नयाँ इलेक्ट्रीक कार छान्दा यी ११ कुरामा दिनुहोस् ध्यान

काठमाडौं । विद्युतीय कारको चर्चा निकै बढेको छ । सरकारले बिक्रम सम्बत २०८८ सालसम्ममा विद्युतीय कारको प्रयोग उच्च बनाउने घोषणा गरेसँगै विद्युतीय कार प्रति ग्राहकको आकर्षण बढ्न थालेको छ ।

नेपालमा विद्युत विकासमा भइरहेको लगानी, पेट्रोलियम पदार्थको बढ्दो मूल्य वृद्धि र सवारी साधनमा लाग्ने उच्च करबाट आजित भएका नागरिक सरकारले विद्युतीय कारमा सरकारले अन्तःशुल्क हटाएर भन्सार शुल्कमा पनि भारी कटौती गरेसँगै धेरैको ध्यान विद्युतीय कारतर्फ मोडिएको हो ।

अहिले धेरै मानिसमा कुन विद्युतीय कार आफ्नो लागि उपयुक्त हुन्छ भन्ने एकिन गर्न नसकी रहेको अवस्था छ । त्यसैले विद्युतीय कार किन्ने निर्णय गर्नु पहिला केही कुरामा विचार पुर्याउनु पर्ने देखिन्छ ।

१. मूल्यः सबैभन्दा पहिला आफुले कति रकम खर्च गरेर विद्युतीय कार किन्ने हो त्यो एकिन गर्नु पर्छ । तपाईले खर्च गर्ने रकममा बजारमा उपलब्ध कारको विषयमा जानकारी राखेर यदि तपाई कार किन्न निस्कनु भयो भने निरास बन्नु पर्दैन ।

अहिले बजारमा १८ लाखदेखि ७० लाख रुपैयाँसम्मका विद्युतीय कार उपलब्ध रहेका छन् । त्यसमा तपाईले आफ्नो बजेट अनुसारको उपयुक्त कार छनोट गर्न सक्नु हुन्छ ।

२. रेञ्जः तपाईले खर्च गर्ने रकममा फुल चार्जमा कति रेञ्ज प्रदान गर्ने गाडीहरु बजारमा उपलब्ध रहेका छन्, त्यसको खोजी गर्नु पर्छ । अहिले एक पटकको फुलचार्जमा १४० देखि ४५० किलोमिटर रेञ्ज प्रदान गर्ने गाडीहरु खरिद गर्न सकिन्छ ।

यदि तपाई सहरी क्षेत्रमा काम गर्नु हुन्छ र दैनिक ४० देखि ५० किलोमिटर दुरी यात्रा गर्नु हुन्छ भने तपाईको लागि १४० किलोमिटर रेञ्ज प्रदान गर्ने गाडी नै उपयुक्त हुन सक्छ । होइन तपाई लामो यात्रामा निस्कनु हुन्छ भने तपाईले ३०० देखि ४०० किलोमिटर रेञ्ज प्रदान गर्ने गाडी खरिद गर्नु उपयुक्त हुन्छ ।

३. सफ्टवेयर अपडेट सुविधाः विद्युतीय कार टेक्नोलोजीको उच्चतम प्रयोगबाट बनेका हुन्छन् । यसलाई धेरै हदसम्म आफ्नो स्मार्टफोनबाट निरिक्षण गर्न सक्ने भएकाले यसको सफ्टवेयर वेलाबखत अपग्रेड गर्नु पर्ने हुन्छ । तपाईले किन्ने ब्राण्डले नेपालमा त्यो सुविधा प्रदान गरेको छ वा छैन भन्ने एकिन गर्नु पर्छ ।

४. व्याट्री लाइफः तपाईले किन्ने गाडीमा प्रयोग भएको व्याट्री कति लाइफसाइकल चार्ज गर्न मिल्छ त्यो एकिन गर्नु पर्छ । व्याट्री चार्ज गर्ने साइकललाई त्यसको आयु मानिन्छ । कम्पनीले यति वर्ष टिक्छ भनेर बताएकै भरमा गाडी किन्ने निर्णय लिनु उपयुक्त हुँदैन । त्यसैले आफ्नो गाडीको चार्ज गर्न लाग्ने समय, चार्जिङ साइकल र व्याट्रीको आयुको विषयमा एकिन गर्नु पर्छ ।

