डोनट ल्याबले ल्यायो ५ मिनेटमै चार्ज हुने ब्याट्री, चार्जिङ लाइफ १ लाख साइकल

काठमाडौं । ब्याट्री इनोभेसनको क्षेत्रमा ठूल्ठूला खोज र अनुसन्धान चलिरहेको छ । पछिल्लो वर्षहरूमा अटोमोबाइल क्षेत्रको भविष्य परिवर्तन गर्ने ब्याट्री टेक्नोलोजी ‘सोलिड स्टेट’ हुने मानिँदै आइएको छ ।

डोनट ल्याबले तयारी अवस्थाको सोलिड स्टेट ब्याट्री ईसीएस २०२६ मा प्रदर्शनी गरेसँगै संसारभर यसको चर्चा सुरू भएको छ । डोनट ल्याब ब्याट्री उत्पादक हो । उसले यसअघि बनाएको लिथियम ब्याट्री अहिले भर्ज इलेक्ट्रीक मोटरसाइकलमा प्रयोग हुँदै आएको थियो ।

कम्पनीले अल सोलिड स्टेट ब्याट्री सार्वजनिक गर्दै उत्पादन पनि सुरू भएको जनाएको छ । कम्पनीले भनेको छ, ‘सोलिड स्टेड ब्याट्री सेलहरू र मोड्युलहरूको उत्पादन सुरू भएको छ । यसको प्रयोग पनि भर्जको टीएस प्रो मोडलमा पहिले हुनेछ । सन् २०२६ को तेस्रो त्रैमासबाट पूर्ण सोलिड स्टेट ब्याट्रीमा भर्ज टीएस आउने छ ।’

कम्पनीका अनुसार अल न्यू सोलिड स्टेट ब्याट्री तौलमा हलुका, उच्च इनर्जी डेनसिटी, सुरक्षित, तीव्र्र गतिमा चार्ज गर्न सकिने र लिथियम आयन ब्याट्रीको तुलनामा धेरै रेन्ज प्रदान गर्न सक्षम हुनेछन् ।

डोनट ल्याबका अनुसार यसको इनर्जी डेनसिटी ४०० वाट आवर/किलोग्राम छ । जुन अहिले प्रयोगमा रहेको एनसीएम ब्याट्रीको भन्दा दोब्बर धेरै हो । यसलाई ५ मिनेटमा १०० प्रतिशत चार्ज गर्न सकिने छ । जबकि यसको चार्जिङ साइकल १ लाख पटक गर्न मिल्नेछ ।

यस बाहेक तापक्रमको कारण पर्ने प्रभाव पनि सोलिड स्टेड ब्याट्रीमा न्यून प्रायः हुनेछ । डोनटका अनुसार माइनस ३० डिग्री सेल्सियस र तातोमा १०० डिग्री सेल्सियसमा पनि यसले आफ्नो पूर्ण क्षमताको ९९ प्रतिशत काम गर्ने दाबी गरेको छ ।

अल सोलिड स्टेट ब्याट्रीको अर्को महत्वपूर्ण पक्ष जहाँ सुकै बनाउन सकिने र कुनै पनि अवस्थामा आगलागी नहुनु हो । यसको निर्माणमा प्रयोग भएका केमीकलको विषयमा कम्पनीले जानकारी नदिएपनि १०० प्रतिशत ग्रीन र क्लिन मेटेरियलबाट बन्ने जनाएको छ ।

अहिले प्रयोग भएको ५० किलोवाट आवर क्षमताको लिथियम आयन फस्फेट ब्याट्रीले ३५० किलोमिटर हाराहारी रेन्ज दिन्छ । यदि, यही साइजको अल सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने हो भने रेन्ज बढेर ६०० किलोमिटर माथि पुग्नेछ ।


Back_to_top