काठमाडौं । विकसित देशका सहरी क्षेत्रमा सार्वजनिक यातायातको रूपमा ‘मास ट्रान्जिट’ मोनो/मेट्रोरेल, सिटी बस लगायत संचालन गरिएको हुन्छ । बिडम्बना नेपालमा पर्याप्त मात्रमा ठूला र सुविधायुक्त बस समेत संचालन हुन सकेको छैन । नागरिकहरू साना सवारीमा कोचिएर/उभिएर कष्टकर यात्रा गर्न विवश छन् ।
सार्वजनिक सवारीमा राज्यकै वेवास्ता र हेलचक्र्याइँका कारण आमसर्वसाधरण बाध्यात्मक रूपमा निजी सवारीतर्फ आकर्षित भइरहेका छन् । जसकारण साँघुरा सडकमै वर्षेनी हजारौं संख्यामा निजी सवारी थपिरहेका छन् ।
साना सवारीको संख्या थपिरहँदा काठमाडौं उपत्यकामा सवारी व्यवस्थापन निकै जटिल र चुनौतीपूर्ण बन्दै गएको छ । ५/१० किलोमिटर दुरी यात्रा गर्न पनि घण्टौंसम्म लाग्ने गरेको छ ।
यद्यपि, पछिल्लो समय उपत्यकाका केही चोकमा जाम हटाउन विदेशका जस्तै आधुनिक सडक पूर्वाधर निर्माणको थालनी भएको छ । निर्वाध रूपमा सवारी आवतजावतका लागि अन्डरपास र ओभरपास/फ्लाइओभर निर्माण सुरू गरिएको छ ।
७ वर्षअघि कलंकीमा चीन सरकारले अण्डरपास निर्माण गरिदिएको थियो । गत असारदेखि ललितपुरको ग्वार्कोमा नेपालकै पहिलो ओभरपास संचालनमा ल्याइएको छ । यो ओभरपास भने सरकारले आफ्नै लगानीमा बनाएको हो । त्यस्तै, काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा आगामी पुसदेखि नेपालकै पहिलो सुरुङमार्ग संचालनमा ल्याउने तयारी छ । उक्त सुरुङको हाल ९३ प्रतिशत काम सम्पन्न भइसकेको छ ।

सरकारले उपत्यकाका सातदोबाटो, एकान्तकुना, नयाँबानेश्वर, कोटेश्वर लगायत धेरै जाम हुने स्थानमा फ्लाइओभर र अण्डरपास निर्माण गर्ने घोषणा गरेको वर्षौं बितिसकेको छ ।
यसैबीच, सरकारले काठमाडौं उपत्यकाकै सबैभन्दा धेरै ट्राफिक जाम हुने कोटेश्वरमा इन्टरसेक्सन सुधार आयोजना अघि बढाउने भएको छ । सरकारले जापान सरकारसँग ऋण लिएर कोटेश्वरको जाम हटाउने योजना अघि सारेको हो । गत भदौ २ गते बसेको मन्त्रिपरिषद् बैठकले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापानसँग ३४ अर्ब ४९ करोड येन (करिब ३० अर्ब ८ करोड रुपैयाँ) ऋण लिने सम्झौता गरेको छ ।
यससँगै उक्त आयोजना निर्माण हुने पक्का भएको छ । कोटेश्वरको जाम हटाउन तीननकुनेदेखि मनोहरा खोलासम्म समेटेर दुई वटा फ्लाओभर र एउटा सुरुङमार्ग निर्माण गरिने भएको हो ।
सडक विभागका उपमहानिर्देशक (प्रवक्ता) प्रभातकुमार झाले जापान सरकारसँग ऋण लिएर कोटेश्वरमा फ्लाइओभर र सुरुङ बनाउन लागिएको बताए । उनले जापानसँग ऋण सम्झौता गरेपछि आयोजनाको काम अघि बढाइने बताए । आगामी २ महिना (२०२५ सेम्टेम्बर)भित्रै जापानसँग ऋण सम्झौता भइसक्ने उनको भनाइ छ ।
‘सरकारले कोटेश्वर इन्टरसेक्सन सुधार आयोजनाका लागि जापानसँग ३० अर्ब ऋण लिने निर्णय गरेको छ,’ उनले मेरोअटोसँग भने, ‘अब आगामी सेप्टेम्बर भित्रै जापानसँग ऋण सम्झौता गर्ने तयारी छ । त्यसपछि काम अघि बढ्छ ।’ ऋण सम्झौता सन् २०२५ डिसेम्बरदेखि कार्यान्वयन हुने उनले बताए ।

