S मा रियर ह्वील ड्राइभ सिस्टम दिइएको छ ।
ठूलो एसयूभीमा मूल्यको नयाँ प्रतिस्पर्धा
महिन्द्राले बजारमा केवल टेक्नोलोजी र डिजाइनमा मात्रै होइन मूल्यमा पनि चिनियाँ उत्पादनलाई टक्कर दिन खोजेको देखिन्छ ।
नेपालजस्तो चिनियाँ ईभीको बाक्लो उपस्थिति रहेको बजारमा महिन्द्राको मूल्य रणनीति गज्जबको देखिन्छ । मूल्यमा राम्रो अफर गरेको महिन्द्राले XEV 9S को पर्फमेन्समा पनि कुनै सम्झौता गरेको छैन ।
गाडीको टप भेरियन्टमा २१० किलोवाट मोटर उपलब्ध छ । यसले ३८० एनएम टर्क उत्पादन गर्छ । गाडीमा मल्टिपल रिजेनेरेटिभ ब्रेकिङ मोड, वन पेडल ड्राइभ र डिफल्ट, रेन्ज, एभ्रिडे, रेस तथा स्नो ड्राइभिङ मोड पाउन सकिन्छ ।
अगाडि म्याकफर्सन स्ट्रट र पछाडि मल्टिलिंक फाइभ-लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन प्रयोग भएको XEV 9S मा रहेको सस्पेन्सन सेटअपले ठूलो एसयूभीको राइड क्वालिटी र ह्यान्डलिङ राम्रो बनाएको छ ।
सुरक्षामा अब्बल
XEV 9S ले भारत एनक्याप परीक्षणमा फाइभ स्टार सेफ्टि रेटिङ पाएको छ । एडल्ट अकुपेन्ट प्रोटेक्सनतर्फ गाडीले ३२ मध्ये ३१.९७ अंक प्राप्त गरेको छ भने चाइल्ड अकुपेन्ट प्रोटेक्सनतर्फ ४९ मध्ये ४५ अंक ल्याएको थियो ।
एसयूभीमा एयरब्याग, अल ह्वील डिस्क ब्रेक, इलेक्ट्रोनिक पार्किङ ब्रेक, ड्राइभर ड्राउजिनेस डिटेक्सन, पार्किङ सेन्सर र क्यामेराहरू पाउन सकिन्छ । भेरियन्ट अनुसार एडास लेभल टु फिचर पनि उपलब्ध छन् ।


