काठमाडौं । राष्ट्रिय गौरवको आयोजना काठमाडौं-तराई/मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणले गति लिन थालेको छ । सुरुआती वर्षहरूमा सुस्त रहेको फास्ट ट्रयाक निर्माणले पछिल्लो समय तीव्रता पाएको हो । यद्यपि, लक्ष्य अनुसार भने प्रगति हासिल हुन सकेको छैन ।
७०.९७७ किमी लामो यो सडक २०७४ वैशाख २१ गतेको मन्त्रिपरिषद् निर्णयबाट व्यवस्थापनको जिम्मा नेपाली सेनालाई दिइएको थियो । सेनाले २०७८ देखि ठेक्का लगाइ निर्माण अघि बढाएको थियो ।
यो सडक हाल १३ प्याकेजमा विभाजन गरिएको छ । सोमध्ये प्रस्थान बिन्दु खोकना-डुकुछाप (प्याकेज नं. ११) बाहेक अरू १२ वटै प्याकेजमा ठेक्का व्यवस्थापन भई हाल धमाधम काम भइरहेको नेपाली सेनाका सूचना अधिकारी (सहायक रथी) राजाराम बस्नेतले जानकारी दिए ।
उनका अनुसार २०८२ चैत मसान्तसम्म फास्ट ट्रयाकको समग्र भौतिक प्रगति ४६.८८ प्रतिशत र वित्तीय प्रगति ४६.५२ प्रतिशत पुगेको छ ।
उनका अनुसार हाल ठेक्का लागेका खण्डमा एकैसाथ पुल, सुरुङ, सडक, इन्टरचेन्ज, टोल प्लाजा, स्लोप प्रोटेक्सन, बक्स कल्भर्ट, अप्टिकल फाइबर डक्ट, इलेक्ट्रिफिकेसन डक्ट निर्माण जस्ता काम भइरहेको छ ।
साथै, फास्ट ट्रयाकको कालोपत्र गर्न पनि सुरू गरिएको उनले जानकारी दिए । उनका अनुसार प्याकेज नं. ३ (मकवानपुरको राजदमार)मा ३०० मिटर सडक कालोपत्र भइसकेको छ । सोही क्षेत्रमा ९ किमी सर्भिस लेन पनि कालोपत्र भइसकेको उनले बताए ।

त्यस्तै, प्याकेज नं. ३ (राजदमार) र प्याकेज नं. ५ (निजगढ)मा गरी कुल ११.०२ किमी सडकमा सबबेस र ५.५ किमीमा बेस राखिएको छ । चालु आव भित्र १०.८ किमी कालोपत्र गर्ने लक्ष्य राखिएको उनले बताए ।
‘फास्ट ट्रयाकका १३ प्याकेजमध्ये १२ वटाको ठेक्का लागि धमाधम काम भइरहेको छ । प्याकेज नं. ११ को मात्रै ठेक्का लाग्न बाँकी छ,’ उनले मेरोअटोसँग भने, ‘ठेक्का लागेका खण्डमा पुल, सुरुङ, कल्भर्ट, स्लोप प्रोटेक्सन लगायत काम भइरहेको छ । साथै, कालोपत्र समेत सुरू भएको छ । चालु वर्ष भित्रै १०.८ किमी कालोपत्र गर्ने लक्ष्य छ ।’ फास्ट ट्रयाक पहाडी भू-भागमा २५ मिटर र तराई भू-भागमा २७ मिटर फराकिलो हुनेछ ।
१६ पुल निर्माण सम्पन्न
फास्ट ट्रयाकमा विभिन्न स्थानमा कुल १२.८८५ किमी लम्बाइको ८९ वटा पुल निर्माण हुनेछ । ८१ मिटरसम्म अग्ला विभिन्न प्रकृतिका पुलहरू निर्माण भइरहेको छ ।
सूचना अधिकारी बस्नेतका अनुसार ८९ पुल मध्ये ८५ वटाको ठेक्का लागिसकेको छ । जग्गा विवाद रहेको खोकना खण्डका ४ पुलको ठेक्का लाग्न बाँकी रहेको छ ।

