कियाले बनायो नयाँ रेकर्ड, नेपालमा पनि मार्‍यो छलाङ

काठमाडौं । कोरियन कम्पनी हुन्डाई मोटर ग्रुपको स्वामित्वमा रहेको कियाले भारतमा नयाँ रेकर्ड बनाएको छ । भारतीय बजारमा प्रवेश गरेको ३ वर्षभन्दा कम समयमा नै ५ लाख यूनिट सवारीसाधन विक्री गरेर कियाले नयाँ रेकर्ड बनाएको हो । कम्पनीले भारतमा ४ लाख र भारत बाहिर निर्यात १ लाख यूनिट पुरा गरेको हो ।

सन् २०१९ अगस्ट २२ मा कियाले भारतमा आफ्नो पहिलो उत्पादन सेल्टोस सार्वजनिक गरेको थियो । भारतमा हुन्डाई क्रेटा त्यसअघि नै चर्चित र सर्वाधिक विक्री हुने कम्प्याक्ट एसयूभीको रूपमा परिचित थियो । क्रेटाकै इन्जिन, प्लेटफर्म र धेरै ‘पार्टस् सेयरिङ’मा तयार भएको सेल्टोस सुरूआती दिनदेखि नै किनै सफल भयो ।

कियाले सन् २०१९ बाट भारतमा प्रवेश गरे पनि चुनौती भने धेरै झेल्नु परेको थियो । विश्वव्यापी स्वास्थ संकटको कारण कयौं महिना उत्पादन बन्द गर्नु परे पनि उसले आफ्नो उत्पादन, बजारीकरण र सर्भिस सबै क्षेत्रमा उत्तिकै मिहिनेत गरेको देखिन्छ ।

कियाले भारतमा हरेक वर्ष एउटा नयाँ मोडल बजारमा ल्याएको छ । सन् २०१९ सेल्टोस, २०२० मा सोनेट र २०२१ मा कारेन्स मोडल भारतमा उत्पादन भए । यी सबै मोडल बजारको माग र अपेक्षामा खरो उत्रेकै कारण कियाले सन् २०२१ मा २ लाख ५० हजार यूनिट कार विक्री गर्न सफल भएको थियो ।

सन् २०२२ पनि कियाको लागि निकै राम्रो देखिएको छ । चालु वर्षको ६ महिनामा नै अघिल्लो वर्षको ७५ प्रतिशत बराबर करिब १ लाख ७५ हजार यूनिट गाडी विक्री गरिसकेको छ । यसले कियाको लोकप्रियतालाई झल्काउँछ । बढ्दो एसयूभी क्रेजको फाइदा लिन कियाले भारतमा सबै मोडल एसयूभी मात्रै उत्पादन र विक्री वितरण गर्दै आएको छ । अहिले भारतमा कियाको बजार हिस्सा ७ प्रतिशतभन्दा माथि रहेको छ ।

नेपालमा झन् फाइदा

कियाको आधिकारीक विक्रेता कन्टिनेन्नटल ट्रेडिङले कोरियाबाट आयात गरेर गाडी विक्री गर्दै आएको थियो । किया स्पोर्टेज, रियो, सोरेन्टो, सोल, पिकान्टो जस्ता मोडलको भरमा बजारमा टिकेको कन्टिनेन्टलले भारतीय उत्पादन नेपाल ल्याएसँगै पुनर्जन्म पाएको हो ।

भारतमा उत्पादन भएका सेल्टोस, सोनेट र इलेक्ट्रीक निरोको कारण सन् २०२० होस् वा २०२१ कियालाई बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सहयोग पुग्यो । कियाले नयाँ भारतीय मोडल आएसँगै नेपालमा नेटवर्क विस्तार गर्यो । विस्तारित नेटवर्क र प्रतिस्पर्धी मोडलका कारण किया नेपालमा तेस्रो धेरै प्यासेन्जर कार विक्री गर्ने ब्राण्ड बनेको छ । चालु वर्षमा भने किया चौथो स्थानमा रहेको देखिन्छ ।


Back_to_top