काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको छ । निगमले बुधबार बिहानदेखि लागू अहुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १२४ रुपैयाँ बढाएको हो ।
निगमका अनुसार मूल्य आन्तरिकतर्फ हवाई इन्धनको नयाँ मूल्य प्रतिलिटर २५१ रुपैयाँ पुगेको छ । यसअघि प्रतिलिटर १२७ रुपैयाँ थियो ।
त्यस्तै अन्तर्राष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर ८१९ अमेरिकी डलर मूल्य बढाएको छ । यसअघि काठमाडौंमा प्रति किलोलिटर ९६६ अमेरिकी डलर रहेकामा नयाँ समायोजनअनुसार १ हजार ७८५ डलर पुगेको छ ।
त्यस्तै पोखरामा यसअघि प्रतिकिलो लिटर ८०१ डलर रहेकामा बढेर १ हजार ७३२ डलर र भैरहवामा ७८९ डलर रहेकोमा १ हजार ७१६ डलर पुगेको छ ।
डिजेल, पेट्रोल र खाना पकाउने ग्यासको मूल्य उच्च बढे आए पनि निगमले हाल बढाएको छैन । निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर १३३.४५ रुपैयाँ, पेट्रोलमा ४७.१२ रुपैयाँ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ४१६.३७ रुपैयाँ घाटा रहेको छ । मूल्य नबढाउँदा आगामी १५ दिनमा निगमलाई १३ अर्ब २१ करोड घाटा हुने जनाएको छ ।


