कावासाकीले ल्याउने भयो १७५ सीसीको मोटरसाइकल, नेपाल ल्याउन कम्पनीहरु प्रतिस्पर्धामा

काठमाडौं । कावासाकीले १७५ सीसी क्षमताको इन्जिनमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने जनाएको छ । पछिल्लो समय ठूला मोटरसाइकल मात्र निर्माणमा केन्द्रित रहेको कम्पनीले अब १७५ सीसी सेग्मेन्टमा मोटरसाइकल ल्याउने भएको हो ।

कम्पनीले रेट्रो क्लासिक डिजाइनमा उक्त मोटरसाइकल निर्माण गर्ने जनाएको छ । सन् २०२१ मा यसको बिक्री सुरु हुने अनुमान गरिएको छ । रेट्रो क्लासिक सेग्मेन्टमा रोयल इन्फिल्ड, बेनेली, जावा र हालै होन्डाले समेत मोटरसाइकल ल्याएको छ ।

एशियन मार्केटका अन्य केहि देशमा यो मोटरसाइकल हाल बिक्री भइरहेको छ भने, अब यो मोटरसाइकल भारत प्रबेश गर्ने भएको हो ।
नेपालमा समेत पछिल्लो समय रेट्रो क्लासिक डिजाइनमा मोटरसाइकल तथा स्कुटर भित्रन थालेका छन् । सन् २००० ताका नेपालमा कावासाकीका मोटरसाइकल बिक्री हुने गरेको थियो । पछिल्लो समय कम्पनीले ठूला र महंगा मोटरसाइकल मात्रै उत्पादन गर्न थालेसँगै नेपालमा यसको बिक्री रोकिएको थियो । साना र कम मूल्यमा नै आउने मोटरसाइकल बनाउ थालेसँगै केही व्यवसायीक घराना यो मोटरसाइकल नेपाल ल्याउन लागेका छन् ।

यो मोटरसाइकलमा १७७ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, एसओएचसी इन्जिन रहेको छ । यो इन्जिनले १३ बीएच पावर तथा १३.२ एनएम टर्क जेनेरेट गर्छ । इन्डोनेशिया र थाइल्याण्डमा बिक्री हुने मोडलमा कार्बुरेटर इन्जिन रहेको छ भने भारतमा सार्वजनिक हुने मोडलमा एफआई इन्जिन हुनेछ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको अनुमानित मूल्य १ लाख ४० हजार भारतीय रुपैयाँ रहेको छ । भारतमा रहेको कावासाकीको आरएण्डडी सेन्टरमा बन्ने दोस्रो मोडलको रुपमा बजारमा आउने छ ।


Back_to_top