तादीमा एक्रो ब्रिज आज जडान गरिसकिने, परीक्षणपछि सवारी गुड्ने

काठमाडौं । नुवाकोटको विदुरस्थित देवीघाटमा रहेको तादी नदीमा ६० मिटर लामो एक्रो ब्रिज जडान कार्य तीव्र पारिएको छ। नेपाली सेनाको प्राविधिक टोलीले आइतबारदेखि काम सुरु गरेको पुल सम्भवतः आज जडान गरेर सकिने भएको हो ।

नेपाली सेनाका अनुसार पुल खोलामाथि वारपार जोडिसकिएको छ । अब माथिबाट डेकिङ (गाडी गुड्ने सतह) राख्न र केही भागमा डबल ट्रस राख्न बाँकी रहेको छ ।

साविककै पक्की पुलको दुवै छेउका टेका प्रयोग गरी नयाँ फलामे पुल निर्माण भइरहेको हो । पुल निर्माणमा सेनामा ५५ जनाको टोली खटिएको छ ।

यस पुल निर्माणका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा भौतिक सामग्री नेपाली सेनाले नै जुटाएको हो। पुलको निर्माण तथा जडान कार्य पनि नेपाली सेनाकै दक्ष प्राविधिक टोलीले गरिरहेको छ।

सेनाले दिनरात युद्धस्तरमा काम गरेर चार दिनमै पुल तयार पार्न लागेको हो । पुल निर्माण सम्पन्न भएपछि वारवहन परीक्षण गरेपछि मात्रै सवारी संचालनका लागि खुला गरिने छ ।

सेनाका अनुसार उक्त पुलको लम्बाइ ६० मिटर रहेको छ । ५.५ मिटर चौडाइको यो पुलको भारवहन क्षमता ५० टन रहेको छ ।

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले यहाँको पक्की पुल बगाएपछि गल्छी विदुर यातायात ठप्प बनेको छ । पुल बनेसँगै दुई सातादेखि अवरुद्ध यातायात सेवा पुनः संचालनमा आइने छ ।


Back_to_top