जापानसँग ऋण सम्झौता भइसकेपछि परमर्शदाता नियुक्त गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र डिजाइको काम अघि बढाइने उनले बताए । सन् २०२६ को मे भित्र परामर्शदाता कम्पनी नियुक्त गरिने उनले बताए ।
‘सेप्टेम्बर भित्रै जापानसँग ऋण सम्झौता हुन्छ । त्यसपछि परमर्शदाता नियुक्त गरी डीपीआर र डिाइनको काम अघि बढ्छ,’ उनले भने । सन् २०२६ को जुनदेखि २०१७ मेसम्म आयोजनाको विस्तृत डिजाइन र टेन्डर प्रक्रियाको तयारी गरिने छ ।
सन् २०२७ को जुनसम्म आयोजना डिजाइन लगायत पूर्वकार्य सकी ग्लोबल टेन्डर आह्वान गरिने योजना रहेको उनको भनाइ छ ।
उक्त आयोजनाको अनुमानित लागत करित ३० अर्ब रहेको छ । ‘आयोजना निर्माणको गर्न कति खर्च हुन्छ भन्ने फाइनल डिजाइनपछि मात्रै थाहा हुन्छ,’ उनले भने, ‘तर, अहिले करिब ३०/३१ अर्ब लाग्ने देखिन्छ । २७/२८ अर्ब पूर्वाधार निर्माण, ३ अर्ब परामर्श र करिब ८५ करोड जति मुआब्जामा खर्च हुने देखिन्छ ।’
यस्तो बन्नेछ आयोजना
हाल जापानी सहयोग निकाय जाइकाले आयोजनाको पूर्वतयारी सर्वेक्षण (प्रिप्यारट्रि सर्भे) गरिसकेको छ । आयोजनाको डीपीआर र डिजाइनको काम बाँकी नै छ ।
जाइकाले विभिन्न विकल्पबारे अध्ययन गरेको थियो । तीमध्ये ‘अलाइन्मेन्ट टीके टुआर’ उपयुक्त भनि निष्कर्ष निकालेको छ । सो अनुसार तीनकुनेदेखि मनोहरा खोलासम्म १६०२ मिटर लामो फ्लाइओभर र सुरुङ बनाउने प्रस्ताव गरिएको छ । जसमा ९०२ मिटर लामो दुई वटा फ्लाइओभर र ७०० मिटर लामो सुरुङ निर्माण हुनेछ ।

तीनकुने चोक (शान्तिनगरतर्फबाट आउँदा)देखि त्रिभुवन विमानस्थलसम्म (मुनिभैरव मन्दिर माथिसम्म) ६६४ मिटर लामो फ्लाइओभर बनाइने छ । जसमा ४२० मिटर प्रेस्ट्रेस्ड कंक्रिट र २२४ मिटर स्टीलको संरचना निर्माण गरिने छ ।
उक्त फ्लाइओभरबाट आएका सवारी साधन सिधै जडिबुटी निस्कने गरी विमानस्थलको जमिन मुनि ७०० मिटर लामो सुरुङ निर्माण गरिने छ । त्यस्तै, त्रिभुवन विमानस्थलदेखि जडिबुटी हुँदै मनोहरा सम्म २३८ मिटरलामो स्टीलको फ्लाइओभर निर्माण गर्ने प्रस्ताव गरिएको छ ।
यी संरचना बनेपछि शान्तिनगर तर्फबाट आउने सवारी साधन तीनकुनेबाट फ्लाइओभर र सुरुङ हुँदै सिधै मनाेहरापुलमा निस्कने छन् । त्यस्तै, लोकन्थलीतर्फबाट आएका सवारी तीनकुने निस्कने छन् । चक्रपथतर्फबाट आएका सवारी साधन भने हालकै सडकमार्फत आवत जावत गर्ने छन् ।

त्यस्तै, पैदलयात्रीका लागि कोटेश्वरचोकमा तीनमुखे आकाशे पुल बनाइने छ ।
५ वर्ष लाग्ने
प्रवक्ता झाका अनुसार कोटेश्वर इन्टरसेक्सन आयोजनाको निर्माण सम्पन्न गर्न ५ वर्ष बढी लाग्नेछ । सन् २०२८ को अप्रिल भित्र ठेक्का सम्झौता गरी निर्माण थाल्ने र सन् २०३३ अगष्टमा सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।

