चांगानले सार्वजनिक गर्यो विश्वकै टप टेन अटोमेकर बन्ने योजना

काठमाडौं । चिनियाँ अटोमोबाइल उत्पादक चांगान ग्रुपले २०३० सम्ममा विश्वकै टप टेन अटोमेकर बन्ने लक्ष्यसहित बोल्ड ग्लोबल प्लान सार्वजनिक गरेको छ ।

कम्पनीले चीनको चोङकिङमा आयोजित ग्लोबल स्ट्राटेजी लञ्च तथा ग्लोबल पार्टनर सम्मेलनमा उक्त लक्ष्य हासिल गर्न ‘१+४+४+५’ फ्रेमवर्क योजना अघि सारेको हो ।

कम्पनी सन् २०३० सम्म ६०० अर्ब चिनियाँ युवान राजस्व हासिल गर्ने लक्ष्यसहित नयाँ व्यापक विकास रणनीति घोषणा गरेको हो ।

यस रणनीतिको पछाडि आन्तरिक रूपमा विकास गरिएको सशक्त प्रविधिमा आधारित विश्वस्तरीय अटोमोबाइल कम्पनी निर्माण गर्ने एक स्पष्ट लक्ष्य रहेको छ।

लक्ष्य हासिल गर्न चांगानले चार प्रमुख व्यवसायिक क्षेत्रहरू, सवारीसाधन, कम्पोनेन्ट, सेवा र नयाँ पुस्ताका उद्योगहरूमा ध्यान केन्द्रित गर्नेछ। साथै, कम्पनी स्मार्ट, ग्रीन, ग्लोबल र थप कनेक्टेड बन्ने दिशामा चार प्रमुख रूपान्तरणतर्फ अघि बढ्नेछ।

कम्पनीले २०३० सम्म ५ प्रमुख सूचकहरू दोब्बर बनाउने लक्ष्य पनि राखेको छ । जसमा विद्युतीय सवारीको बिक्री, विदेश निर्यात, कुल आम्दानी, नाफा र ब्राण्ड भ्यालु समावेश छन्।

चांगानका अध्यक्ष झु हुआरोङले कम्पनी परिवर्तन र अवसरले भरिएको नयाँ युगमा प्रवेश गरिरहेको उल्लेख गर्दै उद्योगका साझेदारहरूसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उक्त रणनीतिले कम्पनीले हासिल गर्ने ६ वटा प्रमुख छलाङहरू पनि निर्धारण गरेको छ । जसमा स्मार्ट सवारीको विकास, स्वच्छ पावरट्रेन, बिक्रीको दायरामा विस्तार, सुदृढ व्यवसायिक इकोसिस्टम, प्रभावकारी ग्लोबल व्यवस्थापन र समग्र कम्पनीको भ्यालुको अभिवृद्धि रहेका छन्।

ग्लोबल स्टेजमा चांगानले तीन प्रमुख योजनामार्फत आफ्नो विस्तारलाई तीव्रता दिइरहेको छ । ग्रीन प्लान अन्तर्गत विद्युतीय सवारी प्रविधि सुदृढ बनाउने र सवारीको सम्पूर्ण जीवनचक्रमा कार्बन उत्सर्जन घटाउने लक्ष्य राखिएको छ ।

इन्टेलिजेन्ट प्लान सुरक्षित र स्मार्ट ड्राइभिङ अनुभव प्रदान गर्न केन्द्रित छ भने भास्ट ओसियन प्लान अन्तर्राष्ट्रिय बजारमा कम्पनीको सशक्त उपस्थिति विस्तार गर्ने उद्देश्यले अघि बढाइएको हो । जसले केवल निर्यात मात्र गर्नुभन्दा पनि विश्वभर ब्राण्ड र सञ्चालन स्थापित गर्ने लक्ष्य राखेको छ। सन् २०२६ मार्चसम्म कम्पनीले पहिलोपटक १ महिनामा १ लाखभन्दा बढी सवारीसाधनहरू विदेशमा बिक्री गरिसकेको छ।

कम्पनीले सशक्त आधार सहित यो नयाँ चरणमा प्रवेश गरेको छ। सन् २०२५ मा चाङ्गानले २९ लाख १३ हजार सवारीसाधन बिक्री गरेको थियो । जुन अघिल्लो वर्षको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो। यसमध्ये ११ लाखभन्दा बढी विद्युतीय सवारी रहेका छन्।

हाल कम्पनी ११८ देशमा १,१०० भन्दा बढी आउटलेटमार्फत सक्रिय छ । देशबाहिर २२ वटा कारखाना संचालनमा छन् । विश्वभर २४ हजार सदस्य भएको रिसर्च टोलीले करिब २१ हजार पेटेन्टहरू दर्ता गरिसकेको छ ।


Back_to_top