काठमाडौं । विश्व चर्चित कार ब्राण्ड फक्सवागेनले नयाँ ब्राण्ड जेटा घोषणा गरेको छ । चीनलाई आधार बनाएर आउन लागेको जेटा ब्राण्डमा ‘एक्स कन्सेप्ट’ देखाएको हो ।
बेइजिङ अटो शोको पूर्व सन्ध्यामा सार्वजनिक भएको ‘जेटा एक्स कन्सेप्ट’ले चिनियाँ बजारमा फक्सवागेनलाई बलियो बनाउने अपेक्षा कम्पनीले राखेको छ । उसले वार्षिक ४ लाखदेखि ५ लाख युनिटसम्म जेटा ब्राण्डमा ईभी बिक्री गर्ने योजना बनाएको हो ।
चिनियाँ साझेदार कम्पनी ‘एफएडब्लू–फक्सवागेन’ले इन्ट्री ब्राण्डको रुपमा जेटालाई प्रस्तुत गरेका हुन् । यही ब्राण्डको मातहतमा सन् २०१९ देखि कम मूल्यका पेट्रोलियम पदार्थबाट चल्ने कार बिक्री गर्दै आएको थियो । अब भने न्यू इनर्जी भेहिकल उत्पादनमा जेटा लागेको हो ।
प्योर ईभी, हाइब्रिड र प्लगइन हाइब्रिड कार बिक्री गर्ने जेटा ब्राण्डको लक्ष्यलाई पुरा गर्न एक्स कन्सेप्ट सार्वजनिक गरिएको हो । यो कन्सेप्ट कार प्योर इलेक्ट्रीक मोडल हो ।
सन् २०२८ सम्ममा ५ नयाँ मोडलका ईभी बिक्री थाल्ने योजना बनाएको जेटा ब्राण्डले ४ मोडल न्यू इनर्जी र १ मोडल पेट्रोलियम पदार्थबाट चल्ने ल्याउने छ । जेटाका अनुसार उसले १४ हजार ७०० अमेरिकी डलर मूल्य कायम गरेर पहिलो इलेक्ट्रीक मोडल बजारमा ल्याउने योजना बनाएको छ ।

मूल्यको हिसावले सस्तो हुने भनिएको एक्स कन्सेप्टमा के कस्ता फिचर रहन्छन् भन्ने जानकारी बाहिर ल्याएको छैन । साथै, मोटर क्षमता, ब्याट्री क्षमता र टेक फिचरको बारेमा पनि कुनै जानकारी प्राप्त छैन ।

