कम्प्याक्ट एसयूभी सेग्मेन्टमा नेपाल आयो ‘जोलीयन’, सोमबारबाट विक्री सुरु हुँदै

काठमाडौं । स्पोर्टस् यूटिलिटी भेहिकल (एसयूभी) सेग्मेन्ट अहिले विश्वमै सर्वाधिक सफल रहेको छ । नेपालमा पनि एसयूभीको विक्री हरेक वर्ष बढ्दै गएको तथ्यांकले देखाउँछ ।

महंगा एसयूभी मात्रै नेपाली बजारमा उपलब्ध रहेको समयमा फोर्डले इकोस्पोर्ट ल्याएर विक्री सुरु गरेसँगै मध्यम आय भएका मानिसको रोजाईमा यो सेग्मेन्ट पर्न सुरु भएको हो । अहिले ४ मिटरभन्दा छोटो र ४.५ मिटरभन्दा छोटो साइजका एसयूभी नेपालमा धेरै विक्री हुँदै आएका छन् । यी दुबै सेग्मेन्टको बजार लिडर भने हुन्डाई क्रेटा हो । क्रेटापछि मारुती सुजुकी ब्रेजा, किया सेल्टोस, हुन्डाई भेन्यू, फोर्ड इकोस्पोर्ट, किया सोनेट, टाटा नेक्सन, निसान म्याग्नाइट, महिन्द्रा एक्सयूभी ३००, एमजी जेडएस जस्ता मोडल बजारमा उपलब्ध रहेका छन् ।

माथि, उल्लेख भएका मोडल मध्ये हुन्डाई क्रेटा र किया सेल्टोस ४ मिटरभन्दा बढी लामो साइजमा उपलब्ध सफल एसयूभी हुन् । यी दुई गाडीलाई टक्कर दिन हावल ब्राण्डको जोलीयन एसयूभी नेपाल आएको छ । हुन्डाई र किया कोरियन ब्राण्ड हुन् भने हावल चिनीयाँ ब्राण्ड ग्रेटवालको सहायक कम्पनी हो ।

नेपाली बजारमा विशाल ग्रुप अन्तर्गतको भिजी इम्पेक्सले ल्याएको जोलीयन आगामी सोमबारबाट विक्री सुरु हुने जनाइएको छ । जोलीयनलाई कम्पनीले विभिन्न ३ भेरियन्टमा नेपाल ल्याएको छ । जोलीयन लो, जोलीयन हाई र जोलीयन हाई अटोमेटिक भेरियन्ट उपलब्ध रहने कम्पनीले जनाएको छ । यसको मूल्यको विषयमा अहिलेसम्म कम्पनीले कुनै जानकारी दिएको छैन । यद्यपी यो एसयूभी ५५ लाखदेखि सुरु हुने अनुमान गर्न सकिन्छ ।

जोलीयनमा १.५ लिटर क्षमताको टर्बो पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर र २२० एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल र ७ स्पीड डिसिटी गियरबक्सको अप्सन पाउन सकिन्छ ।

जोलीयनको ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, मल्टी फङ्सनल स्टेरिङ ह्वील, सिक्स वे एड्जस्टेवल ड्राइभिङ सिट, ४ स्पीकर, किलेस इन्ट्री, ७ इन्चको इन्ट्रुमेन्ट क्लष्टर, ड्यूल जोन एसी जस्ता फिचर उपलब्ध रहेको छ ।

साइजको कुरा गर्नु पर्दा जोलीयनको लम्बाई ४४७२ एमएम, चौडाई १८१४ एमएम र उचाई १६१९ एमएम रहेको छ । १७ र १८ इन्चको अलोय ह्वील, ६ एयरव्याग, हिल होल्ड कन्ट्रोल, एबीएस, इबीडी जस्ता फिचर समावेस रहेका छन् ।


Back_to_top