कोदारीको पहिरो पन्छाइयो, कहिलेबाट चल्छन् गाडी ?

काठमाडौं । अरनिको राजमार्ग अन्तर्गत कोदारीमा गएको पहिरो पन्छाइएको छ । हिजो साँझबाट गाडी आवतजावत गर्न सक्नेगरी पहिरो पन्छाइएको हो ।

चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी पुग्ने उक्त सडक खण्डमा अब बगाएको एउटा पुल हाल्नु पर्ने काम बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार फिल्डमा अहिले काम चलिरहेको छ । यही साताबाट नाका सुचारु गर्न सरोकारवाला निकायहरू लागिपरेका छन् ।

कोदारीको पहिरो हटेसँगै बीचमा रोकिएर बसेका सवारीसाधनको आवत जावत सुरू भएको छ । अब पुल निर्माणको काम सुरू भएको हो । अहिले खोलामा ड्राइभर्सन निर्माण गर्न ७ वटा ट्रिप्परसँगै जनशक्ति परिचालन गरिएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

तातोपानी भन्सार कार्यालयका प्रवक्ता सूर्यप्रसाद काफ्लेका अनुसार फलफूल, ड्राइफूड, लसुन लगायतका सामान भन्सार पास भएर आइसकेका छन् । यी सामानहरू बोकाएर ल्याइएको हो । नबिग्रने सामानहरू मात्रै अड्केर बसेका छन् ।

‘यदि कुनै ठूलो बाधा आएन भने कम्तीमा ४/५ दिनमा पूर्णरुपमा नाकाबाट गाडीको आवतजावत सुरू हुनेछ । धेरै सामानहरू बोकाएर भए पनि ल्याइएको कारण बाटो सुचारु हुनासाथ नेपाल आउने क्रममा रहेका विद्युतीय साधनहरू पनि आउने छन्,’ प्रवक्ता काफ्लेले भने ।

चाडपर्वमा बिक्री गर्न नेपाल आइरहेका विद्युतीय गाडी विगत २२ दिनदेखि चीनतर्फ नै रोकिएका छन् । असोज १० गतेदेखि १२ गतेसम्म परेको अविरल वर्षाले पहिरो जाने र पुलसमेत बगाउँदा नाकाबाट आवत जावत ठप्प भएको हो ।


Back_to_top