काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी मोटरले नेपालमा विक्री गर्दै आएको नेटा भी इलेक्ट्रीक क्रसओभर छोटो समयमा नै सफलताको बाटो समाउन सफल भएको छ । कम्पनीले ३७ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको थियो ।
नेटा भी क्रसओभरमा कम्पनीले दशैं स्कीम पनि संचालनमा ल्याएको छ । ‘इलेक्ट्रीफाई दिस फेस्टीभ सिजन’ स्लोगन दिएर ल्याएको स्कीममा कम्पनीले १ लाख ४० हजारसम्मको स्कीम दिएको छ ।
सिजी मोटरले हरेक नेटा भी खरिद गर्ने ग्राहकलाई बीमा र एउटा ६.६ किलोवाटको चार्जर उपलब्ध गराउने जनाएको छ । यसमा अन बोर्ड चार्जर भने ३.३ किलोवाट क्षमाताको आउने छ ।
साथै, कम्पनीले लक्की ड्र मार्फत सिजीको ७५ इन्च फोर के यूएचडी स्मार्ट टिभी, मेघौली सेराईमा दुई जनालाई छुट्टी मनाउने अवसर र ५५० लिटरको सिजीको रेफ्रिजेरेटर पाउन सक्नेछन् ।
७ लाख ६० हजार डाउन पेमेन्ट
सिजी मोटरले ल्याएको इलेक्ट्रीक क्रसओभर सहरी क्षेत्रको लागि उपयुक्त रहेको छ । यसलाई २० प्रतिशत डाउन पेमेन्ट गरेर किन्न चाहने ग्राहकले ७ लाख ५९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट वापत बुझाउदा पुग्छ ।

गाडीको मूल्यको २० प्रतिशत डाउन पेमेन्टपछि ग्राहकले ३० लाख ३९ हजार २०० रुपैयाँ कर्जा सुविधा लिन सक्नेछन् । अहिले बजारमा कर्जाको ब्याजदर निकै महंगो भएको छ । यद्यपि, विद्युतीय गाडीको लागि १४ प्रतिशत ब्याजदरमा कर्जा सुविधा पाउन सकिन्छ । यसरी लिएको कर्जा ७ वर्षमा तिर्नेगरी लिँदा मासिक ५७ हजार हाराहारी किस्ता बुझाउनु पर्छ ।
यस्तो छ ‘नेटा भी’
नेटा भी क्रसओभर डिजाइन, निकै प्रिमियम सिट, आकर्षक अलोय ह्वील, टु स्पोक स्पोर्टी स्टेरिङ ह्वील, यूनिक तरिकाले प्लेस गरिएको ड्राइभर इन्फर्मेशन डिस्प्ले, निकै ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, यूनिक स्थानमा दिइएको गियर नव र पार्किङ ब्रेकले यसलाई अब्बल बनाएको छ ।
कम्पनीले यसमा ३८.५४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ । साथै, यसमा ७० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ । सिजी मोटरले यसको ब्याट्री र मोटरमा ८ वर्षको वारेन्टी प्रदान गर्ने जनाएको छ ।
नेटा भीमा विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी ‘सिएटीएल’ले उत्पादन गरेको लिथियम आयोन ब्याट्री प्रयोग भएको छ ।
बढ्यो ग्राउन्ड क्लियरेन्स
नेटा भीको ग्राउन्ड क्लियरेन्स १० एमएमले बढाउन मिल्ने कम्पनीले जनाएको छ । त्यसको लागि ग्राहकले अतिरिक्त खर्च गर्नु पर्ने हुन्छ ।
‘हामीले १० एमएम ग्राउन्ड क्लियरेन्स बढाउन मिल्ने टायर ल्याएका छौं । टायर साइजकै कारण नेटा भीको ग्राउन्ड क्लियरेन्स बढ्ने छ’, सिजी मोटर्स स्रोतले भन्यो ।


