काठमाडौं । हुन्डाई मोटर्सको उत्पादन आयोनीक-५ करको कारण ३५ लाख मूल्य बढेको विद्युतीय प्रिमियम कार हो । प्रिमियम फिचर, भविष्य उन्मुख डिजाइन र उत्कृष्ट रेन्जको कारण आयोनीक ५ धेरै मानिसको रोजाईमा परेको थियो ।
सरकारले विद्युतीय कारमा कर वृद्धि गर्नु अघि नै नेपाल आएको आयोनीक-५ लाई कम्पनीले ८१ लाख ९६ हजार मूल्य निर्धारण गरेर विक्री गरेको थियो । तर, चालु आर्थिक वर्षको बजेट मार्फत १०० किलोवाट माथिका विद्युतीय कारमा भन्सार बढाउनुको साथै अन्तःशुल्क पनि लगाएको कारण यसको मूल्य वृद्धि भएको हो ।
चालु आवको बजेट अगाडि १५ प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर लाग्दै आएको आयोनीक-५ मा बजेटपछि ३० प्रतिशत भन्सार, ३० प्रतिशत नै अन्तःशुल्क, १३ प्रतिशत भ्याट र ५ प्रतिशत सडक निर्माण दस्तुर तिर्नु पर्ने भएको छ ।
मूल्य बढेर १ करोड १६ लाख ९६ हजार रुपैयाँ पुगेको भएपनि आयोनीक-५ किन्ने ग्राहकमा कमी नआएको लक्ष्मी इन्टरकन्टिनेटल प्रालिले जनाएको छ । कम्पनीका डिलरसिप हेड दिवाकर रेग्मीका अनुसार आयोनीक ५ ले आफ्नो फ्यूचरिष्टीक डिजाइनको कारण धेरैको ध्यान खिच्न सफल भएको हो ।
‘बजेट मार्फत कर बढ्दा महंगो भएको कारण धेरै ग्राहकले आयोनीक ५ किन्नु हुँदैन कि भन्ने लागेको थियो । तर, सरकारले अन्य बस्तुको कर घटाउने निर्णय गर्दा पनि विद्युतीय गाडीको कर नचलाएपछि पहिला बुकिङ गर्ने ग्राहकहरु पनि फोन गर्न थाल्नु भएको छ । यसको सप्लाई कै कारण किन्न चाहने जतिले अहिले पनि गाडी पाउने अवस्था छैन’, रेग्मीले मेरोअटोसँग भने ।
आयोनीक-५ को मासिक किस्ता कति ?
मासिक किस्ता डाउन पेमेन्ट गरेको रकममा आधारित रहन्छ । यदि थोरै डाउन पेमेन्ट र धेरै कर्जा गर्ने हो भने मासिक किस्ता धेरै पर्छ । होइन ५० प्रतिशतसम्म डाउन पेमेन्ट गर्ने हो भने मासिक किस्ता कम पर्छ ।
सरकारले विद्युतीय कारमा २० प्रतिशत डाउन पेमेन्ट गर्दा पनि कर्जा सुविधा दिने व्यबस्था गरेको छ । बैंकले पनि प्राथमिकता प्राप्त क्षेत्रमा ईभी लोन गणना गर्न पाउने हुँदा सहजै कर्जा दिइरहेका छन् ।
यदि तपाईले गाडीको मूल्यको २० प्रतिशत रकम डाउन पेमेन्ट गरेर आयोनीक ५ किन्नु भयो भने ९३ लाख ५६ हजार ८०० रुपैयाँ कर्जा लिनु पर्ने हुन्छ । गाडीको मूल्य १ करोड १६ लाख ९६ हजार रुपैयाँको २० प्रतिशतले हुन आउने २३ लाख ३९ हजार २०० रुपैयाँ डाउन पेमेन्ट वापत सुरुमै तिर्नुपर्छ ।
अहिले बजारमा ईभीको लागि १४ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध रहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाले ७ वर्षको लागि कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् । यही प्याकेजमा आयोनीक-५ किन्ने हो भने तपाईले मासिक १ लाख ७५ हजार ३५० रुपैयाँ हाराहारी मासिक किस्ता तिर्नु पर्छ ।
यस्तो छ आयोनीक-५
हुन्डाईले ८०० भोल्ट इलेक्ट्रीकल आर्किटेक्चरमा तयार गरेको आयोनीक-५ विश्वभर चर्चामा रहेको मोडल हो । यो अहिलेसम्मकै छिटो चार्ज हुन सक्ने ईभीको रुपमा आफ्नो पहिचान बनाउन सफल भएको छ । यसलाई १८ मिनेटमा नै १० देखि ८० प्रतिशत चार्ज गर्न सकिने छ । यसले ३५० किलोवाट क्षमताको फास्ट डीसी चार्जर सर्पोट गर्नेछ ।
यूरोप, अमेरिकी र एशियाली देशमा यसको प्रतिक्षा बढ्दो रहेको छ । हुन्डाईले नेपाल ल्याएको आयोनीक-५ मा ५८ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसमा १२५ किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
सोलार रुफ, आफ्नो आवश्यकता अनुसार पूर्ण फोल्ड गर्न किल्ने सिट, अगाडि र पछाडि सार्न मिल्ने आमरेष्ट, ३० प्रतिशत पातलो सिट, रिसाइकल गरिएको प्लास्टीक वोटल र फेब्रिकबाट बनेको इन्टेरियर यसको मूल्य विशेषता हो । हुन्डाइले ३००० एमएमको ह्वीलवेस दिएको कारण यो गाडी निकै स्टेवल र आरामदायी हुने विश्वास गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा टेस्ला मोडल थ्रिसँग सिधा प्रतिस्पर्धा गरिरहेको आयोनीक-५ ले नेपालमा पनि टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गर्नेछ । आयोनीक-५ को तुलनामा टेस्ला मोडल थ्रीको मूल्य ८ लाख रुपैयाँ धेरै छ ।

