१९ दिनपछि नेपालमा सार्वजनिक हुँदै सुजुकी जिक्सर २५०

काठमाडौं । सुजुकी टुह्वीलर्सको लागि नेपालको आधिकारीक वितरक सुजुकी भीजीले भदौ १० गते आफ्नो नयाँ मोडल सुजुकी जिक्सर २५० सार्वजनिक गर्ने भएको छ । 

कम्पनीले दुई महिना अघि भारतीय बजारमा सार्वजनिक भएको जिक्सर २५० एसएफ मोडललाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो । 

कम्पनीले भारतीय बजारलाई ध्यानमा राख्दै उत्पादन गरेको यो मोडल नेकेड र एसएफ दुबै भर्सनमा उपलब्ध हुने जनाएको छ । तर, अहिले कम्पनीले आगामी नाडा अटो शो २०१९ मा एसएफ भर्सन सार्ववजनिक गर्ने तयारी गरेको हो । 

सुरक्षालाई मध्यनजर गर्दै जिक्सर २५०मा डूअल च्यानल स्टायडर्ड एबीएसको विशेषता समेटिएको छ । यसमा उपलब्ध २४९ सीसी सिगंल सिलिन्डर एसओएचसी इन्जिनले ९ हजार आरपीएममा २६.५ बीएच पावरका साथै ७५ सय आरपीएममा २२.६ एनएम टर्क उत्पादन गर्छ । साथै, यसको इन्जिनमा ६ स्पीड ट्रान्समिसन लगाइएको छ । मोटरसाइकलमा फ्युल इन्जेक्शन प्रणाली (एफआई) दिइएको कम्पनीले जनाएको छ । 

यसको लम्बाई २०१० एमएम, चौडाई ७४० एमएम र उचाई १०३५ एमएम रहेको छ । यसको सिटको उचाई ८ सय एमएम रहेको छ । कम्पनीले यसको फ्रन्टमा टेलिस्कोपिक फर्क दिएको छ भने रियरमा मनोसक लगाइएको छ । यसको फ्रन्ट र रियरमा डिस्क ब्रेक दिएको कम्पनीले जनाएको छ । 

कुल तौल १६१ किलोग्राम रहेको यस मोटरसाइकलमा १२ लिटर इन्धन अट्ने फ्युल ट्यांकी लगाइएको छ । यसले यामाहा फेजरसँग सिधा प्रतिस्पर्धा गर्ने आँकलन गरिएको छ । 

जिक्सर एसएफको मूल्य करिब ४ लाख ५० हजार रुपयाँ पर्ने अनुमान गरिएको छ ।


Back_to_top