काठमाडौं । होन्डाले आफ्नो चर्चित ह्याचव्याक कार ज्याजको उत्पादन थाइल्याण्डमा बन्द गरेको छ । सन् २०१२ पछि निरन्तर यसको विक्रीमा गिरावट आएसँगै कम्पनीले ज्याजको उत्पादन बन्द गर्नु परेको जनाएको छ ।
सन् २००१ मा जापानमा फिट नाम दिएर उत्पादन सुरु भएको यो कारलाई दुई फरक नाम दिइएको छ । केही देशमा ज्याज र केही देशमा फिट नामबाट यसको विक्री हुँदै आएको थियो । नेपालमा ज्याज नामबाट विक्री हुँदै आएको छ ।
नेपालमा स्याकार ट्रेडिङले थाइल्याण्डबाट नै आयात गरेर यो कार विक्री गर्दै आएको थियो । अहिले नेपालमा ज्याज ३९ लाख ५० हजारदेखि ४९ लाख ५० हजारसम्मको मूल्य तोकेर विक्री हुँदै आएको थियो । म्यानुयल र सिभीटी गियरबक्समा उपलब्ध ज्याज निकै प्रिमियम ह्याचव्याकको रुपमा परिचित मोडल हो ।
‘स्मुथ, इफिसियन्ट र उच्च पर्फमेन्स’को कारण ज्याज विश्व बजारमा सफल मोडलको रुपमा स्थापित थियो । विश्वमा सेडान र ह्याचव्याकको बजारमा गिरावट आउनु र अन्य प्रतिस्पर्धी मोडलभन्दा महंगो मूल्य हुनु पनि ज्याजको विक्री कम हुनुको कारण मानिएको छ ।


