काठमाडौं । चिनियाँ न्यू इनर्जी अटोमोवाइल कम्पनी लिप मोटर्सको एसयूभी मोडल सी-१० नेपाल आउने भएको छ । नाडा अटो शो २०२४ मा प्रदर्शनी हुनेगरी सी-१० मोडल नेपाल आउने भएको हो ।
लिप मोटर्स ब्राण्ड नेपालमा कसले ल्याउने भन्ने टुङ्गो लागि सकेको छैन । यद्यपि, साँग्रिला मोटर्सको नामबाट स्टल भने बुकिङ रहेको छ । स्टेलान्टीस ग्रुपले अन्तर्राष्ट्रिय बजार हेर्ने जिम्मा लिएसँगै लिप नेपाल आउन लागेको हो ।
लिप मोटर्सले पहिलो पटक सन् २०२३ को सेप्टेम्बरमा म्युनिक मोटर शोमा देखाएको सी-१० मोडल यूरोप निर्यात सुरु भइसकेको छ । पाँच सिट क्षमताको उक्त एसयूभीको लम्बाई ४७३९ एमएम, चौडाई १९०० एमएम, उचाई १६८० एमएम छ । यसको साइजलाई मात्रै आधार मान्ने हो भने दिपल एस-०७ र एक्सपेङ जी-६ सँग यसको सिधा प्रतिस्पर्धा हुनेछ ।
सी-१० एसयूभीमा २८२५ एमएम लामो ह्वीलवेस पाउन सकिन्छ । ‘लिप ३.० टेक्नोलोजी आर्किटेक्चर’मा बनेको एसयूभीले लाइडार सपोर्ट गर्छ । यसमा क्वालकमको स्न्याप ड्रागन ८२९५ चीप सहितको स्मार्ट ककपिट छ ।
यसमा लेभल ३ एड्भान्स ड्राइभिङ असिस्ट सिस्टम यसमा पाउन सकिन्छ । कम्पनीले लिप मोटर पाइलोट नाम दिएको सिस्टममा ३० वटा सेन्सर, ५ एमएम वेभ राडार, ११ वटा क्यामरा, १२ अल्ट्रासोनिक राडार, एक १२८ लाइन लाइडार र १ एनभिडियाको ओरिन एक्स चीप रहेको छ ।
यसको इन्टेरियरमा १०.२५ इन्चको इन्स्ट्रुमेन्ट प्यानल र १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन छ । यसको सिटलाई १८० डिग्रीसम्म फ्ल्याट बनाउन सकिन्छ । पानारोमीक शनरुफ, २० इन्चको मल्टीस्पोक रिम, हिडन फ्लस डोर ह्याण्डल, रुफमा वाचटावर लाइडार, थ्रू टाइप लाइट ग्रुप, रियर स्पोइलर दिइएको छ ।
लिप सी-१० मा १७० किलोवाटको इलेक्ट्रीक मोटर छ । २२८ हर्सपावर प्रदान गर्ने मोटरको टर्क भने ३२० न्यूटन मिटर छ । यसमा ५२.९ र ६९.९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक छ । यी दुई मध्ये कुन ब्याट्री अप्सनमा नेपाल आउँछ, त्यसको कुनै जानकारी प्राप्त छैन ।
लिप मोटर सन् २०१५ मा स्थापना भएको एक स्टाट अप न्यू इनर्जी भेहिकल कम्पनी हो । कम्पनीले हाल टी-०३, सी-०१, सी-१०, सी-११ र सी-१६ गरी चार मोडल बिक्री गर्दै आएको छ ।