‘इण्डिया मेड’ ४ ईभी आउने छन् नेपाल

काठमाडौं । वि.सं. २०८३ मा भारतमा उत्पादन भएका ४ नयाँ इलेक्ट्रीक मोडल नेपाल आउने छन् । नयाँ ४ मोडलको अलावा अहिले बिक्री भइरहेका र बुकिङ चलिरहेका केही मोडल पनि यही वर्ष भित्रै आउने पक्का छ ।

अहिले बजारमा बिक्री भइरहेका पन्च ईभी र टियागो ईभी अपग्रेड भएर आउने छन् । मारुती सुजुकीको ई भिटारा अहिले नै बुकिङ भइरहेको छ । यसको बिक्री अबको केही दिन भित्रै सुरू हुनेछ ।

भारतमा उत्पादन भएका नयाँ इलेक्ट्रीक मोडलमा टाटा सियरा ईभी, किया सिरोस र हुन्डाईको सब फोर मिटर इलेक्ट्रीक एसयूभी २०८३ साल भित्रै नेपालमा बिक्री सुरू हुने छन् ।

भारतमा उत्पादन सुरू भएको भिनफास्टले पनि नेपाल प्रवेश गर्ने सम्भावना धेरै छ । तर, ठ्याक्कै कहिले आउँछ भन्ने एकिन गर्न सकिँदैन ।

मारुती सुजुकी ई भिटारा :  युरोप र भारतमा समेत बिक्री सुरू भइसकेको सुजुकी ई भिटारा नेपाली बजारमा अहिलेसम्म ७ युनिट आइसकेको छ । सुजुकीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले चैतमा ६ युनिट ई भिटारा नेपाल ल्याएको हो ।


अहिले बुकिङ भइरहेको ई भिटाराको सुरूवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । १०६ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर रहेको ई भिटारा दुई ब्याट्री अप्सनमा आउने छ । यसमा ४९ र ६१ किलोवाट आवरको एलएफपी ब्याट्री पाउन सकिन्छ । २०८३ को लागि पहिलो ईभी मोडलको रूपमा ई भिटारा बिक्री सुरू हुँदैछ ।

टाटा सियरा ईभी : टाटा मोटर्सले अहिले भारतमा पेट्रोलियम इन्जिनमा बिक्री गर्दै आएको सियराको इलेक्ट्रीक भर्सन छिट्टै बजारमा आउने बताइएको छ । विभिन्न रिपोर्टहरूले दाबी गरे अनुसार ५५ र ६५ किलोवाट आवरको दुई ब्याट्री अप्सनको साथ सियरा ईभी बजारमा आउने छ ।


बक्सी डिजाइन, प्रिमियम फिचर र टेक फिचरले भरिपूर्ण भएर आउने सियरा ईभीको भारतमा अहिले नै राम्रो चर्चा भइरहेको छ । यसको पेट्रोलियम पदार्थले चल्ने इन्जिन भएको मोडलले पनि निकै राम्रो बिक्री पाइरहेको छ ।

किया सिरोस ईभी

किया इण्डियाले बिक्री गर्दै आएको सिरोस एसयूभीलाई पनि ईभीमा ल्याउने जनाएको छ । अहिले भारतका विभिन्न स्थानमा परीक्षण भइरहेको सिरोस ईभीको डिजाइन कियाको ईभी सिरिजबाट प्रेरित छ ।

कियाको ग्लोबल स्पेक ईभी टुमा आधारित रहने सिरोस ईभी आगामी चाडपर्वको सिजनमा बिक्री सुरू हुने अनुमान गरिएको छ । नयाँ ईभीमा रहने टेक्निकल डिटेल बाहिर नआए पनि साइज र मुख्य क्याबिन फिचर पेट्रोलियम पदार्थबाट चल्ने मोडलकै धेरै रहने छन् ।


अहिलेसम्मको रिपोर्ट अनुसार सिरोस ईभीमा स्मार्ट ड्यासक्याम, भेन्टिलेटेड सिट, अटोमेटिक आइआरभीम, स्मार्ट फोन वायरलेस चार्जर रहने छ । यसका अलावा अगाडि र पछाडि नै पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा, ब्लाइण्ड स्पर्ट मोनिटर र लेभल टु एडास फिचर पाउन सकिन्छ । यी फिचर पेट्रोल मोडलमै उपलब्ध छन् ।

हुन्डाई सब फोर मिटर ईभी

कोरियन कार निर्माता हुन्डाईले पनि भारतमा इन्ट्री लेभल इलेक्ट्रीक एसयूभी परीक्षण गरिरहेको छ । कम्पनीले परीक्षण गरिरहेको ईभीको सिधा टक्कर टाटा पन्च ईभीसँग हुने अनुमान गरिएको छ ।

बक्सी डिजाइनमा तयार भएको बडी छोपेर परीक्षण हुँदा नै देख्न सकिन्छ । हुन्डाईले नयाँ ईभी आगामी अक्टोबर महिनामा सार्वजनिक गर्नेछ । उक्त मोडलको नाम भने बाहिर आएको छैन ।

नयाँ ईभीको डिजाइन भिन्न लाग्छ । पछाडि दिइएको टेल लाइटलाई जोडिएको छ । स्पोइलरसँगै जोडिएको ब्रेक लाइट देख्न सकिन्छ ।

इन्टेरियरमा १२.३ इन्चका दुईवटा स्क्रीनहरू, स्टेयरिङमै भएको गियर नब, लेभल २ एडास, ३६० डिग्री क्यामेरा, चारै चक्कामा डिस्क ब्रेक, भेन्टिलेटेड सिट जस्ता सुविधा रहने अनुमान छ ।

सम्भवतः हुन्डाईले नयाँ ईभीमा ४० किलोवाट आवरको ब्याट्री दिनेछ । मोटर पावर पनि १०० किलोवाट आसपासकै रहने अनुमान छ ।


Back_to_top