मिनी कार बजारको साख जोगाउँदै ‘केई इक्युट’

काठमाडौं । सस्तो मूल्य, छरितो र सहरका लागि उपयुक्त हुँदा हुँदै पनि नेपालमा मिनी ईभीप्रति खासै आकर्षण बढ्न सकेको देखिँदैैन ।

नेपाली कार बजारमा एसयूभी र ह्याचब्याकको दबदबा रहँदा मिनी ईभी ओझेलमा परेका हुन् । पछिल्लो समय झण्डै मिनीकारको मूल्यमा ह्याचब्याक आउन थालेको छ ।

मिनी ईभी आयातको हिस्सा वार्षिक कार आयातको १ प्रतिशतभन्दा पनि कम छ । कार बजारमा मिनी ईभीलाई आफ्नो अस्तित्व जोगाउनै हम्मे हम्मे परिरहेको बेला सीमित ब्राण्डले मात्रै बजारको साख जोगाउँदै आएको देखिन्छ ।

विगतमा एमजी र वुलिङ ब्राण्डका ईभीले मिनी कार बजारमा आफ्नो बलियो उपस्थिति देखाएका थिए । तर, पछिल्लो दुई वर्ष यता एउटै अर्थात केई ब्राण्डले मात्रै मिनी ईभी सेग्मेन्टमा बजारको साख जोगाएको छ । सन् २०२५ जनवरी यताको तथ्यांक हेर्दा मिनी कार भनेकै केई ब्राण्डको इक्युट ०२ र इक्युट ०४ मात्रै हुन जस्तो देखिएको छ ।

 

सन् २०२६ को साढे २ महिना (जनवरी १-मार्च १५)सम्म जम्मा २७ युनिट मिनी कार आयात भएको छ । यो कुल आयातको १.२६ प्रतिशत मात्रै हो ।

साढे २ महिनामा कुल २१४० युनिट कार आयात हुँदा मिनी ईभी केबल २७ युनिट मात्र आयात भएको छ । नेपाली बजारमा करिब १ दर्जन ब्राण्डका मिनी ईभी बिक्री भइरहे पनि सन् २०२६ मा भने ३ ब्राण्डका मात्रै आयात भएको छ । जसमा केई, बीएडब्लू र जिनपेङ ब्राण्डमा मिनी ईभी आयात भएका छन् ।

तथ्यांक अनुसार साढे २ महिनामा नेपालका लागि केईको आधिकारिक वितरक लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले २१ युनिट केई ईक्यूट ०२/०४ आयात गरेका छन् । केईका कार जनवरीमा एक युनिट पनि आयात भएको थिएन भने फेब्रुअरीमा ८ र मार्चको १५ दिनमा १३ युनिट आयात भएको छ ।

त्यस्तै, साढे २ महिनामा बीएडब्लूको ब्रम्बी ४ युनिट र जिनपेङको लिङबक्स २ युनिट आयात भएको छ । यो वर्ष महिन्द, एमजी, वुलिङ, चांगन, हेनरी, हाउजी लगायत ब्राण्डको एक युनिट पनि आयात भएको छैन ।

सन् २०२५ मा कुल ३७६ युनिट मिनी ईभी आयात भएको थियो । जसको झण्डै आधा अर्थात १६१ युनिट केई ब्राण्डकै आयात भएको थियो ।

आकर्षक मूल्य, तुलनात्मक रूपमा ठूलो साइज, धेरै रेन्ज, सर्भिसिङ सुविधा लगायतले उपभोक्ता केई ब्राण्डका ईभीमा आकर्षित भएको देखिन्छ ।

कस्ता छन् केई इक्युट 

लक्ष्मी ई मोबिलिटी र जीओ अटोमोबाइल्सले नेपालमा केईका दुई मोडल इक्युट ०२ र ०४ बिक्री गर्दै आएका छन् । यी दुवै कारमा ४० किलोवाट क्षमताको मोटर छ । ब्याट्री भने फरक छ । इक्युट ०२ मा २०.८ किलोवाट आवर र इक्युट ०४ मा यसमा २८.०८ किलोवाट आवरको ब्याट्री छ । सानो ब्याट्रीले एकपटकको फुलचार्जमा २०० किलोमिटर र ठूलो ब्याट्रीले ३०० किलोमिटरको रेन्ज दिने कम्पनीको दाबी छ ।

साइजमा भने इक्युट ठूलो छ । इक्युट ०२ को लम्बाइ ३३४५ एमएम, चौडाइ १६८५ एमएम र उचाइ १६०५ एमएम छ । यसमा २१५० एमएमको ह्वीलबेस छ । त्यस्तै, इक्युट ०४ को लम्बाइ ३७२० एमएम, चौडाइ १७०० एमएम र उचाइ १६०८ एमएम छ ।यसमा २५२० एमएम लामो ह्वीलबेस छ ।

इक्युट ०२ को मूल्य २० लाख ९६ हजार र इक्युट ०४ को २४ लाख ९६ हजार रुपैयाँ छ । इक्युटमा फ्रन्ट फेसियामा दिइएको हकआई डिजाइनको एलईडी हेडलाइट, फ्लस डोर ह्याण्डल र पछाडि एरोडाइनामिक टेलविङ दिइएको छ ।

इक्युट ०२ को इन्टेरियरमा १०.२५ इन्चको फ्लोटिङ सेन्टर कन्ट्रोल स्क्रीन र ७ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर छ । सेग्मेन्ट फस्ट ३६० डीग्री क्यामरा, कोलुम सिफ्ट गियर सेलेक्टर, ४ वटा हाइफाई स्टेरियो स्पीकर, एयर कन्डिसन, पुस बटम स्टार्ट, टुस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील छ ।

इक्यूटमा इको प्लस, इको, नर्मल, र स्पोट्र्स गरी चार ड्राइभिङ मोडहरू उपलब्ध छ । इक्युट ०२ मा डुअल एयरब्याग, हील असिस्ट कन्ट्रोल, आइसोफिक्स चाइल्ड सिट एन्कर, रियर पार्किङ सेन्सर, ३६० डिग्री क्यामेरा छ ।

इक्युट ०४ को ग्राउण्ड क्लियरेन्स १६५ एमएम छ । इक्युटमा २३७ लिटरको बुट स्पेश पाउन सकिन्छ ।

केई इक्युट ०४ मा ३६० डिग्री क्यामेरा छ । अगाडि दुई एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, अगाडि र पछाडि नै दिइएको पार्किङ सेन्सर, एबीएस, ईएसपी, ईबीडी, डीसीएस र ट्रयाक्सन कन्ट्रोल यसमा पाउन सकिन्छ ।

इक्युट ०४ मा ६ वे म्यानुअल एड्जस्टेबल ड्राइभर सिट, ६ वटा स्पीकर, स्पोट्स र इकनोमिक ड्राइभिङ मोड पाउन सकिन्छ ।केई इक्युट ०४ मा ६.७ इन्चको एलसीडी टचस्क्रीन, ६.७ इन्चकै ड्राइभर इन्फर्मेसन डिस्प्ले, स्टेरिङ कोलुममा दिइएको गियर सिफ्टर, मल्टिफङ्सनल स्टेरिङ ह्वील पाउन सकिन्छ ।


Back_to_top