काठमाडौं-हेटौँडा जोड्ने छोटा तीन सकड : दुई अन्तिम चरणमा, अर्कोमा धमाधम काम

काठमाडौं । संघीय राजधानी काठमाडौं र बागमती प्रदेशको राजधानी हेटौंडा जोड्ने ५ मुख्य सडक संचालनमा छन् । काठमाडौं-मुग्लिन-हेटौंडा (२२६ किमी), काठमाडौं-पालुङ-हेटौंडा (१३६ किमी), काठमाडौं-सिस्नेरी-हेटौंडा (९५ किमी), काठमाडौं-फाखेल-हेटौंडा (८५ किमी) र टिकाभैरव-हेटौंडा (कान्ति राजमार्ग ७९ किमी)मा हाल सवारी साधन गुडिरहेका छन् ।

यी सडक हुँदै हाल यात्रा गर्न ३ देखि ८ घण्टासम्म लाग्छ । यात्रा अवधि छोट्याइ सहज आवत जावतका लागि हाल पालुङ-हेटौंडा बाहेक अरू चार सकड स्तरोन्नतिको क्रममा छन् । तीमध्ये सबैभन्दा छोटा कान्ति लोकपथ, काठमाडौं-फाखेल-कुलेखानी, काठमाडौं-सिस्नेरी-कुलेखानी सडको यहाँ चर्चा गरिएको छ ।

अन्तिम चरणमा दुई सडक

प्रदेश सरकारले निर्माण गरिरहेका कुलेखानी-फाखेल-काठमाडौँ र कुलेखानी-सिस्नेरी-काठमाडौँ दुवै सडक निमार्ण अन्तिम चरणमा पुगेका छन् । यद्यपि, यी दुई सडकको दुईतिहाई बढी खण्ड एउटै रहेको छ । यी सडक फर्पिङदेखि कुलेखानीसम्म मात्रै अलग-अलग ठाउँबाट गएका छ । अन्यत्र भने सडक एउटै हो । जसमा काठमाडौं-फर्पिङ, कुलेखानी-हेटौंडा खण्ड यसअघि नै स्तरोन्नति भइसकेको छ ।

हाल कुलेखानी-सिस्नेरी १९.९२ किमी सडकलाई दुई प्याकेज (काठमाडौं ७.७६९ किमी र मकवानपुर १२.१५८ किमी)मा  ठेक्का लगाइएको छ । यसको कुल लागत ४१ करोड ९१ लाख रुपैयाँमा छ ।

मकवानपुर खण्डको काम गत वर्ष सम्पन्न भइसकेको छ । काठमाडौंतर्फको काम अन्तिम चरणमा पुगेको आयोजनाका इन्जिनियर समुन्द्र रोक्काले जानकारी दिए ।

उनका अनुसार ७.७६ किमी सडको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । अब सल्लेनी डाँडा, माइतीखोला लगायत स्थानमा करिब १ किमी मात्रै कालोपत्र गर्न बाँकी छ । कालोपत्र सकिएको स्थानमा हाल रङरोगन लगायत काम सुरू भइसकेको उनले बताए ।  यसखण्डको बाँकी सबै काम माघ मसान्त भित्रै सक्ने लक्ष्य रहेको उनले बताए ।

‘कुलेखानी-सिस्नेरी-काठमाडौं सडक दुई खण्डमा ठेक्का लगाइ स्तरोन्नति भइरहेको छ । मकवानपुर खण्डको काम गत वर्षै सम्पन्न भइसक्यो । काठमाडौं खण्डको अन्तिम चरणमा पुगेको छ । माघ मसान्तसम्म सकिन्छ,’ उनले मेरोअटोसँग भने ।

प्रदेश सरकारले प्रदेश मार्ग अन्तर्गत स्तरोन्नति गरिरहेको कुलेखानी-फाखेल-काठमाडौँ सडकको काम पनि अन्तिम चरणमा पुगेको छ । कलंकी-फाखेल-हुमाने १२.६ किमी सडकको भौतिक प्रगति ९९ प्रतिशत पुगेको आयोजनाका सब इन्जिनियर बलराम यादवले जानकारी दिए ।

