काठमाडौं । सन् २०२६ मा नेपाली अटोमोबाइल बजार केही सुस्त देखिएको छ । सन् २०२५ मा मासिक औसतमा १३२३ युनिट प्यासेन्जर कार आयात हुँदै आएकोमा २०२६ लागेपछि औसतमा ८५६ युनिटमा सीमित भएको हो ।
प्रतिनिधि सभा निर्वाचन, यसअघि ल्याइएका गाडी स्टक हुनु, माग पनि खासै बढ्न नसक्नु लगायत कारणले कार आयात केही सुस्ताएको हो ।
भन्सार तथ्यांक अनुसार सन् २०२६ को साढे दुई महिना (जनवरी-मार्च १५)सम्म कुल २ हजार १४० युनिट प्यासेन्जर कार आयात भएको छ । जसमा जनवरी ९३७, फेब्रुअरी ७७१ र मार्चको १५ दिनमा ४०३ युनिट आयात भएको छ ।
यस अवधिमा २ दर्जन बढी ब्राण्डका कार आयात हुँदा केबल ७ मोडलले मात्र १०० युनिट पूरा गरेका छन् ।
सन् २०२६ मा सबैभन्दा धेरै टियागो ईभी आयात भएको छ । सिप्रदी ट्रेडिङले ट्याक्सीको रूपमा प्रयोग हुने टिगोर २७४ युनिट नेपाल ल्याएको छ ।
त्यस्तै, दोस्रो धेरै आयात हुनेमा नामि भिगो रहेको छ । एमएडब्लू वृद्धिले साढे २ महिनामा १७० युनिट भिगाे ल्याएको छ ।
अहिले नेपाली बजारमा हटकेक बनेको चेरीको आइकार भी २३ तेस्रो धेरै आयात भएको छ । एसपीजी अटोमोबाइल्सले १५२ युनिट आइकार भी २३ ल्याएको छ ।
त्यस्तै, टाटाको पन्च ईभी चाैथाे स्थानमा छ । सिप्रदीले साढे २ महिनामा १५० युनिट पन्च ईभी नेपाल ल्याएको हो ।
पाँचौंमा हुन्डाई क्रेटा रहेको छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटाको १२६ युनिट सीकेडी नेपाल ल्याएको हो ।हाल हुन्डाई क्रेटा नेपालमै एसेम्बल हुन्छ ।
छैटाैंमा बीवाइडीको प्रिमियम एसयूभी सिलायन सेभेन १०६ युनिट आएको छ । साइमेक्स इंकले साढे २ महिनामा उक्त संख्यामा सिलायन ल्याएको हो ।
त्यस्तै, एमएडब्लू वृद्धिले डोङफेङ नामी १०० युनिट नेपाल ल्याएको छ । यी बाहेक अन्य कुनै पनि मोडलले १०० को आँकडा पार गर्न सकेका छैनन् ।

