काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनमा विद्यार्थीहरूलाई गाडी भाडामा ४५ प्रतिशत छुट अनिवार्य लागू गर्न निर्देशन दिएको छ ।
विभागले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रीय महासंघ र साझा यातायात सहकारी संस्था लिमिटेडलाई पत्राचार गर्दै कानुनले तोकेको भाडादर छुट दिन भनेको हो ।
२०६५ फागुन २० गते सरकार र यातायात व्यवसायी बीच सार्वजनिक सवारीमा विद्यार्थीलाई ४५ प्रतिशत छुट दिने सहमति भएको थियो ।
तर, पछिल्लो समय इन्धनको मूल्यवृद्धि देखाउँदै केही सवारी साधनले छुट नदिने, दुव्र्यवहार गर्ने लगायत गुनासो आएको भन्दै व्यवसायीहरूलाई ध्यानाकर्षण गराएको हो ।
‘…मिति २०६५।११।२० मा विभिन्न निर्णयहरू भएको व्यहोरा अवगत नै छ। सो बैठकको निर्णय नं. ८ मा विद्यार्थीहरूलाई सवारी भाडामा ४५% छुट सुविधा उपलब्ध गराउने निर्णय भएको देखिन्छ । नेपाल सरकारका विभिन्न प्लेटफर्महरू (हेलो सरकार, गुनासो पेटिका) लगायतमा छुट सुविधा सार्वजनिक यातायात्का सवारी साधनहरूमा सो अनुसारको छुट तथा सहलियत उपलब्ध नगराइएको भनी पर्याप्त गुनासोहरूसमेत प्राप्त हुन आएकाले सो बमोजिमको विद्यार्थी सहुलियत सुविधा उपलब्ध गराउने कार्य कार्यान्वयन गर्न हुन निर्देशानुसार अनुरोध छ,’ विभागले लेखेको पत्रमा भनिएको छ ।