‘निर्माणको सबै काम सकिसक्यो । भौतिक प्रगति ९९ प्रतिशत पुग्यो । थोरै ठाउँमा मात्रै रङरोगन बाँकी छ । केही दिनमै सकिन्छ,’ उनले मेरोअटोसँग भने । २ वर्ष भित्र निर्माण सक्ने गरी २०८० साउनमा ठेक्का सम्झौता भएको थियो । पछिल्लो पटक थपिएको म्याद यही पुस मसान्त भित्र सकिँदै छ । याे सडक ८.२० मिटर फराकिलाे बनाइएकाे छ ।  ८.५० किलोमिटर सडकमा कालोपत्र र ४ किलोमिटरमा ढलान गरिएको छ । यसको लागत ३५ करोड ४८ लाख ८८ हजार ९१६ रुपैयाँ रहेको छ ।

यही खण्डको महालक्ष्मी स्थानमा छुट्टै ठेक्का मार्फत आर्क ब्रिज निर्माण भइरहेको छ । ४ करोड लागतमा १५ मिटर लामो आर्क ब्रिज बनिरहेको हो । हाल पुल निर्माणको काम ८० प्रतिशत सकिएकाले फागुनसम्म सम्पन्न हुने सबइन्जिनियर यादवले बताए ।

काठमाडौं-हेटौंडा सडकको ठेक्का लागेका बाहेक बाढीले क्षति पुर्याएका र बाँकी रहेका भागहरूमा नयाँ ठेक्का प्रक्रिया सुरू गर्नुपर्ने अवस्था रहेको पूर्वाधार विकास कार्यालय मकवानपुरले जनाएको छ ।

धमाधम स्तरोन्नति हुँदै कान्ति लोकपथ

कान्ति राजमार्ग हाल संचालनमा रहेका मध्ये काठमाडौंलाई तराईसँग जोड्ने सबैभन्दा छोटो दूरीको सडक हो । कान्ति राजमार्गको वि.सं. २०१३ सालमा राजा महेन्द्रले नेपाली सेना प्रयोग गरेर ट्रयाक खोल्न सुरू गराएका थिए भने २०१६ सालमा ट्रयाक खोलिएको थियो ।

ट्रयाक खोलिएको साढे ५ दशकसम्म यो राजमार्ग सरकारको प्राथमिकतामै परेको थिएन । काठमाडौ-हेटौँडा जोड्ने छोटो दुरीको यो मार्गलाई वैकल्पिक रूपमा विकास गर्न २०५९ मा कोरियाली सरकारको सहयोगमा विस्तृत परियोजना प्रस्ताव तयार गरिएको थियो ।

यो मार्गलाई सरकारले आव २०६५/६६ देखि कान्ति लोकपथ सडक योजना स्थापना गरी स्तरोन्नति सुरू गरेको थियो । तर, आव २०७२/७३ पछि मात्रै सडकको स्तरोन्नतिले तीव्रता पाएको थियो । दुईलेनको कान्ति लोकपथको करिब २ किमी सडक अझै १ लेनकै छ ।

हाल केन्द्र सरकारले १ अर्ब ६० लगानीमा चार प्याकेजमा ठेक्का लगाइ स्तरोन्नतिको काम भइरहेको छ । आयोजनका सूचना अधिकारी उपेन्द्र महरानका अनुसार सडक सुधार, पहिरो नियन्त्रण र पुल निर्माण गर्न छुट्टाछुट्टै चार ठेक्का लगाइएको छ ।

‘कान्ति लोकपथमा पहिलाको केही काम बाँकी थियो । त्योसहित सडक थप चौडा, मोड सुधार, पहिरो नियन्त्रण र पुल निर्माण गर्न ४ प्याकेजमा गत वर्ष नयाँ ठेक्का लगाइएको छ । अहिले चारै ठेक्का अन्तर्गत धमाधम काम भइरहेको छ,’ उनले मेरोअटोसँग भने ।

