काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले निकट भविष्यमै काठमाडौंदेखि बंगलादेशको राजधानी ढाकासम्म सिधा उडान गर्ने भएको छ ।
निगमले काठमाडौं ढाका उडानका लागि आवश्यक तयारी थालेको हो । निगमका अनुसार ढाका उडान गर्न सम्भाव्यता अध्ययन उपसमिति गठन गरी आवश्यक काम भइरहेको छ । अध्ययन समितिले दिने प्रतिवेदनका आधारमा उडान तय गरिने निगमले जनाएको छ ।
बंगलादेश नेपालको छिमेकी देश भएको र धेरै नेपाली त्यहाँ रहे पनि नेपाली ध्वजावाहक विमानले उडान भर्न सकेको थिएन । त्यसैलाई मध्येनजर गर्दै निगमले उडान गर्ने तयारी थालेको हो ।
हाल बंगलादेशबाट काठमाडौंमा नियमित उडान हुँदै आएको छ । काठमाडौंबाट पनि निजी क्षेत्रको हिमालयन एयरलाइन्सले ढाकामा उडान भर्दै आएको छ । राष्ट्रिय ध्वजावाहकको उडान भने हालसम्म हुनसकेको छैन ।
निगमले काठमाडौं-दिल्ली-काठमाडौं हवाई उडान सेवा थप विस्तार गरेको छ । हाल सो रुटमा निगमले गत १७ चैतदेखि सातामा थप तीन दिन उडान थप गरेको छ । नयाँ व्यवस्थापछि काठमाडौं-दिल्ली-काठमाडौं साताको १० उडान भइरहेको छ ।
कार्गो व्यवसायलाई थप सुदृढ एवं उपलब्धिमूलक बनाउन कार्गो म्यानेजमेन्ट सिस्टम स्टडी टास्कफोर्स गठन गरिएको छ ।

