काठमाडौं । विद्युतीय कारको व्यापार बढ्दै जाँदा बिक्रेता कम्पनीहरूले साना विद्युतीय कारहरू एकपछि अर्को बजारमा ल्याउँदै आएका छन् ।
अझ टाटा टियागो र पन्च ईभीले पाएको बिक्री तथा नामी ह्याचब्याकको बुकिङका समाचारले धेरै गाडी बिक्रेतालाई साना गाडी ल्याउन प्रेरित गरेको देखिन्छ ।
नाडा अटो शोमा नै ब्रम्बी, एचइभी ३००, केई क्यूट ०२ जस्ता साना गाडी प्रदर्शनी भएका थिए । यसरी आएका गाडीले कति व्यापार गरे भन्ने एकिन विवरण आइसकेको छैन । तर, यी मिनी गाडीभन्दा केही ठूला फ्यामली ह्याचब्याक र साना एसयूभीहरू भने बजारमा धेरै खोजिने गाडी हुन् ।
बजार मागलाई ध्यानमा राख्दै विभिन्न कम्पनीले साना र सस्ता विद्युतीय गाडी बजारमा उतार्ने छन् । बीवाइडी, हुन्डाई, विलिङ र भीन फास्ट जस्ता ब्राण्डका साना कार नेपाल आउने अनुमान गर्न सकिन्छ । आउँदै गरेका कारहरूले सन् २०२५ मा नेपाली सडकमा कत्तिको बाक्लो उपस्थिति जनाउँछन्, त्यो थाहापाउन भने केही महिना कुर्नु पर्ने हुन्छ ।
बीवाइडी सिगल : बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले चर्चित ह्याचब्याक सिगल नेपाल ल्याउने तयारी गरेको छ । कम्पनीले सम्भव भएसम्म सन् २०२४ को अन्तिमसम्ममा नै सिगललाई बिक्री सुरू गर्ने योजना बनाइरहेको छ ।

विश्वभर सस्तो कारको रूपमा चर्चा कमाएको सिगलमा ३०.०८ र ३८.८८ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ । यसको सीएलटीसी रेन्ज ३०५ र ४०५ किलोमिटर रहेको छ । यसमा ४९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ ।
विलिङ विङ्गो प्लस : विलिङको विङ्गो एसयूभी चाँडै इन्डोनेशियामा उत्पादन सुरू हुँदैछ । अहिले विङ्गो मोडल ल्याएर पारामाउन्ट मोटर्सले बिक्री गर्दै आएको छ । यस्तोमा इन्डोनेशियामा लन्च हुने बित्तिकै विङ्गो क्रसओभर एसयूभी नेपाल आउने छ ।

सन् २०२५ को सुरूआतमै इन्डोनेशियामा बिक्री सुरू हुने विङ्गो प्लस मोडलमा ७५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसले अधिकतम १८० एनएम टर्क प्रदान गर्छ । ब्याट्री भने यसमा ५०.६ किलोवाट आवरको छ । यसले सिंगल चार्जमा ५१० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ ।
भीनफास्ट भी–थ्री : भियतनामी ब्राण्डको आधिकारिक वितरक पारामाउन्ट मोटर्स नियुक्त भइसकेको छ । भीनफास्ट कम्पनीले उत्पादन गर्ने भी–थ्री मोडल केही महिनापछि भारतीय प्लाण्टबाट उत्पादन हुने पहिलो मोडल हुनेछ ।

अहिले नै नेपाल ल्याउन सकिने अवस्था रहे पनि भारतमा उत्पादन भएको मोडल नै नेपाल ल्याउने तयारी कम्पनीले गरेको बुझिन्छ । त्यसैले सन् २०२५ मा भारतमा उत्पादन भएको भीनफास्ट भी–थ्री मोडल नै नेपाल आउने छ । भारतमा उत्पादन हुने भी–थ्रीको टेक्निकल डिटेल अहिलेसम्म बाहिर आएको छैन ।
हुन्डाई इन्स्टर : सानो साइज र फिचर लोडेड हुन्डाई इन्स्टर नेपाल आउने मोडल हो । कोरियमा उत्पादन हुँदै आएको इन्स्टर ईभी आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल ल्याउने छ ।

हुन्डाई आयोनिक-५ को लिगेसीलाई बोकेर हिडेको इन्स्टरमा दुई ब्याट्री अप्सन उपलब्ध छ । जसमा सानो ब्याट्री ४२ किलोवाट आवर र ठूलो ४९ किलोवाट आवरको ब्याट्रीमा छ । यी दुई ब्याट्रीले फुलचार्जमा क्रमशः ३०० र ३५५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
कुन ब्याट्री साइजमा नेपाल आउँछ भन्ने एकिन भएको छैन । हुन्डाईले इन्स्टर ईभीमा ब्याट्री जस्तै मोटर पनि दुई फरक साइजमा दिएको छ । जसमा ७१.१ किलोवाट र ८४.५ किलोवाट छ ।