उनका अनुसार ललितपुरको टीकाभैवरदेखि बगुवासम्म २० किलोमिटर सडक स्तरोन्नतिको ठेक्का कन्काई-ब्राइट मल्टी-दिव्य ज्योति जेभीले ९१ करोड ८४ लाख रुपैयाँमा पाएको छ । यस खण्डको पुरानो कालोपत्र हुन बाँकी ४ किमी र ६ स्थानमा मोड सुधारका लागि ठेक्का लगाइएको हो । यस प्याकेजको भौतिक प्रगति २० प्रतिशत पुगेको उनले जानकारी दिए ।  यो खण्डको काम २०८४ जेठ २० गतेसम्म सक्नुपर्नेछ ।

त्यस्तै, टीकाभैवर-बगुवा खण्ड अन्तर्गत भैँसेखोला, बिर्खेखोला र तीनपानेमा पहिरो नियन्त्रणका लागि छुट्टै ठेक्का लगाइएको छ । यसको ठेक्का न्यू टेक्निकल इन्फ्रा प्रालिले २१ करोड ४८ लाख रुपैयाँमा पाएको छ । पहिरो नियन्त्रणको काम १२ प्रतिशत सकिएको उनले बताए ।

त्यस्तै, सडक स्तरोन्नति अन्तर्गत बगुवा-हेटौंडा बुद्धचोकसम्मको ५० किमिमा पनि ठेक्का भएर काम भइरहेको सूचना अधिकारी महरानले बताए । टार्खुचे-ठिंगन ६ किमी र साँघुरो रहेको विभिन्न ठाउँमा फराकिलो बनाउन १८ करोडमा ठेक्का लगाइएको हो ।

त्यस्तै, चुच्चेखोला-ठिंगन सडक स्तरोन्नति तथा पुननिर्माण गर्न २८ करोड ६६ लाख रुपैयाँमा ठेक्का लगाइएको छ । यसको काम २०८३ मंसिर १८ गतेसम्म सम्पन्न गर्नुपर्छ । हालसम्म भौतिक प्रगति १७ प्रतिशत पुगेको सूचना अधिकारी महरानले बताए । हेटौंडा क्षेत्रमा फूटपाथ निर्माण सकिएको छ।

‘बगुवा-बुद्धचोकको विभिन्न स्थानमा साँघुरो छ । ती स्थानहरूमा मोड कटान, रिटेनिङ वाल लगाई दुई लेनको बनाउने गरी ठेक्का लगाइएको छ,’ उनले भने, ‘हाल धमाधम काम भइरहेको छ । भौतिक प्रगति ३० प्रतिशत पुगेको छ ।’ यसको ठेक्का रेड अर्थ-प्रकाश ताराजेभीले १८ करोड १ लाख रुपैयाँमा पाएको छ । यसको काम डेढ वर्ष (२०८३ कात्तिक १८ गते) भित्र सक्नुपर्नेछ ।

२०८१ असोजमा आएको बाढीले बगाएको पुल निर्माणका लागि छुट्टै ठेक्का लगाइएको छ । पुलको ठेक्का केएम इन्जिनियर्स बिल्डर्सले १८ करोड रुपैयाँमा असार २०८४ मा सक्ने गरी लिएको छ । पुल निर्माणको काम हालै सुरू भएको महरानले जानकारी दिए ।

त्यस्तै, बगुवा र घट्टेपाखामा पहिरो नियन्त्रणका लागि चालु आवमा छुट्टै ठेक्का लगाउने तयारी भइरहेको उनले बताए । यसको डीपीआर र ईआइए स्वीकृति भइसकेकाले चाँडै ठेक्का आह्वान गरिने उनको भनाइ छ । पहिरो निन्त्रणका लागि चालु आवमा २५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

ट्रयाक खुलेको ६६ वर्ष पुगे पनि सरकारले अझै यस सडकमा सार्वजनिक यातायात संचालनका लागि बाटो अनुमति दिइएको छैन । यद्यपि, बाटो अनुमति बिनै वर्षौंदेखि सवारी संचालन हुँदै आएको छ ।


Back_to_top