अघि बढ्यो इलामका क्षतिग्रस्त सडक र पुलकाे पुनर्निर्माण प्रक्रिया, डिजाइन सुरू

फाइल तस्बिर ।

काठमाडौं । गत असोजमा आएको बाढीपहिरोले क्षतिग्रस्त इलामका विभिन्न सडक तथा पुलको पुनर्निमार्ण प्रक्रिया अघि बढेको छ ।

संघीय सरकारको अर्थ मन्त्रालयले क्षतिग्रस्त सडक पुननिर्माणका लागि २ अर्ब १९ करोड रुपैयाँ स्रोत सुनिश्चित गरेसँगै पुनर्निमार्णको काम सुरू गरिएको हो ।

बाढीले इलामका मेची राजमार्ग, मेची करिडोर, फिक्कल-अन्तु, इलाम-फिक्कल-पशुपतिनगर, इलाम-बिर्तामोड लगायत मुख्य सडकमा ठूलो क्षति पुर्याएको थियो । तीमध्ये स्रोत सुनिश्चित भएका मेची माजमार्ग र मेची करिडोरको पुनर्निर्माण प्रक्रिया अघि बढाइएको सडक डिभिजन इलामका सूचना अधिकारी अर्जुन घिमिरेले जानकारी दिए ।

उनका अनुसार सबैभन्दा क्षतिग्रस्त मेची राजमार्गको सर्वे सकी डिजाइनको काम सुरू गरिएको बताए । यस सडकको करिब १५ किमी क्षेत्र पुनर्निमण गर्नुपर्ने अवस्था रहेको उनले बताए । सो खण्डमा १०० बढी स्थानमा ठूला-साना पहिरो गएको छ । मिलगोलाइ र बन्चरे दुवै ठाउँमा करिब ३०/४० मिटर नयाँ ट्रयाक खोल्नुपर्ने अवस्था रहेको उनले बताए ।

‘मेची राजमार्गको करिब १५ किमी सडक क्षतिग्रस्त छ । १०० बढी स्थानमा पहिरो गएको छ । दुई ठाउँमा गरी ७०/८० मिटर सडक नयाँ ट्रयाक निर्माण गर्नुपर्नेछ,’ उनले मेरोअटोसँग भने, ‘अहिले सर्भे सकी परामर्शदाताले डिजाइनको काम गरिरहेको छ ।  डिजाइनको काम एक हप्ता जतिमा सकिन्छ होला । त्यसपछि सडक विभाग, विज्ञहरूसँग रायसुझाव लिई डिजाइन फाइनल गर्छौं ।  सम्भवतः दुई/तीन साता भित्रै ठेक्का आह्वान गरिन्छ ।’

क्षतिग्रस्त सडकको पुनर्निमाणको ठेक्का लगाइ चालु आव भित्रै काम सुरू गरिने उनले बताए ।  त्यस्तै, मेची राजमार्ग अन्तर्गत जोगमाइखोला र पुवा खोलामा छुट्टै ठेक्कामार्फत बेलिब्रिज जडान गर्न लागिएको उनले बताए । दुवै पुलको लागि ५/५ करोड रुपैयाँ स्रोत सुनिश्चित भइसकेको छ । मेचीराजमार्ग इलाम, पाँचथर र ताप्लेजुङको ‘लाइफ लाइन’ सडक समेत हो ।

त्यसैगरी, मेची करिडोर अन्तर्गत करिब ४ किलोमिटर क्षेत्रमा पुनर्निमार्ण गर्नुपर्ने उनले बताए । यस सडकका लागि १४ करोड रुपैयाँ स्रोत सहमति पाएको छ । यसखण्डको पनि डिजाइनको काम सुरू भएको उनले जानकारी दिए ।  यस करिडोरको ठेक्का लागेको खण्डमा भने ठेकेदारमार्फत नै पुनर्निर्माणको काम हुने उनले बताए ।

त्यसैगरी, फिक्कल-अन्तु सडकको २ किमी खण्ड पुनर्निमार्ण गर्नुपर्नेछ । यसको विभिन्न क्षेत्रमा पहिरो गएको छ । यसको स्रोत सुनिश्चित भइनसकेकाले तत्काल नयाँ टेन्डर आह्वान नगरिने उनले बताए । डिभिजनको क्षेत्रमा नपर्ने अन्य सडकहरू प्रदेश र स्थानीय तहले मर्मत तथा पुनर्निर्माण गरिरहेका छन् ।

 कुनले कति पाए स्रोत सहमति ?

अर्थ मन्त्रालयले इलामका क्षतिग्रस्त सडकको मर्मत तथा पुनर्निर्माणका २ अर्ब १९ करोड रुपैयाँ स्रोत सहमति दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पेश गरेको  कार्यक्रममा अर्थ मन्त्रालयले गत साता स्रोत सहमति प्रदान गरेको हो ।

क्षति भएका मेची राजमार्ग, माइखोला पुल राजदुवाली, माइखोला पुल बेलवासे, पुवाखोला पुल, जोगमाईखोला पुल, मेची करिडोरको मर्मत तथा पुनर्निर्माणमा स्रोत सहमति दिएको हो ।

मेची राजमार्गको पुनर्निर्माणका लागि १ अर्ब ५० करोड रुपैयाँ स्रोत सहमति पाएको छ । त्यस्तै, अर्थले मेची राजमार्ग अन्तर्गतकै माइखोला मोटरेबल स्थायी पुल राजदुवालीका लागि २० करोड, पुवाखोला र जोगमाइखोला पुलमा बेलीब्रिज निर्माण गर्न ५/५ करोड रुपैयाँ स्रोत सहमति दिएको छ ।

मेची राजमार्गको वैकल्पिक सडकको रूपमा रहेको मेची करिडोरका लागि १४ करोड रुपैयाँको स्रोत सुनिश्चिता प्रदान गरिएको छ । साथै, मेची करिडोरकै माइखोलामा मोटरेवल स्थायी पुल बेलासेका लागि २५ करोड रुपैयाँ स्रोत सहमति दिइएको छ ।

सोमध्ये मेची राजमार्गका लागि २५ करोड, माइखोला राजदुवाली पुल ५ करोड, बेलासे पुल १० करोड, मेची करिडोरका लागि ४ करोड रुपैयाँ, पुवाखोला र जोगमाइखोला बेलिब्रिजका लागि ५/५ करोड रुपैयाँ निकासा समेत भइसकेकाे छ ।


Back_to_top