काठमाडौं । चिनियाँ स्टार्टअप लीपमोटरले आफ्ना सी सिरिजका एयसूभीहरु अब ८०० भोल्ट आर्किटेक्चरमा उत्पादन हुने भएका छन् ।
कम्पनीले सी सिरिज एसयूभीहरुलाई ४०० भोल्ट आर्किटेक्चर प्लेटफर्मबाट ८०० भोल्ट आर्किटेक्चरमा स्तरोन्नति गर्ने भएको हो । जसले एकपटकको फुलचार्जमा ६६० किलोमिटरसम्म रेनज दिन्छ ।
कम्पनीले अर्को साता (जुन १६)मा सी सिरिजका अपडेटेड मोडलहरु सी १०, सी ११, र सी १६ लन्च गर्ने तयारी गरेको छ । कम्पनीले सोमबारदेखि चीनमा तीन वटै एसयूभीको प्रिबुकिङ समेत खुलाएको छ । यद्यपि, अपडेटेड मोडलहरुको आधिकारिक मूल्य भने तोकेको छैन ।
यो वर्ष लीपमोटरको कुल बिक्रीमा सी सिरिजको हिस्सा ४३ प्रतिशत छ । बिक्रीको मजबुत वृद्धिलाई निरन्तरता दिने उद्देश्यका साथ कम्पनीले सबै मोडेलमा व्यापाक सुधार गरेर बजारमा ल्याउन लागेको हो ।
कम्पनीले नयाँ मोडेलहरूमा ८००–भोल्टको उच्च भोल्टेज प्रणालीसँगै उन्नत ‘स्मार्ट ड्राइभिङ प्रणाली’ लाई आधारभूत रूपमा समावेश गरेका छ । यी गाडीहरूमा उच्च क्षमताको लाइडार र क्वालकम ८६५० नामक आधुनिक प्रविधिको चिप जडान गरिएका छन् । यिनले गाडी पार्क गर्ने एक स्थानदेखि अर्को स्थानसम्म चल्ने नेभिगेट अन–अटोपाइलट प्रणालीलाई सहयोग गर्नेछन्।
क्याबिनलाई उत्कृष्ट बनाउन नयाँ कारहरूमा क्वालकम ८२९५ पी चिप र १७.३ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन राखिएको छ। अगाडिको पङ्क्तिमा भेन्टिलेसन, हिटेड र मसाज सिट जडान गरिएको छ ।
कम्पनीले सी सिरिजमा एसयूभीको मोटर पावर बढाएर अधिकतम २३० किलोवाटसम्म पुर्याएको छ । साथै, यी एसयूभीहरुमा एआई सपोर्ट गर्ने स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली जडान गरिएको छ । जसले ब्याट्री अत्यधिक तात्तिएर समस्या आएको ४८ घण्टासम्म पनि गाडीमा आगो लाग्न नदिने सुनिश्चित गर्दछ।
परिमार्जित सी १० र सी १६ दुवैको लम्बाइ १० मिलिमिटरले बढाइएको छ । सी १० र सी ११ दुवै ५ सिट भएका मोडेल हुन् भने सी १६ मा ५ र ६ सिटमा उपलब्ध छ ।
सांग्रिला मोटर्सले लीपमोटरको सी सिरिजको सी १० नेपालमा पनि बिक्री गरिरहेको छ । चीनमा बिक्री सुरू भएसँगै कम्पनीले नयाँ सी १० नेपालमा पनि ल्याउने छ ।


