काठमाडौं । चिनियाँ ब्राण्ड किवेले नयाँ केही मोडल नेपालमा ल्याउने भएको छ । किवेको आधिकारीक विक्रेता केटीएम इन्टरनेशनल ट्रेडिङ कम्पनीले केही नयाँ मोडल नेपाल ल्याउने तयारी गरेको हो ।
कम्पनी स्रोतका अनुसार १५० सीसी क्षमतासम्मका केही मोडल चाँडै नेपाली बजारमा आउने छन् भने, त्योभन्दा ठूलो क्षमताका मोटरसाइकल आयात प्रतिबन्ध हटेपछि मात्रै नेपाल आउने छन् ।
किवेले केही दिनअघि मात्रै भारतीय बजारमा सार्वजनिक गरेको रेट्रो डिजाइन एसआर १२५ र इन्टमोट २०२२ मा देखाएको एमबीपी एफ १२५ नेकेड स्ट्रीट डिजाइन भएको मोटरसाइकल नेपाल आउन सक्नेछ ।
किवेको रेट्रो डिजाइन एसआर १२५ मोटरसाइकलमा १२५ सीसी क्षेमताको एयर कुल्ड, एफआई इन्जिन उपलब्ध रहेको छ । यो इन्जिनले अधिकतम १० पीएस पावर र ८.२ एनएम टर्क प्रदान गर्छ ।
तर, इन्टरमोटमा देखाएको इमवीपी १२५ मोडल भने निकै पावरफुल रहेको छ । १२५ सीसी क्षेमताको नै इन्जिन भएपनि यसको पावर निकै बढी छ । यसले अधिकतम १५.२ पीएस पावर र १०.८५ एनएम टर्क प्रदान गर्छ ।
किवे एसआर १२५ मा अगाडि ३०० एमएम र पछाडि २१० एमएमको डिस्क ब्रेक उपलब्ध छ । कम्बी ब्रेकिङ सिस्टम, अगाडि टेलिस्कोपीक फर्क र पछाडि ड्यूल शक एब्जर्बस दिइएको छ । यसमा १७ इन्चको स्पोक ह्वील पाउन सकिन्छ ।
‘एमबीपी एफ १२५’ निकै बोल्ड डिजाइनमा देखिएको छ । यसको इन्धन ट्याङ्की निकै मस्कुलर छ भने गोल्डन कलरको फ्रन्ट सस्पेन्सनले आक्रमक देखिएको छ । किवेले यसको सिट पनि निकै आकर्षक ढाँगले दिएको देखिन्छ ।
सम्भवत यी दुबै मोडल चाँडै नेपाली बजारमा उपलब्ध हुनेछन् ।


