काठमाडौं । नेपालको भौगोलिक अवस्थाको कारण पीकअप किन्ने धेरै मानिस भेटिन्छन् । पेट्रोलियम पदार्थबाट चल्ने पीकअपमा अहिले पनि धेरै विकल्प उपलब्ध भए पनि इलेक्ट्रीक पीकअपमा ३ वटा विकल्प मात्रै छन् ।
अहिले नेपालमा इलेक्ट्रीक पीकअप सेग्मेन्ट लिडर रिडारा ब्राण्डको आरडी सिक्स इकोन हो । सीजी मोटर्सले बिक्री गर्ने रिडारा पीकअप फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ ।
त्यसैगरी, म्यमक्ससको इलेक्ट्रीक पीकअप पनि विगत ढेड वर्षदेखि नेपालमा बिक्री हुँदै आएको छ । हिमालयन मोट्रक्सले आधिकारिक बिक्रेताको रूपमा नेपाल ल्याएर बिक्री गर्दै आएको म्याक्सस ई टेरेन नाइन पनि दुई भेरियन्टमा किन्न पाइन्छ ।
ठ्याक्कै म्याक्सस ई टेरेन नाइन कै फिचर भएको एमजी यू-९ पनि नेपाली बजारमा प्रवेश गरेको छ । एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याएको यू नाइन पीकअप पनि २ भेरियन्टमा नै उपलब्ध छ ।
अब छिट्टै नेपालको पीकअपको बजार निर्माणमा टोयोटा हाइलक्स ईभी पनि प्रवेश गर्ने तयारीमा छ । टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले नेपाल ल्याउन लागेको हाइलक्सको नेपाल आउने स्कपेकको बारेमा कुनै जानकारी बाहिर आएको छैन ।
रिडारा इकोन पीकअप
सबैभन्दा कम मूल्यमा पाइने फोर ह्वील ड्राइभ पीकअप इकोन हो । यसको मूल्य ७५ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

यसमा २८० किलोवाट क्षमताको मोटर छ । जसले ४८५ न्यूटन मिटर पीकटर्क उत्पादन गर्छ । यसमा २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
इकोन पीकअपलाई फोर ह्वील ड्राइभ सिस्टमसँगै इको, कम्फर्ट, स्पोट्र्स, स्याण्ड, मड र स्नो मध्ये आवश्यकता अनुसार छानेर चलाउन सकिन्छ । यो पीकअपले १ हजार २३५ किलोग्रामसम्मको लोड बोक्न सक्छ । यसले ३ हजार किलोग्राम तान्ने क्षमता राख्छ ।
रिडारा इकोनमा ७३ किलोवाट आवर क्षमताको एलएफपी (लिथियम आइरन फोस्फेट) ब्याट्री छ । जसको एनईडीसी रेन्ज ३९० किलोमिटर हो । यसले ९० किलोवाटको डीसी चार्जर सपोर्ट गर्छ ।
आधुनिक फिचरको लामो लिस्ट उपलब्ध पीकअपमा ५४० डिग्री सराउण्ड भ्यू क्यामेरा दिइएको छ ।
म्याक्सस ई-टेरेन नाइन
म्याक्ससको पीकअप दुई भेरियन्टमा उपलब्ध छ । कम्फर्ट र प्रिमियम भेरियन्ट किन्न पाइन्छ । कम्फर्ट भेरियन्टको मूल्य ८८ लाख र प्रिमियम भेरियन्टको मूल्य १ करोड २८ लाख रुपैयाँ तोकिएको छ ।

कम्फर्ट भेरियन्ट नयाँ आएको हो । प्रिमियम भेरियन्टमा भएको सनरुफ, मसाज सिट र एयर सस्पेन्सन कम्फर्ट भेरियन्टमा छैन । अन्य फिचर भने दुवै भेरियन्टमा एउटै पाउन सकिन्छ ।
म्याक्ससको पीकअपमा १०२.२ किलोवाट आवरको ब्याट्री छ । फोर ह्वील ड्राइभ सिस्टममा उपलब्ध ई टेरेन-९मा ३२५ किलोवाट क्षमताको मोटर र ७०० न्यूटन मिटर टर्क पाउन सकिन्छ । एनईडीसीका अनुसार यो पीकअपको रेन्ज सिंगल चार्जमा ५६० किलोमिटर छ ।
ई टेरेन नाइनले ११५ किलोवाट क्षमताको डीसी चार्जर सपोर्ट गर्छ । यसमा एडास भित्रका धेरै फिचर उपलब्ध छन् । साथै, युरो एनक्यापले गरेको क्र्यास टेस्टमा पनि यसले ५ स्टार सेफ्टी रेटिङ पाएको छ ।
पीकअपलाई सुरक्षीत बनाउन एडास लेभल टु, ३६० डिग्री क्यामेरा जस्ता फिचरहरू पनि यो पीकअपमा पाउन सकिन्छ ।
एमजी यू नाइन पीकअप
उच्च प्रदर्शन, अफरोड क्षमता र आधुनिक प्रविधि भएको एमजी यू-९ पीकअप अघिल्लो महिना मात्रै नेपालमा सार्वजनिक भएको हो । यसको पनि ‘लक्जरी’ र ‘फ्ल्यागसिप’ गरी दुई भेरियन्ट बिक्रीको लागि उपलब्ध छ । लक्जरी भेरियन्टको मूल्य ९८ लाख ९९ हजार र फ्ल्यागसिप भेरियन्टको मूल्य १ करोड १० लाख रुपैयाँ कायम गरिएको छ ।

फोर ह्वील ड्राइभ यू नाइन पीकअपमा ३२५ किलोवाटको मोटर छ । जसले ७०० एनएम टर्क उत्पादन गर्छ । यू नाइन र ई-टेरेन नाइन पीकअप लगभग सबै कन्फ्रिग्रेसन उस्तै भएका पीकअप हुन् ।
यसमा पनि पीकअपमा १०२.२ किलोवाटआवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । कम्पनीका अनुसार यसले डब्लूएलटीपी परीक्षणमा एकपटकको चार्जमा ४३० किलोमिटरसम्म रेन्ज दिन्छ ।
यू-९ मा एयर सस्पेन्सन, डबल विसबोन फ्रन्ट र मल्टिलिंक रियर सस्पेन्सनका साथै ९ फरक ड्राइभिङ मोड पाउन सकिन्छ । यसको क्याबिनमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रीन, १२.३ इन्चकै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, ८ स्पिकर, लेदर सिट पाउन सकिन्छ ।
टप भेरियन्टमा ड्राइभर सिटमा भेन्टिलेसन, मसाज र मेमोरी फङ्सनसमेत उपलब्ध छ ।
थपिँदै नयाँ प्रतिस्पर्धी
इलेक्ट्रीक पीकअप सेग्मेन्टमा टोयोटा हाइलक्स ईभी छिट्टै छपिने भएको छ । तर, कम्पनीले अहिलेसम्म नेपाल आउने हाइलक्स पीकअपको टेक्निकल डिटेल बाहिर ल्याएको छैन ।


