अन्तर्राष्ट्रिय ड्राइभिङ लाइसेन्स नेपालबाटै पाइने

काठमाडौं । नेपालबाटै विश्वका धेरै देशमा गाडी चलाउन मिल्ने लाइसेन्स लिन सकिनेगरि सरकारले यातायात ऐनमा परिमार्जन गर्ने भएको छ । त्यसको लागि यातायात व्यवस्था विभागले इन्टरनेशनल ड्राइभिङ पर्मिट (आइडीपी) सम्बनधी ऐन तयारगरि यातायात मन्त्रालयमा पठाएको जानकारी दिएको हो ।

उक्त मस्यौदा सम्बन्धीत मन्त्रालयबाट कानुन मन्त्रालय र अर्थ मन्त्रालयबाट स्वीकृत भएपछि मन्त्रिपरिषद् (क्याविनेट) मा पठाइने छ ।

मन्त्रीपरिषदबाट स्वीकृत भएपछि संसदबाट परित गर्नु पर्ने हुन्छ । संसदबाट पारित भएपछि मात्र यसलाई कार्यान्वयनमा ल्याइने छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन हमालले यस विषयमा मस्यौदा तयारगरि मन्त्रालय पठाइएको जानकारी दिए ।

‘मस्यौदा तयार भएर मन्त्रालय पठाइएको छ, त्यहाँबाट स्वीकृत भयो भने आईडीपी लाइसेन्स दिन्छाैँ,’ महानिर्देशक हमालले भने ।

उक्त व्यवस्थाका लागि विभागले ऐन मस्यौदा तयार गरेर मन्त्रालय पठाइसकेको छ । विभागले नयाँ सवारी तथा यातायात व्यवस्था ऐन निर्माणलाई अन्तिम चरणमा लगेको जनाएको छ ।

नयाँ व्यवस्थासहित पेस भएको सो मस्यौदा संसदले पास गरेपछि ऐन बन्छ र कार्यान्वयनमा आउनेछ । संसदको हिउँदे अधिवेशनबाट संघीय यातायात ऐन पारित गराउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको योजना रहेको छ ।

हाल विभागले वितरण गर्दै आएको लाइसेन्स विश्व स्तरमा प्रयोगमा आउँदैन । नेपालमा लाइसेन्स लिएका नेपालीले विदेशमा लाइसेन्स लिन सोही देशअनुसार ट्रायलको प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता रहेको छ । यसमा ठूलो रकम खर्च हुने जानकारहरु बताउँछन् ।

अहिले विश्वका करिब १ सय ११ देशले आइडीपी जारी गरेका छन् । नेपालले भने निश्चित सर्त पुरा गर्ने प्रतिबद्धता सहित हस्ताक्षर गरेपछि मात्रै आइडीपी जारी गर्न पाउने छ ।


Back_to_top