दुई ब्याट्री अप्सनमा आउने भयो ‘ए-१०’, मूल्य पनि कम हुने

काठमाडौं । लीपमोटरको ए-१० एसयूभी दुई ब्याट्री अप्सनको साथ बजारमा आउने भएको छ । कम्पनीले अप्रिल महिनामा चीनबाट बिक्री थाल्ने ए-१०मा ४० र ५३ किलोवाट आवरको दुई ब्याट्री रहने पक्का भएको हो ।

युरोपियन ग्रुप स्टेलान्टिसको प्रवेशसँगै निकै आक्रमक बजार विस्तारको रणनीतिमा देखिएको लीपमोटर मूल्यको हिसाबले पनि आकर्षक हुने सहजै अनुमान गर्न सकिन्छ । यसमा रहेको सानो ब्याट्री ३९.८ किलोवाट आवरको मात्रै छ । जसको सीएलटीसी रेन्ज ४०३ किलोमिटर दाबी गरिएको छ । यसले अनरोडमा ३०० किलोमिटर आसपास रेन्ज दिने अनुमान छ ।

ठूलो ५३ किलोवाट आवरको ब्याट्रीले ५०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले जनाए पनि सडकमा ३७० किलोमिटर आसपासको रेन्ज रहनेछ । चार्जिङको मामलामा पनि यो मोडल उत्कृष्ट रहने छ । यसलाई डीसी चार्जरको सहायताले १६ मिनेटमा ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

‘टेक्नोलोजिकल नेचुरल एस्थेटिक २.०’ डिजाइन ल्याङ्गेवजमा तयार भएको ए-१० एसयूभीमा स्माइलिङ हेडल्याम्प र हाहा टेललाइट दिइएको छ । यसको लम्बाइ ४२७० एमएम, चौडाइ १८१० एमएम र उचाइ १६३५ एमएम रहेको छ । ह्वीलबेस पनि २६०५ एमएम लामो छ ।

नेपाली बजारमा लीपमोटर ए-१० कम मूल्यमै आउने अर्को कारण मोटर पनि हो । लीपमोटरले यसअघि नेपाल ल्याएका सी-१० र बी-१० दुवैमा १६० किलोवाट क्षमताको मोटर थियो । तर, ए-१० एसयूभीमा ९० किलोवाटको मोटर दिइएको छ । त्यसैले राजश्व पनि कम नै लाग्नेछ ।

चिनियाँ निर्माताले यसमा क्वालकमको ८६५० इन्टेलिजेन्ट ड्राइभिङ चिप र क्वालकम कै ८२९५ पी ककपीट चिप दिएको छ । नेपाली बजारमा साँग्रिला मोटर्सले आगामी अगस्ट २०२६ सम्ममा ए-१० एसयूभी उपलब्ध गराउने अनुमान गर्न सकिन्छ ।


Back_to_top