काठमाडौं । निसान म्याग्नाइट र रेनो काइगर सब फोर मिटर एसयूभी सेग्मेन्टमा आएका दुई नयाँ गाडी हुन् । निसान म्याग्नाइट नेपाल आउने पक्का भइसकेको छ भने रेनो काइगर ४ दिनपछि भारतमा विक्री सुरु हुँदैछ । संभवत अप्रिल अन्तिमसम्ममा काइगर पनि नेपाल आउने छ ।
विश्वभर एलायन्स गरेर गाडी उत्पादन गर्दै आएका निसान र रेनोका भारतमा उत्पादन भएका पछिल्ला दुई सब फोर मिटर एसयूभी बीचको प्रतिस्पर्धा निकै रोचक हुने अनुमान गरिएको छ । लगभग समान मूल्य रहने यी दुई गाडीमा बजारमा कसले बाजी मार्छ त्यो भने हेर्न नै बााकी रहेको छ ।
निसान म्याग्नाइट नेपालमा २९ लाख ४४ हजार सरुवाती मूल्यबाटै आउँदै छ । संभवत रेनो काइगर त्योभन्दा केहि हजार सस्तो मूल्य राखेर नेपाल आउन सक्छ ।
यसअघि पनि निसान र रेनोले उस्तै किसिमका उत्पादन ल्याएर प्रतिस्पर्धा गरेकै हुन् । रेनो डस्टरबाट प्रेरित भएर निसानले ल्याएको टेरानो बजारमा ल्याएको थियो । अहिले रेनोले म्याग्नाइटबाट प्रेरित भएर काइगर ल्याएको जस्तो देखिन्छ ।

निसान म्याग्नाइट र रेनो किगर एउटै प्ल्याटफर्ममा बनेका एसयूभी हुन् । साथै, दुबै कारमा समान १.० थ्रि सिलिण्डर नेचुरल एस्पायर्ड र १.० टर्बो पेट्रोल इन्जिन अप्सन रहेका छन् । फरक यसको डिजाइन ल्याङ्वेज र फ्रन्ट फेसिकामा धेरै पाउन सकिन्छ । यस बाहेक दुबै एसयूभीमा लगभग समान फिचर पाउन सकिन्छ ।
त्यसैले तपाई कम मूल्यमा एसयूभी खोज्दै हुनुहुन्छ भने निसान म्याग्नाइट र रेनो काइगर तपाईको लागि सहि छनोट हुन सक्छ । तत्कालै तपाई गाडी किन्ने योजनामा हुनुहुन्छ भने निसान म्याग्नाइट फागुन ७ गतेबाट बजारमा उपलब्ध हुने छ भने, पछि किन्ने सोचमा हुनुहुन्छ भने काइगर पनि नेपाल आउने छ ।
दुबै मोडलमा लगभग उस्तै फिचर र एउटै इन्जिन रहेकाले गाडीको बनोट र मन पर्ने ब्राण्ड रोजेर तपाईले किन्न सक्नु हुनेछ । दुबै गाडी नेपाल आएपछि एउटा रोजेर किन्ने योजनामा हुनुहुन्छ भने तपाईले दुबै गाडीको टेस्ट ड्राइभ गर्नु पर्ने हुन्छ । टेस्ट ड्राइभपछि कुन किन्ने भन्ने विषय तपाई आफैँले छनोट गर्न सक्नु हुने छ ।