ठेक्का लागेका ८५ पुलमध्ये चैत मसान्तसम्म १६ वटा निर्माण सम्पन्न भएको छ । त्यस्तै, ५६ वटा पुलको फाउण्डेसन र ३८ पुलको सबस्ट्रक्चर निर्माण सम्पन्न भएको छ । चालु आवमा मात्रै थप १० पुल निर्माण सम्पन्न भएका हुन् । गत असार मसान्तसम्म ६ वटा पुल निर्माण सम्पन्न भएका थिए ।
त्यस्तै, बाराको निजगढ क्षेत्रमा एनिमल अण्डरपासको सुपरस्ट्रक्चर, टोल प्लाजा तथा इन्टरचेन्ज निर्माण कार्य भइरहेको उनले जानकारी दिए । फास्ट ट्रयाकको बुदुनेमा दुई वटा विश्रामस्थल तथा खोकना, बुदुने र निजगढमा एकरएक वटा इनटरचेञ्ज र ट्रोल प्लाजा निर्माण गरिने छ ।
दुइटा सुरुङ ब्रेक थ्रु, ५ वटा धमाधम खन्दै
फास्ट ट्रयाकमा कुल १०.९७९ किमी लम्बाइका ७ वटा सुरुङ निर्माण हुने छन् । तीमध्ये हालसम्म दुई वटा ब्रेक थ्रु भइसकेको छ । सूचना अधिकारी बस्नेतका अनुसार हालसम्म लेनडाँडाको १६२२ मिटर र धेद्रेको १६९० मिटरको सुरुङ ब्रेक थ्रु भइसकेको छ । ती सुरुङमा सेकण्डरी लाइनिङको काम समेत अन्तिम चरणमा पुगेको उनले बताए ।
फास्ट ट्रयाककै लामो ३३५५ मिटरको महादेवटार सुरुङ खन्ने काम ७७ प्रतिशत सकिएको छ । महादेवटारको दायाँतर्फको २९२१ मिटर र बाँयातर्फ २४६७ मिटर सुरुङ खनिसकिएको छ । चालु आव भित्रै यो सुरुङ ब्रेक थ्रु गरिने लक्ष्य रहेको उनले बताए । यो सुरुङमा लाइनिङको काम पनि सँगसँगै भइहरेको छ ।

त्यसैगरी, २२५० मिटर लामो चन्द्रामभीर सुरुङको दाँयातर्फ ३२० मिटर र बाँयातर्फ ३८९ मिटर खनिएको छ । १ हजार मिटर लामो देवीचौरको बाँयातर्फ ७२ मिटर खनिएको छ भने दाँयातर्फ पोर्टको काम भइरहेको छ । ४८० मिटर लामो सिसौटार दाँयाँतर्फ ४५ मिटर खनिएको छ । यसको बाँयातर्फ र ५९४ मिटर लामो मौरीभीर सुरुङको पोर्टल तयारी कार्य भइरहेको उनले जानकारी दिए ।
८५ अर्ब खर्च
फास्ट ट्रयाकमा हालसम्म समष्टिगत रूपमा ८५ अर्ब १४ करोड रुपैयाँ खर्च भइसेकको छ । सोमध्ये १ अर्ब ६५ करोड रुपैयाँ जग्गा खरिद र ८२.३७ करोड निर्माण व्यवसायीलाई पेश्की दिइएको छ ।
त्यस्तै, नेपाल विद्युत् प्राधिकरणलाई ९ करोड ८१ लाख पेश्कीससहित २ अर्ब ५७ करोड रुपैयाँ राजस्व दाखिला गरिएको छ । आयोजनाको अनुमानित कुल लागत २ अर्ब ११ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । बजेटका आधारमा फास्ट ट्रयाक हाल निर्माणाधीन मध्ये सबैभन्दा ठूलो आयोजना हो ।
प्रस्थान बिन्दु सार्न डीपीआर संशोधन हुँदै
फास्ट ट्रयाकको अन्य क्षेत्रमा काम भइरहे पनि प्रस्थान बिन्दु औपचारिक रुपमा टुंगिएको छैन । हालको डीपीआरमा फास्ट ट्रयाकको प्रस्थान बिन्दु खोकना तोकिएको छ । उक्त क्षेत्रमा स्थानीयसँगको विवाद समाधान हुन नसकेपछि अब विकल्पमा खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोललाई प्रस्थान बिन्दु कायम गर्न प्रस्ताव गरिएको हो ।
फर्सिडोलमा टोल प्लाजा निर्माण र त्यहाँसम्म पुग्ने पहुँचमार्ग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाउने गरी मस्यौदा तयार पारिएको छ ।
डीपीआर संशोधन प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी बस्नेतले जानकारी दिए । उनले डीपीआरकाे मस्यौदा रक्षा मन्त्रालयमा पठाइएको र मन्त्रालयमा प्रक्रियाको क्रममा रहेको बताए । उक्त डीपीआर मन्त्रिपरिषद्बाट स्वीकृत भएर आउन साथ खोकनाखण्डको ठेक्का प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
वर्षौंदेखि खोकनामा मुआब्जा र स्थानीयसँगको विवाद टुंगिन नसकेपछि तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीले गत फागुन ५ गते वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी थिइन् । द्रुतमार्गको सुरू बिन्दुको विकल्पबारे पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक र सडक विभागका प्राविधिक टोलीले २०८० चैतमा तीन विकल्पसहितकाे प्रतिवेदन बुझाएकाे थियो ।
मन्त्रिपरिषद्को २०७४ वैशाख २१ गतेको निर्णयानुसार सो आयोजना निर्माण व्यवस्थापनको जिम्मेवारी नेपाली सेनालाई दिइएको थियो । सो आयोजनाको २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको निजगढमा शिलान्यास गरेका थिए । आयोजनाको थपिएको म्याद २०८३ चैत मसान्तसम्म रहेको छ ।
द्रुतमार्ग सम्पन्न भएपछि तराईबाट काठमाडौंसम्मको दूरी ४ घण्टाले छोटिने र सामान ढुवानीमा मात्रै हरेक वर्ष ५० अर्बभन्दा बढीको बचत हुने अनुमान छ ।

