काठमाडौं । चीनसँगको दोस्रो ठूलो व्यापारिक नाका तातोपानी १९ दिनपछि संचालनमा आएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२ इकुमा पहिरो खस्दा गत साउन १८ गतेदेखि बन्द भएको कोदारी राजमार्ग आज अपराह्न ४ बजेदेखि संचालनमा आएको हो । ।
उक्त स्थानको पहिरो पन्छाइ सडक संचालनमा ल्याइएको सडक विभागले जनाएको छ । सडक डिभिजन चरिकोटबाट खटिएको यन्त्र, उपकरण सहितको प्राविधिक टोली पहिरो पन्छाउन खटिएको थियो ।
सो स्थानमा नयाँ डिजाइन अनुसार काम गर्नुपर्ने भएकाले हाल पानी र पहिरो नियन्त्रणको काम समेत भइरहेको सडक विभागका महानिर्देशक डा. विजय जैसीले जानकारी दिए ।
पहाडी धरातल र लेदो बगिरहने गरेका कारण सो स्थानमा समय समयमा समस्या आउने गरेको छ । ग्याबिन पर्खाल लगायतका अन्य संरचनाहरुको निर्माण गरि सडक अवरुद्ध हुन नदिन प्राविधिक टोली क्रियाशिल रहेको जैसीले बताए । सो स्थानको पहिरो नियन्त्रणको दिगो समाधानका लागि विज्ञ सम्मिलित टोलीले अध्ययन समेत जारी राखेको सडक विभागले जनाएको छ ।
पहिलो चरणमा पहिरो पन्छाएर साना तथा हलुका सवारी साधन सञ्चालन गरिएको र बिहीबार अपह्रान्हदेखि ठूला सवारी साधनहरु समेत सञ्चालन हुन थालेको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौका प्रमुख शुभराज न्यौपानले जानकारी दिए ।
यातायात सहज रुपमा सञ्चालनका लागि प्राविधिक तथा उपकरणहरू अझै कार्यक्षेत्रमा नै परिचालित रहेको उनले जनाए ।
आउन थाले रोकिएका कन्टेनर
सडक खुलेसँगै रोकिएका कन्टेनरहरू तातोपानी भन्सारतर्फ आउन थालेका छन् ।
तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत राजेन्द्रप्रसाद चुडालले १९ दिनपछि सडक खुलेसँगै कन्टेनरहरू आउजाउ गर्न थालेको जानकारी दिए ।
उनका अनुसार साँझ ५ बजेसम्म १० वटा कन्टेनर भन्सार भन्सार यार्डमा आएका छन् । त्यस्तै, नेपालतर्फबाट पनि ८/१० कन्टेनर चीनतर्फ गएको उनले बताए ।
‘१९ दिनपछि सडक खुलेको छ । यो सुखद हो,’ उनले मेरोअटोसँग भने, ‘रोकिएका कन्टेनर आउजान गर्न थालेका छन् । ५ बजेसम्म ८/१० वटा कन्टेनर भन्सारमा आएका छन् भने ८/१० वटै चीनतर्फ गएका छन् ।’
सडक अस्थायी मर्मत गरी संचालनमा ल्याइकाले ढुक्क हुने अवस्था भने नरहेको उनले बताए । ‘अहिले पहिरो हटाएर खुलाइएको हो । फेरि पानी पर्ने बित्तिकै पहिरो खस्न सक्छ । ढुक्क हुने अवस्था भने छैन,’ उनले भने ।

