पैसा हुने नेपालीले निजी विमान राख्ने पाउने

काठमाडौं । सरकारले सर्वसाधरणले पनि आफ्नो ‘प्राइभेट जेट’ राख्न पाउने भएका छन् । विगतमा सर्वसाधरणले ‘प्राइभेट जेट’ राख्न नपाउने व्यवस्था भए पनि सरकारले यसलाई परिमार्जन गर्दै राख्न पाउने व्यवस्था गरेको हो ।

‘राष्ट्रिय हवाई नीति २०७६ मस्यौदा कार्यालय’ले तयार पारेको अन्तिम मस्यौदामा यस्तो व्यवस्था गरिएको छ । कार्यालयले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई सो मस्यौदा हस्तान्तरण गरेको हो ।

मस्यौदा अनुसार अब ड्रोन उडाउनेले समेत अनिवार्य अनुमति लिनुपर्ने छ । विगतमा १ सय मिटरसम्म ड्रोन उडानका लागि अनुमति लिनु नपर्ने व्यवस्था थियो भने त्यो भन्दा माथि ड्रोन उडाउन चाहानेले मात्र अनुमती लिनुपर्ने व्यवस्था थियो । तर, हाल सरकारले सो नीतिलाई साघुँरो पार्दै अनिवार्य अनुमती लिनुपर्ने व्यवस्था मिलाएको हो ।

मन्त्रालयले १५ वर्षभन्दा पुराना वायुयान आयातमा निषेध गरेको छ । साथै ५ वर्षभन्दा कम उमेरका नयाँ वायुयान आयातमा सहुलियत दिने व्यवस्था यस नीतिमा कायम गरिएको छ ।

मन्त्रालयले यस नीति अनुरूप विमानस्थललाई वर्गीकरण गरेको छ । नयाँ पूर्ण क्षमताको विमानस्थल बनाउने विषयलाई प्राथमिकता दिएको जनाइएको छ । यस नीतिले इजाजत दिने प्रकृयालाई समेत सरलीकरण गर्दै लैजाने बताइएको छ ।
यससँगै अन्तरप्रदेश उडानलाई कार्यान्वयनमा ल्याउने व्यवस्था यस नीतिमा उल्लेख छ ।

मन्त्रालयले नेपाललाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय नागरिक उड्यन सेवाको सञ्चालन केन्द्र (हब) बनाउनुका साथै अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण ट्रान्जिट बिन्दुको रूपमा स्थापित थर्ने लक्ष्य राखेको छ ।

यस्तै सुरक्षित हवाई उडानलाई प्राथमिक्तामा राख्दै वायुयान दुर्घटनाका घटनालाई नयूनिकरण गरी सूनय तहमा पुर्याउने नीतिमा उल्लेख छ । यस नीतिले नेपालको नागरिक उड्यन क्षेत्रलाई सुरक्षित, सुलभ, सवल र विश्वसनिय बनाउने अपेक्षा राखिएको छ ।


Back_to_top