नाडा अटो शो २०१९ः दुई मोडलले अवलोनकर्ता तान्ने दाउमा किया

काठमाडौं । किया मोटर्सको नेपालको लागि आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले यस पटकको नाडा अटो शोमा आफ्ना दुई मोडललाई विशेष प्राथमिकताका साथ प्रदर्शनी गर्ने भएको छ । कम्पनीले यस वर्षको अटो शोमा किया निरो र अल न्यु स्पोर्टेजलाई प्रदर्शनी गर्ने भएको हो । 

साउन लागेसँगै कम्पनीले किया निरो ल्याएर बिक्री वितरण सुरु गरेको छ । पुरै कन्टिनेन्टल्स टिम निरोको डेलिभरीमा व्यस्त भएका कारण नाडा अटो शोको तयारी केही ढिलो भएको कम्पनीले जनाएको छ । 

‘नाडा अटो शोको तयारीमा हामी जुटेका छौं, यस पटकको अटो शोमा हामी स्पोर्टेज र निरोलाई विशेष प्राथमिकता दिएर प्रर्दशनी गर्नेछौं’ कम्पनीका असिस्टेन्ट जनरल मेनेजर अनिश लामिछानेले भने ।

लामिछानेका अनुसार अटो शोमा स्पेशल केही गर्न सकिन्छ कि भनेर वर्कआउट भइरहेको र अबको केही दिनमा त्यसको टुङ्गो लाग्ने छ । 

निरोबाट उत्साहित

कम्पनीले साउन पहिलो हप्ताबाट बिक्री सुरु गरेको निरो अहिलेसम्म ६० यूनिट डेलिभरी भएको लामिछानेले जानकारी दिए । 

‘जुन हिसावले ग्रहकले मनपराएर निरोमा लगानी गर्नु भएको छ, त्यसले ग्रहकलाई संन्तुष्ट गर्नेछ’ एजीएम लामिछानेले भने ।

किया सोलको लामो समयसम्म बिक्री गर्दा १०० भन्दा केही बढीमात्र यूनिट बिक्री गर्न सकेको र निरो केही दिनमा नै ६० यूनिट डेलिभरी हुनुले कम्पनी नयाँ मोडल प्रति निकै अशावादी देखिएको छ ।

त्यही आशाकै आधारमा कम्पनीले २५० यूनिट निरो बुकिङ गरेको बुझिएको छ । 

किया निरोमा ६४ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिएको छ । यसमा रहेको १५० किलोवाटको इलेक्ट्रीक मोटरले २०१ बीएचपी पावर र ३९५ एनएम टर्क उत्पादन गर्छ । यो कारले ७.८ सेकेन्डमा शून्यबाट १०० किलोमिटरको गती तय गर्न सक्ने दाबी कम्पनीको छ  । 

अगाडिको ग्रिलमा कम्बाइन चार्चिङ सिस्टम दिइएको यो इलेक्ट्रीक एसयूभी डिसी फास्टचार्जरबाट ८० प्रतिशत चार्ज गर्न ७५ मिनेट लाग्ने छ । साथै, एक पटकको फुलचार्जमा उक्त गाडीले ४८० किलोमिटर माइलेज दिनेछ । किया निरोको मूल्य ६६ लाख ९० हजार रुपैयाँ कायम गरेको छ ।

स्पोर्टेजले तान्ला

किया  स्पोर्टेजको ‘जीटी लाइन’ भेरियन्टलाई कम्पनीले १० महिनाअघि नेपाली बजारमा ल्याएको हो । मीड साइज एसयूभीको रुपमा नेपाली सडकमा विगत दुई दशकदेखि गुड्दै आएको स्पोर्टेजको चौथो संस्करणको फेसलिफ्ट स्पोर्टेज जीटी लाइन मोडल साँच्चै लोभलाग्दो स्टाइलीस लुक्स र फुल्ली लोडेड फिचरहरुको साथमा आएको छ । 

किया स्पोर्टेज एसयूभी नेपाली बजारमा पेट्रोल र डिजल दुवै इन्जिन अफ्सनमा उपलब्ध रहेको छ । २.० लिटरको सिआरडीआई  डिजल इन्जिनमा रहेको स्पोर्टेज जीटी लाइनमा ८ स्पीडको अटोमेटिक ट्रास्मिसन दिइएको छ ।

त्यस्तै २।० लिटरको पेट्रोल इन्जिन अप्सनमा उपलब्ध स्पोर्टेज ६ स्पीडको म्यानुयल ट्रास्मिसनसहित आएको छ । फुल्ली लोडेड जीटी लाइनको नेपाली बजारमा मूल्य १ करोड १० लाख ९० हजार रुपैयाँ रहेको छ । 

पेट्रोल इन्जिनमा टु ह्वील ड्राइभ अप्सन स्पोर्टेजको मूल्य ६९ लाख ९० हजार रुपैयाँ र फोर ह्वील ड्राइभ डिजलको मूल्य ८६ लाख ९० हजार रुपैयाँ रहेको छ ।  


Back_to_top