कलंकी-बसुन्धारा सडक विस्तार अघि बढ्दै, चीनसँग भयो सम्झौता

काठमाडौं । चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलंकी-बसुन्धारा सडक विस्तारका लागि चीनसँग सम्झौता भएको छ ।

बुधबार भौतिक पूर्वाधार तथा यातायात, शहरी विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंग बीच सहायता सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो ।

यससँगै लामो समयदेखि अन्योलमा रहेको कलंकी-बसुन्धारा सडक विस्तारको बाटो खुलेको हो । सम्झौता अनुसार ८.२ किलोमिटर लामो यो सडक (पुलसहित) चीन सरकारले अनुदानमा बनाइदिनेछ । चीनले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउने मन्त्रालयले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख (उपनिर्देशक) अर्जुनप्रसाद अर्यालले सम्झौता भएसँगै अब चिनियाँ पक्षले सडकको डिजाइन र डीपीआर विभागमा पेश गर्ने बताए । डिजाइनमा केही सुधार गर्नुपर्ने देखिएमा विभागले सुझाव दिने र केही नदेखिए स्वीकृत गर्ने उनले बताए ।

चिनियाँ पक्षले हालसम्म निर्माण मोडलको बारेमा कुनै जानकारी नदिएको उनले बताए । चिनियाँ पक्ष सम्पर्कमा आएपछि यसबारे थाहा हुने उनले बताए । उनका अनुसार चीनले यो सडक निर्माण गर्न ईपीसी मोडलमा ठेक्का लगाएको भए कम्पनी छनोट भइसकेको हुन्छ । डिजाइन स्वीकृत भएको केही दिनमै काम सुरू हुनेछ । अरू नै मोडलमा ठेक्का लगाउने भए नयाँ टेन्डर आह्वान गरी कम्पनी छनोट गर्नुपर्छ । त्यसोगर्दा काम सुरू हुन एक/डेढ महिना लाग्ने उनले बताए । टेन्डर सम्बन्धी सबै काम चीनले नै गर्नेछ ।

‘दुई पक्ष बीच सम्झौता भएसँगै चक्रपथ दोस्रोखण्ड विस्तारको प्रक्रिया अघि बढेको छ । अब चिनियाँ परामर्शदाताले सडकको डिजाइन विभागमा पेश गर्छ । विभागले अध्ययन गरी स्वीकृत गर्छ,’ उनले मेरोअटोसँग भने, ‘चीनले हालसम्म कुन मोडलमा काम गर्ने जानकारी दिएको छैन । सम्पर्कमा आएपछि थाहा हुन्छ । ईपीसी मोडलमा काम गर्ने भए कम्पनी छनोट भइसकेको हुन्छ । अरू नै मोडलमा गर्ने भए नयाँ टेन्डर प्रक्रिया सुरू गर्छन् ।’

यसअघि २०८१ भदौ ६ गते चीन र नेपाल बीच चक्रपथ दोस्रोखण्ड विस्ताको प्रारम्भिक सम्झौता भएको थियो । त्यसपछि २०८२ वैशाखमा चिनियाँ प्राविधिक टोली नेपाल आइ २ महिना लगाएर उक्त सडकको डिजाइन तयार गरेको थियो । चिनियाँ कम्पनी सीसीसीसी फर्स्ट हाइवे कन्सल्ट्यान्ट्स कम्पनीले आयोजनाको डीपीआर तयार गरेको थियो ।

दोस्रो खण्डको डिजाइनमा कोटेश्वर-कलंकी खण्डमा देखिएका त्रुटि सच्याइएको बताइएको छ । चीनले बनाएको डिजाइन अनुसार कलंकी-बसुन्धरा सडकको कुल चौडाइ ६२ मिटर फराकिलो हुनेछ । जसमा सर्भिसलेनसहित ८ लेनको सडक, फुटपाथ, मिडियन, ग्रिन बेल्ट रहने छ । त्यस्तै, ढुंगेधारामा एउटा पक्की पुल र सीतापाइला, बालाजु र बसुन्धारा प्रहरी चौकीको बीचमा आकाशे पुल बनाइनेछ ।

२०८२ फागुन १२ गतेको मन्त्रिपरिषद् बैठकले चक्रपथ दोस्रोखण्ड निर्माणमा लाग्ने सबै किसिमका कर छुट दिने निर्णय गरेको थियो ।

यसअघि चक्रपथ पहिलोखण्ड अन्तर्गत कोटेश्वर-कलंकी १०.३९ किमी सडक ८ लेनमा विस्तार गरिसकिएको छ । उक्त सडक २०६९ मा ठेक्का लगाई २०७५ मा सम्पन्न भएको थियो ।

तेस्रोखण्ड अन्तर्गत महाराजगन्ज-चप्पल कारखाना ७०० मिटर सडक नेपाल सरकराले आफ्नै लगानीमा निर्माण गरिसकेको छ । चप्पल कारखाना-धोवीखोला खण्डको ठेक्का लगाउने तयारी भइहरेको छ । चाबहिल-कोटेश्वर खण्डको भने कुनै ठोस योजना अघि बढेको छैन ।


Back_to_top