५. चार्जिङ अप्सनः घरायसी सामान्य विजुलीदेखि डिसी फास्ट चार्जरसम्मले चार्ज गर्न मिल्ने छ वा छैन एकिन गर्नु पर्छ । साथै, केही कम्पनीले अर्को कम्पनीको चार्जिङ नेटवर्कमा जोड्न नमिल्ने पोर्ट दिएको हुन्छ । यस्तोमा चल्तिको पोर्ट प्रयोग भएको छ वा छैन एकिन गर्नु पर्ने हुन्छ ।

६. मर्मत खर्च र सर्भिस सेन्टरः गाडी किन्दा बुझ्न छुटाउनै नहुने विषय भनेकै मर्मत खर्च र सर्भिस सेन्टरको उपलब्धता हो । यदि राम्रो सर्भिस सेन्टर र स्पेयर पार्टस्को व्यवस्था नगरी कुनै कम्पनीले गाडी विक्री गरेको छ भने त्यस्तो गाडी किन्नु हुँदैन । पछि गाडीमा समस्या आउँदा निकै ठूलो सास्ती भोग्नु पर्ने हुन्छ ।

७. आरामदायीः गाडी किन्दा कतिको आरामदायी छ भन्ने एकिन गर्नु पर्छ । आफ्नो मिहिनेत र पसिनाले कमाएको रकम तिरेर किन्ने गाडी आफुलाई सजिलो अनुभुती भएन भने पछि पछुताउनु पर्ने हुन्छ । त्यसले गाडीमा हुनु पर्ने आवश्यक फिचर उपलब्ध छ वा छैन एकिन गर्नु पर्छ ।

८. व्याट्रीको प्रकारः अहिले पनि बजारमा लिड एसिड व्याट्री भएका कार पनि उपलब्ध छन् । यस्ता व्याट्री सुरक्षा र आयुका हिसावले पनि कमजोर हुन्छन् भने रेञ्जपनि कम मात्रै दिन्छन् । त्उसैले कम्तीमा पनि लिथियम आयोन व्याट्री भएको कार छनोट गर्नु उपयुक्त हुन्छ ।

९. पावर र टर्कः विद्युतीय कारको मुख्य विशेषता भनेकै पावर र टर्क हो । विद्युतीय गाडीले निरन्तर एउटै किसिमको पावर टर्क प्रदान गर्ने क्षमता राख्छन् । त्यसैले यसमा प्रयोग भएको मोटर र यसले प्रदान गर्ने टर्कको विषयमा जानकारी राख्नु पर्छ ।

१०. सुरक्षाः विद्युतीय कारमा प्रयोग भएको व्याट्री कति सुरक्षीत छ त्यसको विषयमा जानकारी लिनु पर्छ । विशेषगरी विद्युतीय गाडीको तल्लो भागमा व्याट्री दिइएको हुनाले नेपालका खाल्डा खुल्डी बाटोमा ढोक्किने संभावना धेरै रहन्छ । त्यसैले सम्भावित दुर्घटनाबाट बच्न गाडीको सुरक्षा फिचरको विषयमा जानकारी लिनु पर्छ । साथै, एबीएस, अन्य सुरक्षा फिचर र एयरव्याग जस्ता विषयमा जानकारी लिनु पर्छ ।

११. ब्राण्डः तपाईले खरिद गर्ने ब्राण्डको नेपालमा उपस्थिति कस्तो छ भन्ने विषयमा पनि ध्यान दिनु पर्छ । भोलि केहीगरी तपाईले त्यो कार रिकन्डिसनमा बेच्नु पर्दा कति मूल्य आउँछ भन्ने विषयलाई ब्राण्ड भ्यालुले निर्धारण गर्छ । त्यसैले चल्तिका ब्राण्ड छनोट गर्नु वुद्धिमानी हुन्छ ।

 


Back_to_top